कोरोनाको त्रासबीच सुरक्षा निकायको सक्रियता



दीपक रिजाल

मुलुकको शान्ति सुरक्षा राख्ने प्रमुख दायित्व बोकेको नेपाल प्रहरीलाई बितेको वर्ष कोरोना संक्रमणका कारण शान्ति सुरक्षा कायम गर्न प्रमुख चुनौती बनेको थियो । खुला सीमानाका कारण भारतलगायत तेस्रो देशबाट नेपाल प्रवेश गर्नेलाई व्यवस्थित गर्न हम्मे–हम्मे परेको थियो । दक्षिणतर्फ झन्डै १ हजार ८ सय किलो मिटर लामो सीमाबाट हुने अवैध प्रवेशलाई नियन्त्रण गर्न ठूलो चुनौती सामना गर्नुपरेको थियो । मुलुकमा लामो समयसम्म भएको बन्दाबन्दी नियन्त्रण गर्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो ।

नेपाल प्रहरीले २०७७ असार २५ गते २७ औ प्रहरी महानिरीक्षकसमेत पाएको थियो । नयाँ प्रहरी महानिरीक्षकमा शैलेश थापा क्षेत्री नियुक्त हुनुभएको थियो । कोरोना संक्रमण नियन्त्रणमा खटिएका प्रहरी नै संक्रमित भएपछि संगठनभित्र एक प्रकारको हलचल नै आएको थियो भने नयाँ प्रहरी महानिरीक्षकलाई मुलुकको शान्ति सुरक्षा कायम गर्नुका साथै कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न हम्मे–हम्मे परेको थियो । कोरोना संक्रमणबाट नेपाल ४ हजार ५ सय अधिकृत जवान संक्रमित भएका थिए ।गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले मुलुकलाई चलायमान बनाएको थियो । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले पूर्णता नपाउँदै उस्तै प्रकृतिको घटना भएपछि मुलुकमा थप अन्योलता छाएको थियो । सनातन धर्म माध्यामिक बिद्यालयमा अध्ययनरत भट्टको हत्याले पूर्णता नपाउने हो कि भन्ने चिन्ता बढी रहेको बेला सुदूरपश्चिम प्रदेशका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी आफैं घटनास्थल पुगेर उक्त घटनाको सफल अनुसन्धान गनैुभएको थियो ।उक्त घटनामा संलग्न रहेका १६ वर्षीय किशोर दिनेश भट्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेपछि मात्रै मुलुकभर भएका आन्दोलनका घटना विस्तारै मत्थर हदै गएको थियो ।

बितेको वर्ष नेपालमा बतात्कारका घटना दैनिक ६ वटाका दरले भएको प्रहरीको तथ्याड्कले देखाएको छ । नेपालमा बलात्कारका घटना बढेको भन्ने बिषयमा प्रहरी मान्न तयार छैन । पहिला–पहिला यस्ता घटना गाउँमै गुपचुप गरेर मिलाउने गरिएको थियो भने अहिले भने यस्ता घटना प्रहरीमा आउने भएकाले संख्या बढेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताउनुहुन्छ । बितेको वर्ष प्रहरीले मुलुकभरबाट अवैधरूपमा राखिएका र लिएर हिँडिरहेको अवस्थामा विभिन्न किसिमका ७ सय ६० भन्दा बढी हतियार त्यसमा लाग्ने म्यागजिन र गोली बरामद गरेको थियो ।बितेको वर्षको अपराधको तथ्याङ्क विष्लेषण गर्दा कर्तव्य ज्यान, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्यालगायत गम्भीर प्रकृतिका घटना सख्या बढेको छ । सो अवधिमा चोरी, बैंकिङ कसूर, ठगी जस्ता आर्थिक अपराधका घटनामा भने कमी आएको छ ।देशभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३ सय ६ घटना दर्ता भएको छ । तथ्याक हेर्दा प्रतिदिन झन्डै १ सय १० वटा घटना भएको देखिन्छ । यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी आएको प्रहरीले दाबी गरेको छ । अघिल्लो वर्ष २०७६ भन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४ सय ४७ घटना दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

