अर्घाखाँचीमा जीप दुर्घटना हुँदा तीन जना घाइते



अर्घाखाँची ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेसीमा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

सन्धिखर्क नगरपालिका-९ अर्घाबाट सन्धिखर्क आउँदै गरेको लु १ ज ४५३८ नम्बरको बोलेरो जीप चुत्राबेसीको जनज्योती मावि नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।घाइते भएका तीन जनामध्ये गम्भीर घाइते भएका सन्धिखर्क-९ अर्घाका ४२ वर्षीय चालक ठगबहादुर घर्ती र ६६ वर्षीया सीता खत्रीलाई अर्घाखाँची अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए ।

घाइतेमध्ये १८ वर्षीय विजय खत्रीको अवस्था सामान्य रहेको छ । उनको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । जीपमा रहेका यात्रु सुरज खनालका अनुसार जीपमा साढे तीन वर्षको बच्चासहित ६ जना रहेका थिए । ६ जना यात्रुमध्ये तीन जनाले जीपबाट हाम फालेका थिए ।उनीहरुको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्