प्राथमिक बजार नै लगानीकर्ताको रोजाइ



नरेन्द्रमान श्रेष्ठ

पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु झुम्मिने गरेको देखिन्छ । त्यसो त पछिल्लो समयमा शेयर बजारप्रति थुप्रैको आकर्षण रहेको छ । शेयर बजारमा नयाँ–नयाँ लगानीकर्ताहरु धमाधम देखा परिरहेका छन् । खासगरी प्राथमिक शेयर बजारमा धेरैको आकर्षण रहेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आवेदन दिनेहरुको संख्यामा धमाधम वृद्धि भइरहेको छ । कुनै पनि कम्पनीको आईपीओ जारी हुँदा शेयर खरिद आवेदन दिनेहरुको घुइँचो नै लाग्ने गरेको छ ।

पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आवेदन दिनेहरु ८ लाखभन्दा बढीको सख्यामा रहेका छन् भने डिम्याट खातामा दर्ता हुनेहरुको संख्या २० लाखभन्दा बढी भइसकेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समयमा अनलाइनमा मेरो शेयरबाट घर, पसल, अफिसबाट पनि आवेदन दिन सकिने र सी आस्वामार्फत बैंकमा गएर आवेदन दिन पाउने भएपछि यसको संख्या ह्वात्तै बढेको हो भन्दा पनि फरक नपर्ला ।

त्यसै गरी सेबोनले प्राथमिक शेयरमा आवेदन दिनेहरुलाई १० कित्ता शेयर दिनुपर्ने र आवेदन दिँदा न्यूनतम १० कित्ताको लागि मात्र पनि आवेदन दिन सक्ने नियम गरेपछि शेयर खरिद आवेदन दिनेहरु झनै बढेको देखिन्छ ।

तर पनि प्राथमिक शेयरमा आवेदन दिने सबैले न्यूनतम १० कित्ता शेयर पाउने भन्ने भ्रम पनि देखा परेको देखिन्छ ।

आवेदन दिने सबैले १० कित्ता शेयर पाउने भने होइन, माग गरेभन्दा धेरैको आवेदन प¥र्या भने सबैले शेयर पाउँदैनन् । त्यस बेला गोला प्रथाबाट बाँडफाँड गरिन्छ । तर बढी आवेदकहरुले शेयर पाउने भने देखिन्छ ।
पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा जनसहभागिता बढिरहेको देखिन्छ । त्यसो त पछिल्लो समयमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै छ । खास गरी नयाँ लगानीकर्ताहरुको आकर्षण बढ्दै छ । विगतमा

वाणिज्य बैंकहरुको ८०–९० लाख कित्ता प्राथमिक शेयर निष्कासन हुँदा पनि यति धेरै आवेदन परेको हुँदैनथ्यो । तर पछिल्लो समयमा घाटामा रहेको हाइड्रो पावर कम्पनीहरुको आईपीओमा पनि डेढ लाखभन्दा पनि बढी आवेदन पर्ने गरेको छ । तर पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले आवेदन दिने सबै आवेदकहरुलाई अनिवार्य १० कित्ता शेयर दिनुपर्ने भनेको कारणले पनि प्राथमिक शेयरमा आवेदन दिनेहरु ह्वात्तै बढेको देखिन्छ भन्दा फरक नपर्ला ।

१० कित्ते नियमले धितोपत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेको जस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता शेयर पाइन्छ भनेर परिवारका सबै सदस्यहरुको नाममा आवेदन दिने प्रवृत्ति बढेको जस्तो देखिएको छ भन्दा पनि फरक नपर्ला । त्यसो त परिवारका सबै सदस्यहरुले आवेदन दिन नपाउने वा दिन नहुने भन्ने पनि होइन । तर पनि अरु साथीभाइ, इष्टमित्र, आफन्तको नाम र बैंक खाता प्रयोेग गरेर आईपीओको आवेदन दिनेहरुलाई निरुत्साहित भने गर्नुपर्ने देखिन्छ ।

विगतमा कुनै पनि कम्पनीको आईपीओ र एफपीओ जारी हुँदा आवेदन दिन आवेदन संकलन केन्द्रहरुमा लगानीकर्ताहरुको भीड नै देखिने गथ्र्यो । अहिले विगतमा जस्तो प्राथमिक शेयर खरिद गर्न आवेदन संकलन केन्द्रहरुमा चेक र नगद बोकेर घण्टौं लाइनमा बसी आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन् । अहिले सी आस्वा प्रणालीको स्वीकृति पाएका बैंक तथा वित्त कम्पनीहरुको देशभरका शाखा कार्यालयहरुबाट सी आस्वामार्फत शेयर खरिद आवेदन दिन सकिन्छ । साथै अनलाइनमार्फत मेरो शेयरबाट पनि आईपीओको आवेदन दिन सकिन्छ ।

