टेलिकमको आम्दानी ६ प्रतिशतले घट्दा पनि साढे ३४ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल टेलिकमको अघिल्लो आर्थिक वर्षको तुलनामा २०७६/७७ कुल आएमा ६ दशमलव २ प्रतिशतले कमी आएको छ । अघिल्लो आर्थिक वर्षमा कुल सेवा वापतको आय ३६ अर्ब ८६ करोड ७५ लाख ८३ हजार २२१ रुपियाँ रहेकोमा
आर्थिक वर्ष २०७६/७७ मा ३४ अर्ब ५७ करोड ४७ लाख २१ हजार ५९५ रुपियाँ रहेको टेलिकमले जनाएको छ ।
कम्पनीले आम्दानी घट्नुको कारणमा कोभिड–१९ लाई मुख्य कारण मानेको छ । महामारीका कारण कम्पनीको सेवा प्रयोगमा उल्लेख्य कमी आएको जनाउँदै अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कम्पनीको सेवाबाट प्राप्त हुने राजस्व २ अर्ब २९ करोड २८ लाख रुपियाँले न्यून हुन गएको छ ।
त्यस्तै कम्पनीले रिचार्ज कार्डको बिक्रीमा २०७५-१२-१ देखि कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको छ । कुल बिक्रीलाई हिसाब गरिसकेपछि कमिसन प्रदान गरिने तर डिस्काउन्ट रिचार्ज कार्ड बिक्री अघि प्रदान गरिने हुँदा डिस्काउन्टको कारणले सेवा वापतको आय घटेको टेलिकमको भनाइ छ । उक्त डिस्काउबाट राजस्वमा ३ दशमलव ९ प्रतिशतले कमी हुने जनाएको छ ।
कम्पनीको जीएसएम तथा पीएसतीएन क्वाइस सेवामा करिब २ अर्ब १६ करोड र अन्तर्राष्ट्रिय सेवामा करिब ५४ करोडको कमी भएको तथा डाटा सेवातर्फ करिब ७५ करोड वृद्धि भएको छ । यी कारणले गर्दा राजस्वमा करिब १५ प्रतिशत अर्थात एक अर्ब ९५ करोड रुपियाँले गिरावट आएको टेलिकमको दाबी छ ।
महामारी र लकडाउनको समयमा कम्पनीका ग्राहकलाई कम्पनीका सेवा उपयोग गर्न समस्या नहोस् भन्ने हेतुले कम्पनीले टपअपमा शतप्रतिशत बोनस वापत ५३ करोड ४० लाखभन्दा बढी, मोबाइल डाटाको दरमा ३० प्रतिशतसम्म छुट दिई २२ करोड ८३ लाखभन्दा बढी तथा जिरो भ्यालु कल वापत ५ करोड ३० लाखभन्दा बढीको निःशुल्क सेवा दिएको हुनाले राजस्वमा प्रत्यक्ष असर गरेको कम्पनीले जनाएको छ ।
कोरोना राहत कोषमा कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० करोड रुपियाँ योगदान गरेको लगायतका कारणले कम्पनीको अघिल्लो वर्षको भन्दा आय घटेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्