पर्वत र बागलुङका कृषकलाई १३ करोड अनुदान


नेपाल समाचारपत्र, पर्वत ।

कृषि ज्ञान केन्द्र पर्वतले चालु वर्षमा पर्वत र बागलुङ्ग जिल्लामा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । त्यस मध्ये १३ करोड २३ लाख कृषकलाई अनुदानको रुपमा बितरण गरिने भएको छ ।
यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड २३ लाख ८ हजार रहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले दिएको जानकारी अनुसार कार्यालयलाई संघ सरकारको ससर्त तर्फ ४ करोड ८० लाख ५५ हजार र प्रदेश सरकारबाट चालु तर्फ ८ करोड ४२ लाख ५३ हजार रुपैयाँको सिलिङ प्राप्त भएको छ ।
कृषिको व्यवसायिकरण, यान्त्रिकरण र प्रविधिकरणमा जोड दिँदै चालु वर्ष कार्यालयले कार्यक्रम सञ्चालन गर्ने रेग्मीले बताए । कार्यालयले चालु वर्ष ७२ वटा साना व्यवसायिक कृषि फर्म स्थापना तथा विस्तार गर्ने, ५ वटा स्थानीय कृषि उपज विक्री केन्द्र स्थापना गर्ने, ३२ वटा ग्रीन हाउस निर्माण गर्ने, ७० वटा यान्त्रिक उपकरण अनुदानमा वितरण गर्ने लक्ष्य राखेको छ । यस्तै १० वटा आलु पकेट क्षेत्र विस्तार गर्ने, ५ वटा पकेटमा रैथानेवाली क्षेत्र बनाउने, ३५ ठाउँमा उन्नत कृषि प्रविधि प्रदर्शन स्थल बनाउने र २ वटा मुल्य श्रखंलामा आधारित परियोजना सञ्चालन गर्ने जनाईएको छ ।
कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत रामकृष्ण आर्यालले साना तथा आधुनिक सिँचाई बिस्तार, च्याउ घर निर्माण, कृषि यन्त्र उपकरण खरिद, पुस्तकालय व्यवस्थापन समेतको लक्ष्य राखेको छ । १० हेक्टर जमिनमा बीउ उत्पादक गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउ तथा सामाग्री सहयोग गर्ने, दुई वटा फलफुल नर्सरी तथा स्रोत केन्द्र स्थापना गर्ने, मकै, भटमास, चैतेधान खेती बिस्तार गर्दै जाने, क्षेत्रफलको आधारमा तरकारी खेती गर्नेलाई प्रोत्साहन गर्ने, बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान दिने तय भएको जानकारी दिए ।
यस्तै कार्यालयले घरघरमा प्रांगारिक मल उत्पादन कार्यक्रम सञ्चालनको तयारी गरेको छ । कार्यालयमा करेसाबारी तथा बगैँचा सहयोग कार्यक्रम, कृषक राहात तथा मागमा आधारित सहयोग कार्यक्रम तथा विभिन्न खाले प्राविधिक तालिम सञ्चालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईएको छ ।

Skip This