गत वर्ष ४ हजार ४ सय ८३ आत्महत्याका घटना भएका छन् । अघिल्लो वर्षको तुलनामा २०७७ सालमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औषत १७ जनाले आत्महत्या गरेको पाइएको प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।२०७६ मा भन्दा २०७७ सालमा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबर्जस्ती करणीका १ हजार ६५३ घटना दर्ता भएको प्रहरीको तथ्यले देखाएको छ । तथ्याङ्क विश्लेषण गर्दा प्रतिदिन औषत सातवटा जबर्जस्ती करणीका घटना भएको देखिन्छ । प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ । जबर्जस्ती करणीका घटना प्रायःजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताउनुभयो ।कुल १ हजार ६ सय ५३ मुद्दाका १ हजार ८ सय ५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन् । समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन् । चोरीका कुल १ हजार ८ सयवटा घटना दर्ता भएको छ ।

सशस्त्र प्रहरी बल


सशस्त्र प्रहरीका २ हजार ९३ जना संक्रमित भएका थिए भने ४ जनाको मृत्यु भएको थियो । सीमा सुरक्षाको जिम्मेवारी पाएको सो बलले कोरोना संक्रमणको बावजुद पनि २ सय १९ वटा बोर्डर आउट पोस्ट स्थापना गरेको थियो । २०७७ साल भित्र २ सय २१ वटा बीओपी स्थापना गर्ने लक्ष्य सो संगठनले राखेको थियो । सरकारले बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पताललाई कोभिड अस्पतालका रूपमा विस्तार गर्ने घोषणा गरेपछि सो अस्पतालले नेपालकै नमुना कोभिड अस्पतालका रूपमा आफूलाई परिचित गराएको थियो । कोरोना संक्रमितलाई भेट्न सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आफैं अस्पताल पुगेपछि अन्य उच्च सरकारी कर्मचारीलाई नैतिक दबाबसमेत परेको थियो । कोरोना संक्रमण फैलिरहेकै अवस्थामा सशस्त्र प्रहरी महानिरीक्षक खनालले देशभर रहेका आफ्ना युनिटहरुको भ्रमण गर्नुका साथै जनताहरुलाई समेत ढाडस दिने काम गर्नुभएको थियो ।

नेपाली सेना

कोरोना संक्रमण नियन्त्रण गर्ने काममा नेपाली सेनाको भूमिका उल्लेख्य रहेको थियो । क्वारेन्टिन व्यवस्थापनदेखि कोरोनाका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापनमा नेपाली सेनाले उत्कृष्ट काम गरेको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनामा रहेका सैनिक महिलालाई शव व्यवस्थापनमा खटाएपछि नेपाली सेना विश्व सञ्चारमाध्यमको आँखामा परेको थियो । विश्वका चर्चित मिडिया एजेन्सीले नेपाली सेनाले शव व्यवस्थापनमा सैनिक महिलालाई खटाएको भन्दै त्यसको उच्च प्रशंसासमेत गरेका थिए । नेपाली महिला सैनिकको उक्त शाहसलाई नेपालीले मात्र होइन विदेशी नागरिकले समेत प्रशंसा गरेका थिए । नेपाली सेनामा पूर्णचन्द्र थापा प्रधानसेनापतिका रूपमा आएपछि आर्थिक पारदर्शितालाई बढी जोड दिनुभएको थियो । बितेको वर्ष सेनाले आर्थिक गतिििवधिमा चलखेल गर्नेमाथि कारबाही श्रृखलालाई निरन्तरता दिएको छ । सरकारले मुलुकका राष्ट्रिय गौरवका आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । सेनाले नेपालले आफ्नो भएको दाबी गरेको कालापानी, लिपुलेक जाने सडक निर्माणलाई तीव्रता दिएको छ भने चीन–भारत जोड्ने कालिगण्डकी करिडोर निर्माणलाई समेत निरन्तरता दिएको छ ।राज्यले आफ्नो गौरवको आयोजनाका रूपमा हेरेको काठमाडौं–तराई मधेस द्रुत मार्ग निर्माणको जिम्मा समेत नेपाली सेनालाई दिएको थियो । यो आयोजना निर्माणमा नेपाली सेना विवादमा तानिएको छ । विदेशी ठेकेदार कम्पनी नियुक्त गर्ने विषयमा सेनाले चलखेल गरेको भन्दै संसदीय समितिले ठेक्का प्रक्रिया अगाडि नबढाउन निर्देशन नै दिनुपरेको छ । फास्ट ट्रयाक निर्माणमा सेनाले राम्रो भन्दा पनि हाम्रो मान्छे छनोट गरेको आरोप लागेको छ । बितेको वर्ष नेपाली सेना अर्को काण्डमा समेत मुछिन पुग्यो । मुलुकभर फैलिएको कोरोना नियन्त्रणमा नेपाली सेनाको भूमिका प्रशंसनीय भए पनि सरकारले दिएको एउटा जिम्मेवारीले भने सेनालाई विवादमा ल्याएको थियो ।

