फोहर व्यवस्थापनमा सहयोग गरिदिन स्थानीयवासीसँग कामपाको अनुरोध



काठमाडौं ।

फोेहर व्यवस्थापन कार्यमा सहयोग गरिदिन प्रभावित क्षेत्र सिसडोलका बासिन्दासँग काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ । कामपा वातावरण व्यवस्थापन विभागले ल्याण्डफिल साइट प्रभावितले समय–समयमा फोहर व्यवस्थापन कार्यमा अवरुद्ध गरेपछि विज्ञप्तिमार्फत यस किसिमको अनुरोध गरेको हो । स्थानीयवासीले पछिल्लोपटक यही चैत १३ गतेदेखि फोहर व्यवस्थापन कार्य प्रभावित पारेका छन् । विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका स्थानीयवासीसँग फोहर व्यवस्थापनका लागि सहयोग गर्न अनुरोध गरेको हो ।

विभागका प्रमुख हरिकुमार श्रेष्ठले विज्ञप्तिमार्फत भन्नुभएको छ, “स्थानीय बासिन्दाको माग सम्बन्धमा कामपा, नेपाल सरकार, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयसँग समन्वय गरी छलफल अघि बढाइसकेकाले माग पूरा हुने सकारात्मक अपेक्षा छ ।” अहिले साइटमा फोहर लैजानसक्ने अवस्था नरहेकाले घर, पसल, उद्योग, कलकारखाना, व्यवसाय तथा कार्यालयका उत्पादकलाई स्रोतमै फोहर वर्गीकरण गर्न विभागले अनुरोध गरेको छ । नकुहिनेलाई घरमै व्यवस्थापन गर्न र कुहिने फोहरलाई सङ्कलन गर्ने गाडी आएपछि पठाउन आग्रह कामपाले गरेको छ ।

फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन सङ्घर्ष समितिले प्रभावित क्षेत्रका विद्यालयमा शिक्षक दरबन्दी प्रदान गर्ने, माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्ने माग राखेर फोहर लैजान अवरोध गरेको छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइटमा विसर्जन गरिँदै आएको छ । शुरुमा दुई वर्षका लागि भने पनि १३ वर्षसम्म निरन्तर फोेहर व्यवस्थापन गर्दा विभिन्न किसिमको समस्या आएको भन्दैै स्थानीयवासीले अन्यत्र विकल्प खोज्नका लागि अवरोध गर्दै आएका छन् ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ । हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडी फोहर लगिने गरिएको छ । दीर्घकालीन ल्याण्डफिल निर्माणका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बन्चरेडाँडामा एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम सम्पन्न भएको छैन ।सिसडोलवासीलाई वार्ताका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरिरहेको र यसलाई सकारात्मक रूपमा लिएर सहयोग हुने अपेक्षा कामपाको छ । यदि निरन्तर अवरोध भयो भने फोहर विसर्जन कार्यका लागि थप कदम चाल्ने कामपाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्