भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई ठगी मुद्दा



काठमाडौं, (नेस) । 

प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने भएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानुनी प्रक्रिया अघि बढाउन हेडक्वाटरले मातहतका निकायलाई निर्देशन दिएको हो ।

सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी नगरेपछि राजधानीमा उखु किसानले आन्दोलन चर्काएका छन् । गृहमन्त्री राबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीबीच भएको छलफलपछि चिनी मिल संचालकलाई पक्राउ गर्ने प्रक्रिया शुरू गरिएको हो ।

यसैबीच संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एक साताभित्र उखु किसानको बक्यौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । साथै समितिले ११ वटै चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाका बारेमा स्थलगतरुपमा अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्