कोभिड–१९ विरुद्ध भक्तपुरको तयारी

यस्तो छ संक्रमणको अवस्था



पुष्कर बुढाथोकी, भक्तपुर

कोभिड–१९ को दोस्रो लहरले समुदायमा महामारीको रूप लिन थालेपछि सरकारले एकातिर १५ दिनका लागि लकडाउन गरेको छ भने अर्कातिर भक्तपुर अस्पताल र स्थानीय तहले आइसोलेसन सेन्टरसँगै हाई डिपेन्डेन्सी युनिट र क्वारेन्टाइनको यथेष्ट सञ्चालन र तयारीमा जुटेका छन् ।

भक्तपुर अस्पतालले २५ शै्ययाको हाइकेयर युनिटसहित ६८ शै्ययाको आइसोलेसन कक्ष सञ्चालन शुरू गरेको छ । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमका अनुसार आइसोलेसन कक्षमा ६ शै्ययाको आईसीयू, २५ शै्ययाको हाइकेयर र ३७ शै्ययाको जनरल युनिट रहेका छन् । हाल अस्पतालको आइसोलेसनमा ५३ संक्रमित छन्, जसमध्ये ४ जना आईसीयू उपचाररत छन् । आवश्यकताअनुसार अस्थायी संरचना निर्माण गरेर आइसोलेसन कक्षको संख्या बढाउने उहाँले बताउनुभयो ।भक्तपुरका ४ वटै स्थानीय तहहरूले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याएका छन् । भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायणले आइसोलेसन सेन्टर पुनः सञ्चालनमा ल्याइसकेका छन् भने सूर्यविनायक नगरपालिकाले यसको काम अन्तिम चरणमा पुगेको बताएको छ ।

आइसोलेसन सेन्टरसँगै नगरपालिकाहरूले हाई डिपेन्डेन्सी युनिटसमेत सञ्चालनमा ल्याएका छन् ।मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठका अनुसार नगरपालिकाले बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा ७० शै्ययाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो ।यसबाहेक १४ शै्ययाको एचडीयू, ९ वटा आईसीयू र ७ वटा भेन्टिलेटरको समेत व्यवस्था गरिएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । यसमध्ये आईसीयू र भेन्टिलेटर नेपाल कोरिया मैत्री अस्पतालमा निर्माण गरिएको छ । नगरपालिका अक्सिजन प्लान्ट निर्माणतर्फसमेत अघि बढेको भन्दै एकदुई दिनभित्र नगरपालिकाद्वारा नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने तयारी गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।गत वर्ष कोरियन अस्पतालले रोबर्ट नर्सबाट समेत उपचारको व्यवस्था गरेको थियो । यसअघि कोरोनाको पहिलो लहरको महामारीमा नगरपालिकाले सोही केन्द्रमा ५० शै्ययाको आइसोलेसन सञ्चालन गरेको थियो । कोरोनाको नयाँ भेरियन्ट पहिलेको तुलनामा कडा र बढी संक्रामक भएका र जटिल तथा गम्भीर प्रकृतिका बिरामीको संख्या बढेकाले एचडीयूसहितको आइसोलेसन शै्यया बढाएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताउनुभयो ।

त्यस्तै, भक्तपुर नगरपालिकाले ब्रह्मायणीमा ५० शै्ययाको आइसोलेसन र २५ शै्ययाको एचडीयू सञ्चालनमा ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिका अनुसार गम्भीर प्रकृतिका बिरामीलाई अस्पताल पठाउने र अक्सिजन सपोर्ट मात्र चाहिने बिरामीलाई आइसोलसन केन्द्रमै उपचार गर्ने नीति नगरपालिकाले लिएको छ ।त्यसैगरी, चाँगुनारायण नगरपालिकाले नेपाल इञ्जिनियरिङ कलेजमा एकसय शै्ययाको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । संक्रमित संख्या बढ्दै गएमा यसको क्षमता बढाउँदै लैजाने नीति नगरपालिकाले लिएको छ । नगरपालिकाले अहिले पनि बिरामीलाई तत्काल अक्सिजन सपोर्ट दिन सक्ने गरी व्यवस्था गरेको नगरप्रमुख सोम मिश्रले जानकारी दिनुभयो ।नगरपालिकाले बिहीबारदेखि चाँगुनारायण अस्पताललाई ‘कोभिड अस्पताल’ का रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । हाल १७ श्ययाको चाँगुनारायण अस्पताललाई ३० शै्ययासम्म वृद्धि गर्ने र नगरपालिकाले कोभिड विशेष शव वाहन, एम्बुलेन्स सञ्चालनलाई निरन्तरता दिएको जनाएको छ । होम आइसोलेसनमा बस्न सक्ने वातावरण नभएका कोरोना संक्रमितका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख मिश्रले बताउनुभयो । नगरपालिकाले आइसोलेसनमा रहेका सबैका लागि डाक्टरसहितको माइक्रोसफ्ट टिमबाट चिकित्सकीय सेवासमेत शुरू गरेको छ ।

सूर्यविनायक नगरपालिकाले जगातीमा नगर अस्पताल निर्माणलाई अन्तिम रूप दिन लाग्दैछ । निर्माणाधीन नगर अस्पतालमा ५० शै्यया रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताउनुभयो । उहाँले नगर अस्पताल १५ दिनभित्र तयार गरिसक्ने लक्ष्य लिइएको र नगर अस्पतालमा आईसीयू, एचडीयूसहित भेन्टिलेटरको सुविधा रहने बताउनुभयो । त्यसो त यस अघि नै इमर्जेन्सी सेवासहितको नगरअस्पताल सञ्चालनमा ल्याइसकेको छ ।स्वास्थ्य कार्यालयका प्रमुख प्रमुख कृष्ण मिजारका अनुसार भक्तपुरमा संक्रमणको कारण मर्नेको संख्या जिल्लामा १ सय २९ पुुगिसकेको छ । जसअनुसार ८४ पुरुष र ४५ जना महिला रहेका छन् ।

कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा सक्रिय संक्रमितको संख्या ७ सय ७५ जना पुगेका छन् भने संक्रमितको संख्या १० हजार ८ सय नाघिसकेको छ ।शनिबार मात्र जिल्लामा २ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । थपिएकामध्ये पुरुष ११५ र महिला ९६ रहेका छन् । स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारका अनुसार थपिएका संक्रमितमध्ये सूर्यविनायक नगरपालिकामा पुरुष २८, महिला २१ गरी जम्मा ४९, मध्यपुरथिमि नगरपालिकामा महिला ४३, पुरुष ४४ गरी ८७, भक्तपुर नगरपालिकामा महिला १६, पुरुष ३२ गरी ३८ र चाँगुनारायण नगरपालिकामा महिला १३ र पुरुष १५ गरी २८ नयाँ संक्रमित थपिएका छन् । ठेगाना नखुलेका ९ जना रहेकामध्ये महिला ३ र पुरुष ६ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्