म्याग्दीमा १० दिन निषेधाज्ञा, धवलागिरि गाउँपालिकामा अत्यावश्यकबाहेकका सेवा बन्द



प्रताप बानियाँ ,म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा निषेधाज्ञा लगाइएको छ । जिल्ला सदरमुकाम बेनीबजारसहित नगर क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधबार राती १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बुधबार राती १२ बजेदेखि आउँदो बैशाख ३१ गते राती १२ बजेसम्म नगरपालिकामा लागू हुने गरी निषेधाज्ञा जारी गरिएकाे हो । यसअघि बेनी नगरपालिकाको आयोजनामा सर्वपक्षीय वैठकले नगरपालिका क्षेत्रमा १० दिन निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दैनिकजसो बढेपछि म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा १० दिन निषेधाज्ञा लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नगरपालिकाको सर्वपक्षीय वैठकको सिफारिसको आधारमा डिसिसिएमसी र जिल्ला सुरक्षा समितिको वैठकले नगरपालिकामा १० दिन निषेधाज्ञा लगाउने निर्णय गरिएको हुँदा सोहीअनुसार निषेधाज्ञा लगाइएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बताए । निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु भने खुल्ला रहेका छन् । यसैगरी बैठकले तरकारी, फलफुल, दुध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालन गरी बिहान ७ देखि १० बजेसम्म मात्र सञ्चालन हुने निर्णय गरेको छ । सार्वजनिक ठाउँमा जमघट र भेला हुने धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरु समेत सञ्चालन गर्न निषेध गरिएको छ । त्यस्तै औषधी उपचार, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्ने, तोकिएको समयमा खाद्यवस्तु खरिद गर्ने जस्ता अत्यावश्यकबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिँडडुलमा पनि रोक लगाइएको छ ।

यसैबीच पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाले पनि अत्यावश्यक बाहेकका नियमित सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ । गाउँपालिकाभित्र विभिन्न समुदायमा कोरोना भाइरसको संक्रमण बढेपछि बढी भीडभाड हुने गाउँपालिका कार्यालय, वडा र विषयगत सेवा केन्द्रका कार्यालयहरुबाट अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए । म्याग्दीमा हाल १ सय १० जना सक्रिय कोरोनाका संक्रमितहरु रहेकोमा तीमध्ये अधिकांश बेनी नगरपालिकाका संक्रमित रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । बाँकी संक्रमितहरुको बसोबास पनि सदरमुकाम बेनीमै रहेको जनाइएको छ । म्याग्दी जिल्लामा हालसम्म ४ सय २ जनाको परीक्षण गरिएकोमा ३ सय ७६ जनाको पिसिआर तथा २६ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्