शिक्षक हत्या प्रकरण: विप्लव समूहले यथार्थ लुकाएको अधिकारकर्मीको ठहर



हरिहर नेपाल, विराटनगर ।

अधिकारकर्मीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मोरङको मिक्लाजुङ–१ बर्खेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठ हत्याको यथार्थ कुरा लुकाउन खोजेको आरोप लगाएका छन् । शिक्षक श्रेष्ठको हत्याबारे स्थलगत अध्ययनको प्रतिवेदन बिहीबार विराटनगरमा सार्वजनिक गर्दै प्रतिकारमा मारिएको भनी झूटो विवरण सार्वजनिक गरेर यथार्थ लुकाउन खोजेको उनीहरूले ठहर गरिएका हुन् ।

हात बाँधेर लगिएको एउटा निहत्था व्यक्तिले ६ जनाको हतियारधारी समूहसँग प्रतिकार गर्न सक्ने सम्भावना नभएको निष्कर्ष निकालिएको छ । शिक्षक श्रेष्ठको निर्मम यातनापछि बीभत्स तरिकाले हत्या गरिएको पुष्टि भएको इन्सेकका प्रदेश–१ संयोजक सोमराज थापाले बताउनुभयो । सरस्वती आधारभूत विद्यालयका ५४ वर्षीय प्रधानाध्यापक श्रेष्ठको गत मंसिर २३ गते घरबाट अपहरण गरी स्थानीय देउढुंगा जंगलमा विप्लव समूहले घाँटी रेटेर हत्या गरिएको थियो । शिक्षक श्रेष्ठको हत्यापछि त्यस क्षेत्रका बासिन्दा आतंकित रहेकाले राज्यबाट आवश्यक सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न अधिकारकर्मीले माग गरेका छन् । १२ घर रहेको सो क्षेत्रका बासिन्दा सुरक्षा व्यवस्था नभए विस्थापित हुन सक्ने खतरा रहेको प्रतिवेदनमा औंल्याइएको छ ।

स्थानीय जनताले लामो समयदेखि सुरक्षा कार्यालय स्थापनाका लागि माग गर्दै आए पनि शिक्षक श्रेष्ठको हत्याअघि सुरक्षा पोस्ट स्थापना हुन नसकेको सार्वजनिक गरिएको प्रतिवेदनमा भनिएको छ । शिक्षक श्रेष्ठको हत्यापछि भने सशस्त्र प्रहरी र जनपद प्रहरीको अस्थायी संयुक्त सुरक्षा आधार शिविर त्यस क्षेत्रमा खडा गरिएको छ । अधिकारकर्मीले घटनाका दोषी पहिचान गरी कानुनी कारबाही गर्न तथा डर र त्रासको वातावरणमा रहेका स्थानीयलाई शान्ति सुरक्षाको प्रत्याभूतिको आवश्यक व्यवस्था मिलाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएका छन् । अधिकारकर्मीको टोलीले गत मंसिर २९ गते घटनाको स्थलगत अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्