गर्मीमा लु लाग्ने समस्या



गर्मी स्थानहरूमा तातो बतास चलेको हुन्छ । यस्तो समयमा मानिस हिँड्दा, काम गर्दा, खेल्दा तातो हावा तथा घामको असरले मूच्र्छा पर्ने वा बेहोस हुने हुन्छ । यसलाई लु लाग्नु भनिन्छ । लु लागे शरीरमा तापक्रमको सन्तुलन बिग्रन्छ । गर्मीका कारण लगातार शरीरबाट पसिना आउँछ र शरीरमा पानी–नूनको कमी गराउँछ, जसकारण मानिसलाई डिहाइड्रेसन पनि हुन सक्छ । गर्मीकै कारणले मानिसमा पोटासियम र सोडियमको कमी भई शरीर कमजोर एवं मन हडबडाउने बनाइदिन्छ ।

तातो हावाको असरले घरमै बस्दा पनि मानिस बिरामी पर्छ । लु लागेको अवस्थामा बिरामीको शरीरको तापक्रम ज्यादै बढ्छ र अचेत हुन्छ । नेपालको तराई भेगमा यो घटना बराबर घटिरहेको पाइन्छ । गर्मीयाममा लु लागेको बिरामीको रोग पत्ता लगाउन निकै सजिलो छ ।यस्ता व्यक्ति एकदम हड्बडाउनुको साथै अचानक लड्ने हुन्छन् । शरीर तातो भए पनि हात गोडा चिसो हुन्छ । रोगीलाई टाउको दुख्छ । उसको ओठ, आँखा तथा मुख सुख्खा हुन्छ । यसका साथै चिडचिडापन र थकान महसुस हुनु, ज्वरो आउनु, पसिना आउन बन्द हुनु, ७–८ घन्टासम्म पिसाब पास नहुनु, टाउको एवं पेट दुख्नु, आँखामा जलन, लगातार उल्टी हुनु वा पखाला लाग्नु, मुटुको धड्कन तेज हुनुका साथै स्थिति अझ खराब भए बेहोसीको अनुभूति हुने लक्षणहरू देखिन्छ ।
– अनुराधा कार्की, थापागाउँ ।

प्रतिक्रिया दिनुहोस्