कोरोना महामारीमा संवेदनशीलताको खाँचो



कृष्ण प्रजापती

संसारमा विभिन्न खालको महामारी शुरु हुने र मानिसको जीवन समाप्त गरी जाने घटना हामीले सुन्ने गरेका छौं । यस क्रममा सन् २०१९ को डिसेम्बरताका देखा परेको कोरोना भाइरस कोभिड–१९ को कारणले विश्वलाई पुनः एकपल्ट त्राही–त्राही पारेको छ । विश्वमा पहिला–पहिला पनि विभिन्न खाले भाइरसले मानवीय जीवनमा प्रभाव पारेको थियो । कति मानिसलाई त्यसको जानकारी भयो । कतिपय घटनामा अध्ययन, अनुसन्धान नै नभएका कारण के भएर मानिसको ज्यान गयो भन्ने थाहा नै पाउन नसकेको अवस्था भोग्नुप¥यो । बिफरका कारण मानिसमा खटिरा आएर मर्ने वा रुपरंग नै विरुप हुन जाने घटनाहरु हामीकहाँ देखा परेका थिए । नेपालमा २०३१ सालमा आएर बल्ल बिफर वा स्मलपक्सको उन्मूलन भएको घोषणा भयो । हाल आएर नयाँ रोग कोरोना भाइरस देखा परेपछि त्यसलाई अन्तर्राष्ट्रिय रुपमा समस्याको समाधान गर्नेतिर विश्व स्वास्थ्य संगठन लागिपरेको छ ।

कोरोना भाइरस विश्वभर फैलिँदै गएपछि त्यसले लाखौंलाख मानिसको ज्यान लिएको छ । नेपालमा मात्रै लाखौं मानिसमा यो रोगले ठाउँ जमाइसकेको छ । अझ छिमेकी देश भारतमा हेर्ने हो भने अहिले त विश्वको सबैभन्दा धेरै प्रभाव देखिएको छ । अमेरिकापछि थुप्रै मानिस पीडित भएको र मरिरहेको देश भारत नै भएको छ । बरु विशाल देश चीनमा यो रोग शुरु भएको भनिए पनि त्यहाँ केही मानिसहरु मर्नेबित्तिकै देशभर एकैपल्ट लकडाउन गर्न सफल भएका कारण यो रोग फैलिने सम्भावना कम हुन पुग्यो । एक हप्ताभित्रै हजारजना बिरामीको उपचार गर्न सक्ने खालको अस्पताल निर्माण गरेर विश्वलाई कोरोनाविरुद्ध लड्ने नमुना देखाइदियो । यसरी राजनीतिक प्रतिबद्धता र राज्य बलियो भएको खण्डमा जे पनि गर्न सकिँदो रहेछ । विश्वलाई तर्साउने गरी आएको यो कोरोना महामारीबाट हामी कसरी मुक्त हुन सक्छौं भन्ने पाठ छिमेकी देश चीनले सिकाएको छ ।विभिन्न देशमा सरकारले अहिले पनि आफ्ना नागरिकहरुलाई विभिन्न देशको भ्रमण नगर्न आग्रह गरिरहेको छ । अनिवार्य रहेको कामबाहेक बाहिर नचाहिने ढंगले घुमेर नबस्न अनुरोध गरिरहेको छ । कतिपय जिल्ला, प्रदेश र प्रान्तहरुमा पनि आवागमनमा प्रतिबन्ध लगाएको अवस्था छ । यो सबै गर्नुपर्नाको कारण भनेको कोभिड–१९ जस्तो महामारीबाट जोगिनको लागि नै हो । पहिला–पहिला बिफरको महामारीका बेला आफ्नो हीराजस्तो एक्लो सन्तानलाई पूजाकोठामा थुनेर पनि बाहिरका बालबच्चाबाट अलग्ग राखी जोगाउनुपर्ने अवस्था आएको थियो भनिन्छ ।

अहिले पनि बाहिर नजाने र बाहिर जानै परेको खण्डमा पनि मुकुण्डो वा माक्स प्रयोग गरी जान अनिवार्य नै गरेको हेर्दा बिफरको महामारी फैलिएको बेला पूजाकोठा वा धान राख्ने भकारीमा सन्तानलाई थुनेर राखेको घटनालाई पुनः एकपल्ट सम्झाएको छ । यो समयले माग गरेको घटना हो । हिजो कुनै पनि उपाय थाहा नपाएर त्यसो गर्ने गरिन्थ्यो भने अहिले एकान्तवास वा आइसोलेसन भनेर सारा कुराबाट अलग्ग राख्ने कुरा वास्तवमा भण्डारमा लुकाउने कामजस्तै हो ।नेपालमा कोरोना भाइरसको प्रभाव कम भएको छैन । अहिले पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल आदि अस्पतालमा यो कोरोना भाइरस कोभिड–१९ का बिरामीहरुको संख्या हिजोभन्दा आज र आजभन्दा भोलि दिनानुदिन बढ्दै गइरहेको रेकर्ड छ । ठाउँ–ठाउँमा रहेका आइसोलेसन कक्षहरु भरिभराउ रहेका छन् । भाग्यवश केही समयअगाडि विश्वस्तरबाट उत्पादन थालेको दुई थरी खोप नेपालमा भित्रिएर मानिसमा केही राहतको अनुभूति हुन पुगेको छ । त्यही मात्रै भए पनि हामीले केही सन्तोषको श्वास लिने ठाउँ रहन पुगेको छ । भारतबाट आफूहरुले उत्पादन गरेको केही लाख मात्रामा खोप नेपालमा पठाएपछि केही समयपश्चात् नै चीनले पनि पहिलो चरण र दोस्रो चरण गरी लाखौंलाखको मात्रा खोप नेपालमा पठायो.। त्यसको सदुपयोग हुनुपर्दछ, भएको पनि छ ।