सरकारले कोरोना भाइरस नियन्त्रणका लागि विभिन्न मुलुकबाट स्वास्थ्य सामग्री लाउन सेनालाई जिम्मा दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खरिद गरेको स्वास्थ्य सामग्री विवादमा आएपछि सरकारले त्यसको जिम्मा नेपाली सेनालाई दिएको थियो । नेपाली सेनाले विभिन्न मुलुकका सैनिक नेतृत्वसँग कोरोना संक्रमण नियन्त्रणका लागि चाहिने स्वास्थ्य सामग्री खरिदका लागि प्रस्ताव आह्वान गरेको भए पनि चीनको राष्ट्रिय सेना जनमुक्ति सेनाले नेपाललाई उक्त स्वास्थ्य सामग्री दिन सक्ने बताएपछि जी टुजी प्रक्रियामार्फत सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई अगाडि बढाएको थियो । सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री गरिद प्रक्रियामा अनियमितता भएको भन्दै आलोचना शुरु भएको थियो । सेनाले बजार मूल्य भन्दा बढी तिरेर उक्त सामग्री गरिद गरेको भन्दै आलोचना भएपछि नेपाली सेनाले पछिल्लो समय खरिद प्रक्रियामा सहभागी नहुने निर्णय गर्न बाध्य हुनुपरेको थियो ।

नेपाली सेनामा बेला–बेलामा यौन काण्डमा समेत मुछिने गरेको छ । बितेको वर्ष नेपाली सेनाभित्र एउटा काण्डले बहालवाला जर्नेलसहित ३ जना सैनिक अधिकृतले जागिरबाट हात धुनुपरेको थियो । नेपाली सेनाको २८ नम्बर वाहिनी सिराहमा कार्यरत वाहिनीपति सहायक रथी पंकज कार्कीसहित ३ जनालाई बर्खास्त गर्ने निर्णय सैनिक मुख्यालयले गरेको थियो । वाहिनीपति कार्कीले संगठनभित्रै महिला सैनिक अधिकृतलाई यौन दुव्र्यवहार गरेको प्रमाणित भएपछि उनलाई बर्खास्त गरिएको सेनाले जनाएको थियो । यौन दुव्र्यवहार गरेर बर्खास्त हुने कार्की पहिलो उच्च सैनिक अधिकृतको दर्जा पाएका छन् ।सेनाले कार्कीसँग लागेकी एक सैनिक अधिकृत र अर्की एक महिला सैनिकलाई पनि आचरण ठीक नभएको बन्दै बर्खास्त गरेको थियो । जर्नेल कार्कीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गर्दै छानबिन थालेको थियो । सो कोर्ट अफ इन्क्वायरीले कार्कीले महिला सैनिकमाथि यौन दुव्र्यवहार गरेको र ती महिला सैनिकको पनि आचरण खराब रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीको सिफारिस गरेको थियो । कारबाही सिफारिस लगत्तै सैनिक मुख्यालयले उनीहरूलाई कारबाहीस्वरूप भविष्यमा अयोग्य नठहरिने गरी बर्खास्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्