महानगरपालिकामा कोभिड अस्पताल



वीरगञ्ज, (नेस)

वीरगञ्ज माहानगरपालिकाले गोपाल मण्डलीमा अस्थायी कोभिड अस्पताल र १ सय बेडको आइसोलेसन बनाएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकमा निर्णय भएअनुसार वीरगञ्ज महानगरपालिकाले कोभिड अस्थायी अस्पताल र आइसोलेसन स्थापना गरेको होे ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले अस्थायी कोभिड अस्पताल र आइसोलेसन तयारी भइसकेको र शुक्रबार ११ बजेपछि सञ्चालन हुने जानकारी दिनुभयो । गोपाल मण्डलीमा स्थापना गरिएको अस्थायी कोभिड अस्पताल र आइसोलेसनको महानगर प्रमुख सरावगीले बिहीबार स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो ।निरीक्षणपछि सबै तयारी पूरा भएको र शुक्रबार बिहान ११ बजेदेखि सञ्चालन गरिने महानगर प्रमुख सरावगीले बताउनुभयो ।

गोपाल मण्डलीमा १ सय बेडको सामान्य लक्षण भएका संक्रमितका लागि कोभिड अस्पताल र लक्षण नदेखिएका संक्रमितका लागि १ सय बेडको आइसोलेसन तयार भएको सरावगीले बताउनुभयो ।यसैबीच, वीरगञ्ज महानगरपालिककी उपप्रमुख शान्ति कार्कीलाई कोरोना संक्रमण भएको छ । महानगरपालिकाकी उपप्रमुख कार्कीलाई कोरोना संक्रमण भएपछि उहाँ निवासमै होम आइसोलेसनमा बस्नुभएको उहाँका स्वकीय सचिव विजय पौडेलले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्