अनिवार्यरुपमा उमेर समूह वा सरकारले निर्धारण गरेको वर्गलाई यो खोप पहिलो प्राथमिकतामा राखेर लगाइदिने काम हुँदै आएको छ । क्रमशः सारा नेपाली जनतालाई पनि यसै गरी खोप दिँदै जानु आवश्यक छ ।भेन्टिलेटरमा जाने अवस्था आयो भने वा चर्को बिरामी भयो भने कोरोना भाइरसबाट मानिस मर्ने अवस्था पनि हुनसक्छ । त्यसैले पनि कोरोनाको कारण मानिस मर्ने अवस्था नआओस् भन्नका लागि समयमै रोगबाट सतर्क हुनु आवश्यक छ । यो रोग आँखाले नदेखिने खाले भाइरसले सर्ने कारण भाइरसबाट बच्ने विभिन्न उपायहरु अपनाउनुपर्दछ । त्यसको लागि चिकित्सकहरुले विनाकारण घरबाट बाहिर ननिस्कने, बाहिर जानै पर्ने अवस्था सिर्जना भएको खण्डमा अनिवार्यरुपमा माक्सको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, सेनिटाइजरको बरोबर प्रयोग गर्ने नियमहरु तोकिदिएका छन् । हात धुने काम मात्रै नियमित र बारम्बार गर्न सकेको खण्डमा पनि रोग सर्नबाट निकै सजिलोसँग बच्न सकिन्छ । त्यसैले स्थानीय निकाय र समुदायले पनि ठाउँ–ठाउँमा साबुन–पानीले हात धुने प्रबन्ध मिलाएर राख्न सके धेरै फाइदा हुने देखिन्छ ।

भक्तपुर नगरपालिकाले लामो समयअगाडिदेखि फोहोर उठाउने गाडी आउने बखत कोरोना भाइरससम्बन्धी उपलब्धिमूलक जानकारी दिँदै आएको छ । कहाँ–कहाँ खोप कार्यक्रम शुरु हुँदै छ, त्यहाँ–त्यहाँ खोप लिन जानको लागि आफ्ना नागरिकहरुलाई अनुरोध गर्ने गरेको छ । यसरी फोहोर लिन जाने गाडी गल्ली–गल्लीमा पुग्ने कारण त्यसले माइकिङ गर्दा यो तरिकाले जनमानसमा प्रभावकारी भूमिका खेल्न सफल भएको छ । यस्तो कार्य अन्य नगरपालिका, गाविसहरुले पनि गर्दै गरेको खण्डमा यसबाट मानवीय जीवन बचाउने कार्यमा थुप्रै सहयोग पुग्ने देखिन्छ । स्वार्थी तत्वहरुले नाफाका लागि रोगलाई प्रयोग गर्ने, कोरोना भनेपछि उनको पोस्टमार्टम रिपोर्टसमेत नदिएर लास गायब गर्नेजस्ता कार्य हुने गरेको छ भन्ने हल्ला फैलिएको छ । त्यस्तो अपराध कुनै पनि पक्षबाट हुनै नदिई मानवीय भावनालाई सदा कायम गरेर स्वच्छ जीनव जिउने नागरिकको मौलिक हक–अधिकारलाई सदा राज्यले प्राथमिकतामा राख्न सक्नुपर्दछ ।नेपालमा गत शनिबारसम्म ३ लाख २८ हजार ८ सय ९३ जना संक्रमित भएका छन् । तीमध्ये २ लाख, ८२ हजार ३ सय ८२ जना निको भएर घर फर्किसकेका छन् । ३ हजार २ सय ९८ जनाको मृत्यु भइसकेको छ । नेपालमा भएको कोरोना महामारीको रुपलाई अन्य मुलुकको जनसंख्या, संक्रमित संख्या र मृत्यु संख्यासँग तुलना गरेर हेर्दा नेपाल कोरोना भाइरसको अति प्रभावित देशमध्येको एक भइसकेको देखिन्छ । त्यसैले आफू पनि जोगिने र अरुलाई पनि जोगाउने हरउपाय अवलम्बन गरौं । यस अवस्थामा सरकार अति नै संवेदनशील हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्