हावाबाट पनि सर्छ कोरोना : डब्ल्यूएचओ



काठमाडौं (नेस) ।

मानव अस्तित्वमाथि नै चुनौती बन्दै आएको कोरोना भाइरस संक्रमितको थुकको छिटा वा हाच्छ्यूँ गर्दा निस्कने छिटाबाट मात्र होइन अब हावाबाट पनि सर्न सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।

विश्व स्वास्थ्य संगठनलाई ३२ देशका २ सय ३९ जना वैज्ञानिकले गरेको अध्ययन अनुसन्धानबाट कोरोना भाइरस हावाबाट पनि सर्छ भन्ने प्रमाणसहित पत्र दिएपछि विश्व स्वास्थ्य संगठनले प्रमाणको आधारमा स्वीकार गरेको जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका प्राविधिक प्रमुख डा. मारिया भान केरकोभले हावाबाट पनि कोरोना सर्ने सम्भावनाका विषयमा छलफल चलिरहेको बताउनुभएको छ । वैज्ञानिकहरूले भाइरसको स–सानो कण हावामा रहन्छ र त्यसबाट मानिसलाई संक्रमित बनाउने दाबीसहित विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेको उहाँले उल्लेख गर्नुभएको छ । वैज्ञानिकहरूले कोरोनाबारे विश्व स्वास्थ्य संगठनले आफ्ना गाइडलाइनहरू परिवर्तन गर्न सुझावसमेत दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले अहिले भीडभाड, कम हावा चल्ने स्थान अथवा बन्द कोठामा पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाका माध्यमबाट कोरोना सर्ने आशंका गरेको छ । विश्व स्वास्थ्य संगठनका संक्रमण रोकथाम तथा नियन्त्रण टिमका प्रमुख डा. बेंडेटा अलेग्रेजीले कोरोना हावाको माध्यमबाट पनि सर्छ भन्ने प्रमाण मिलेको भए पनि अझै बलियो आधार फेला नपरेसम्म यकिन गर्न नसकिने बताउनुभएको छ ।

वैज्ञानिकहरूले भने संक्रमितले खोक्दा, हाछ्यूँ गर्दा निस्किएको थुकको छिटा एउटा कोठाको लम्बाइ जतिको दूरीसम्म फैलने र त्यसले अर्काे मानिसलाई भाइरस सार्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्