कोरोना संक्रमण र मृत्यु सरकारको कमजोरी: जनस्वास्थ्य संघ



न्यूज अफ नेपाल, काठमाडौँ ।
नेपालमा कोरोनाले समुदायमै भयावह स्थिति ल्याउन सक्ने चेतावनी नेपाल जनस्वास्थ्य संघले दिएको छ ।
संघले मंगलबार जारी गरेको विज्ञप्तीमा भनेको छ– ‘परिक्षण, ‘केस’ र कन्ट्रयाक ट्रेसिङ व्यापक नबनाए अब झन् भयावह अवस्था आउनसक्छ ।’

कोरोना संक्रमण र मृत्यु सरकारको कमजोरीका कारण बढ्दै गएको भन्दै संघले सरकारले अहिले गरिरहेको प्रयास प्रयाप्त नभएको समेत उल्लेख गरेको छ ।

संघ केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलन आयोजना गरेरै सरकारलाई १३ बुँदे सुझावसमेत दिएको छ । संघका अध्यक्ष श्रीकृष्ण भट्टले कोरोना समुदाय स्तरमा फैलिइसकेको दाबी गर्नुभएको थियो ।

तीन तहको सरकार भएकाले एक अर्कोमा समन्वय नभएकै कारण कोरोना संक्रमण नियन्त्रणमा थप समस्या भएको अध्यक्ष भट्टले जानकारी गराउनुभयो । सरकारले कोरोना संक्रमणलाई हल्क रुपमा लिनु र विज्ञहरुसँग सहकार्यका लागि हात नफैलाएमा भोलीका दिनमा भयावह अवस्था आउँछ भन्नुभयो ।

अध्यक्ष भट्टले कोरोना रोकथामका लागि संक्रमित व्यक्ति र कन्ट्रयाक ट्रेसिङ हुन नसकेको बताउनुभयो । कन्ट्रयाक ट्रेसिङका लागि निर्देशिकाअनुसार पालिकास्तरीय समितिहरू नै नबन्नु र पिसिआर परिक्षणका लागि पर्याप्त दक्ष जनशक्ति, ल्याब, उपकरण, स्वास्थ्यकर्मीको सुरक्षा जस्ता बिषयमा सरकारले ध्यान दिन नसक्नुले कोरोना संक्रमणको महामारी बढ्ने सम्भावनालाई संघले औल्याउँदै सरकारलाई सरकारी, नीजि तथा संघसंस्थाहरुलाई समेत सहकार्य गर्न आवहान गर्न सुझाव दिएको छ ।

संघले सरकारलाई समयमै समन्वय नगरे देशले कोरोना संक्रमणको भयावह अवस्थालाई धान्नै नसक्ने समेत ध्यानाकर्ष गराएको छ ।

संघले स्थानीय तहमा कम्तीमा एकजना स्नातक जनस्वास्थ्यर्की परिचालन गर्न, कन्ट्रयाक ट्रेसिङको र केस इन्भेस्टिगेसन टिम गठन गर्न, आरडिटी परीक्षण तत्काल बन्द गर्न, क्वारेन्टाइनमा बसेकाहरूको कम्तीमा तीन दिनभित्र पिसिआर परीक्षणपछि रिपोर्ट दिने अवस्था सृजना गर्न समेत सरकारलाई सुझाव दिएको छ ।

संघका उपाध्यक्ष डा. कृष्णमान शाक्यले सरकारले दाबी गरेजस्तो विदेशबाट फर्किएका व्यक्ति र उनका परिवारमा मात्रै कोरोना सीमित नरहेको घटनाले समुदायमा फैलिइसकेको पुष्टि भएको बताउँनुभयो ।
नेपालमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, नवजात शिशुमा समेत कोरोना भाईरसको संक्रमण फैलिनुलाई समुदायमा फैलिएको नभनेर सरकारले ढाकछोप गरिरहेको उपाध्यक्ष शाक्यले बताउनुभयो ।

संघका सचिव दीपेन्द्र खड्काले स्वास्थ्यकर्मी, प्राविधिको ज्ञान र सिपको मूल्यांकन गरि सही रुपमा सदुपयोग गर्न समेत सरकारलाई सुझाव दिनुभयो । नेपालमा स्नातक सम्मको शिक्षा हासिल गरेका विशिष्टीकृत जनशक्ति ६ हजार भन्दा बढी छन् दक्ष जनशक्तिलाई सही रुपमा प्रयोग गरेर देशमा आउन सक्ने महामारीलाई रोकथाम गर्न सकिने सुझाव सरकारलाई दिनुभयो ।

Press conference-edited

प्रतिक्रिया दिनुहोस्