संक्रमितलाई आयुर्वेदिक औषधि



अमृत अर्याल, स्याङ्जा

पुतलीबजार नगरपालिकाले पालिकाभित्र रहेका कोरोना संक्रमितहरुलाई उच्च मनोबल बनाउन आयुर्वेदिक औषधि वितरण गरेको छ । नगरपालिकाले जिल्ला सदरमुकाम र अर्जुनचौपारी बजारमा रहेका आयुर्वेदिक स्वास्थ्य कार्यालयमार्फत औषधि वितरण शुरू गरेको हो ।पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले पछिल्लो समयमा दोस्रो भेरिएन्टको कोरोना समुदाय स्तरमै फैलिरहेको हुदाँ यसलाई न्यूनीकरण गर्न आयुर्वेदिक औषधि वितरण गरिएको बताउनुभयो ।

नगरप्रमुख क्षेत्रीले पालिकामा हालसम्म २९ जना कोरोना संक्रमित रहेको बताउँदै यो औषधि सबै कोरोना संक्रमित बिरामीकहाँ पु-याउने जानकारी दिनुभयो । उहाँले आयुर्वेदिक औषधिले कुनै पनि नकारात्मक असर नगर्ने हुनाले सबैले प्रयोग गर्न सकिने बताउनुभयो ।पुतलीबजारमा दोस्रो चरणको कोरोनाबाट २९ जना बिरामी परेका छन् । कोरोना संक्रमित होम आईसोलेसनमा बस्दै आएको र उनीहरुको स्वास्थ्य सामान्य रहेको पालिकाले जानकारी दिएको छ ।

बिरामीहरुलाई पुतलीबजार नगरपालिकाको वडा नम्बर १३ बाट आयुर्वेदिक औषधि दिन शुरु गरिएको १३ नम्बरका वडाध्यक्ष तथा पुतलीबजार नगरपालिकाका नगरप्रवक्ता ख्यामनारायण अधिकारीले बताउनुभयो । उहाँले औषधि वितरणले बिरामीको मनोबल पनि उच्च भएको बताउनुभयो । साथै पुतलीबजार नगरपालिकाका स्वास्थ्यकर्मीहरुले संक्रमितको घर–घरमा गई उनीहरुको स्वास्थ्य अवस्था बुझ्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्