नाबालक छोरा मार्ने प्रहरी नियन्त्रणमा



बैतडी, (नेस) ।

बुबाको कुटाइबाट बैतडीमा मंगलबार तीनमहिने छोराको ज्यान गएको छ । ज्यान जानेमा पञ्चेश्वर गाउँपालिका–७ खनाडीका लक्ष्मण चन्द रहेका छन् । लक्ष्मणको उनका ४४ वर्षीय बुबा राजबहादुर चन्दले हत्या गरेका हुन् ।

राजबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई घरबाटै पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षकनारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । ‘सुतिरहेका छोराको टाउकोमा हानेछन्’, उहाँले भन्नुभयो– ‘बच्चा विभत्सरूपमा छ, उनले छोरालाई किन मारे भन्ने कुरा खुल्न सकेको छैन ।’

यस्तै, राजबहादुरले मंगलबार नै आफ्ना ७० वर्षीय बुबा मन्धिर र ४० वर्षीय भाइ गोरखलाई समेत कुटपिट गरेका थिए । लक्ष्मणमाथि आक्रमण गरिरहेका बेला नगर्नु भनेर भन्दा उल्टै राजबहादुरले बुबा र भाइमाथि पनि आक्रमण गरेका हुन् ।बबाको टाउकोमा चोट रहेको र उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भाइलाई सामान्य चोट रहेको छ । राजबहादुरले मारेका ती छोरा ३ छोरीपश्चात् जन्मेका हुन् ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्