शायद यही कारणले पनि प्राथमिक शेयरमा लगानीकर्ताहरुको आकर्षण बढेको हो कि । पछिल्लो समयमा प्राथमिक शेयर खरिदमा आवेदन दिन सजिलो र समयको पनि बचत हुने गरेको छ । त्यसै गरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम रु. १ हजारको मात्रै आवेदन दिए पुग्ने भएकाले साना लगानीकर्ताहरु बढी आकर्षित भएको देखिन्छ । यसले गर्दा पनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । त्यसो त पछिल्लो समयमा आईपीओ भर्नेहरुमा पुराना लगानीकर्ताहरुभन्दा नयाँ लगानीकर्ताहरु बढी देखिन थालेका छन् ।

पछिल्लो समयमा धितोपत्र बजारप्रति चासो राख्नेहरु पनि थुप्रै देखिन थालेका छन् । धितोपत्र बजारप्रति सबै वर्ग, तह, पेसाका व्यक्तिहरुको यसप्रति आकर्षण रहेको पाइन्छ । पछिल्लो समयमा शेयर बजारको बारेमा फुटपाथ पसलेदेखि कर्पाेरेट कार्यालयहरुसम्मले पनि चासो राखेको देखिन्छ । त्यसो त शेयर बजारप्रति धेरैले चासो राख्नु वा धेरैको आकर्षण हुनु शेयर बजारको लागि सकारात्मक कुरा हो ।

शेयर बजारमा प्राथमिक बजारप्रति लगानीकर्ताहरुको आकर्षणले गर्दा माग गरेभन्दा कैयांै गुणा आवेदन पर्ने गरेका छन् । विगतमा माग गरेभन्दा कति गुणा बढीले आवेदन प¥यो भनेर चासो राख्ने गरिन्थ्यो भने अहिले १० कित्ते नियमले गर्दा कति–कतिवटा आवेदन प¥यो भनेर चासो राख्ने गरेका छन् । त्यसो त आईपीओमा लगानी गर्नेहरु पुराना लगानीकर्ताहरुभन्दा नयाँ लगानीकर्ताहरुको बढी भीड रहेको पाइन्छ । हुन त प्राथमिक बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि आईपीओमा लगानी गर्नु राम्रो पनि हो ।

धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक बजार उपयुक्त बजार हो भन्दा पनि फरक नपर्ला । प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ भने लामो अवधिको लागि लगानी गर्ने लगानीकर्ताहरुको लागि प्राथमिक बजारमा लगानी गर्नु राम्रो हो । यसमा दोस्रो बजारमा जस्तो जोखिम हुँदैन । यस कारणले पनि पछिल्लो समयमा प्राथमिक शेयर याने आईपीओमा लगानी गर्नेहरुको भीड देख्न सकिन्छ ।

धितोपत्र बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयरमा लगानी गर्दा जोखिम कम हुन्छ । यसमा दोस्रो बजारमा जस्तो जोखिम हुँदैन । प्राथमिक बजारबाट केही अनुभव लिई दोस्रो बजारमा प्रवेश गर्दा राम्रो हुन्छ । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई २ समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूहमा प्राथमिक बजारका लगानीकर्ताहरु र दोस्रोमा दोस्रो बजारका लगानीकर्ताहरु । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरु भनेको आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु हुन् । यिनीहरु अलि लामो अवधिको लगानीकर्ताहरु हुन् । प्राथमिक बजारमा आईपीओमा लगानी गर्ने लगानीकर्ताहरु पछि अवश्यक परेको समयमा र केही नाफा भएपछि बिक्री गर्छन् । यस्ता लगानीकर्ताहरु शेयर बजारमा थुप्रै छन् । यिनीहरु धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् भन्दा पनि फरक नहोला ।

प्राथमिक बजारका धेरैजसो लगानीकर्ताहरु दोस्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन । प्राथमिक बजारका लगानीकर्ताहरु लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो शेयरको उचित मूल्य पाएपछि शेयर बिक्री गर्ने गर्दछन् । अबको समयमा अर्थात् अबको दिनमा प्राथमिक बजारका लगानीकर्ताहरु पनि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने देखिन्छ । शेयर बजार चल्ने भनेको दोस्रो बजारले हो ।

त्यसो त प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम पनि हुन्छ । प्राथमिक बजारका लगानीकर्ताहरु लामो अवधिका हुने भएकोले त्यति घाटा व्यहोर्न पर्दैन । दोस्रो बजारमा भने कहिले घाटा पनि हुन्छ त कहिले नाफा पनि हुन्छ । यसकारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो ।

प्राथमिक बजारका लगानीकर्ताहरु धेरैजसो साना लगानीकर्ताहरु नै हुन्छन् । प्राथमिक बजारमा लगानी गर्दा जोखिम पनि त्यति नहुने भएकोले धेरैजसो साना र नयाँ लगानीकर्ताहरुको आकर्षण भएको कारणले पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको हो भन्दा पनि फरक नहोला । त्यसो त प्राथमिक बजारका लगानीकर्ताहरुको गन्तव्य भनेको पनि दोस्रो बजार नै हो ।

प्रतिक्रिया दिनुहोस्