‘होम क्वारेन्टाइन’ नै ठीक



रोशन पराजुली, हेटौंडा ।

हेटौंडा–११ का २८ वर्षीय राज भट्टराई ४ वर्षपछि कतारबाट नेपाल फर्किनुभएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण रोजगारीमा बाधा परेर उहाँ भिसा रद्ध गरेर नेपाल फर्किनुभएको हो ।

विदेशबाट फर्कनेका लागि कम्तीमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ । बाग्मती प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा सुरक्षित नभइने हो कि भन्ने लागेर भट्टराई होम क्वारेन्टाइनमा बस्न थाल्नुभयो ।

स्थानीय सरकार प्रमुख हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतसँग अनुमति लिएर उहाँ होम क्यारेन्टिनमा बस्न थाल्नुभएको हो ।

असार ९ गते हिमालयन एयरलाइन्सबाट नेपाल फर्किनुभएका उहाँलाई जिल्ला समन्वय समिति मकवानपुरले फरेस्ट्री क्याम्पसमा निर्माण गरेको होल्डिङ सेन्टरमा राखेको थियो । भट्टराईसँगै मकवानपुरका ८ जनालाई पनि सेन्टरमा नै राखिएको थियो ।

काठमाडौं विमानस्थलबाट मकवानपुर ल्याइएपछि कहाँ र कसरी बस्ने भन्ने अन्योल भएको भट्टराईले अनुभव सुनाउनुभयो ।

‘पहिला ज्वरो नाप्न हेटौंडा अस्पताल लगिएको थियो । तापक्रम सामान्य भएपछि क्वारेन्टाइनमा बस्न भनियो । तर, क्वारेन्टाइनमा झन् कोरोना जोखिम होला कि भन्ने डरले होम क्वारेन्टाइन उपयुक्त लाग्यो’, उहाँको कथन छ– ‘सबैतिरबाट आएका मानिसहरू एउटै ठाउँमा बस्दा कोरोना भएका रहेछ भने झनै डर हुने भएकाले घरमै सुरक्षित हुन्छ जस्तो लागेर सुरक्षा उपाय अपनाउँदै स्थानीय सरकारको अनुमतिमा म व्यवस्थित तवरले होम क्वारेन्टाइनमा बसेको छु ।

घरनजिक खालि रहेको छिमेकीको घरमा उहाँलाई बस्ने प्रबन्ध मिलाइएको छ । उहाँका बुबा रामप्रसाद भट्टराईले कोरोनाको जोखिम नहोस् भनेर छुट्टै स्थानमा व्यवस्था मिलाउनुभएको हो । ‘आफूमा कोरोना रहेछ भने अरूलाई सर्ला भन्ने डर हुने र अरूका कारण छोरालाई पनि जोखिम नहुने भएकाले यसरी घरमै राखेका हौं ।’ –उहाँको बुबाले बताउनुभयो ।

उहाँ बस्ने घरमा कोही आउ–जाउ नहुने गरी डोरीले बारेर घेरा लगाइएको छ । उहाँले प्रयोग गर्ने सामानदेखि शौचालयसम्म अरुले प्रयोग गरेका छैनन् । हुन त उहाँमा कोरोना लक्षण देखिएको छैन । तर, पनि सुरक्षा नै कोरोनाको आधा औषधि हो भन्नेमा भट्टराईलाई विश्वास लागेको छ । सार्वजनिक क्वारेन्टाइनमा सबैले एउटै शौचालय प्रयोग गर्दा कोरोनाको त्रास बढ्ने पनि देखिन्छ ।

वडामा हवाईमार्गबाट नेपाल आउने संख्या बिहीबारसम्म १० जना रहेको वडाध्यक्ष गोकर्ण पराजुलीले बताउन्ुभयो । उहाँका अनुसार १० जना सबै होम क्वारेन्टाइनमा छन् ।

गोल्फेन्टार, सडकटोल, डाङ्डुङे र सरस्वती टोलका १० जना विदेशबाट फर्किएकाहरु विशेष सुरक्षा अपनाएर होम क्वारेन्टाइनमा बसेको पराजुलीले बताउनुभयो । मकवानपुरमा चार्टर विमानमार्फत नेपाल आउनेको संख्या ३ सय ६६ पुगेको छ ।

सबै जनाको नजरमा होम क्वारेन्टाइन प्रभावकारी मानेको बुझिन्छ । आफ्नो वडामा क्वारेन्टाइनमा बसेकालाई बेला–बेलामा स्वास्थ्य अवस्था बुझ्न जाने गरेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।

लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम नेपाल फर्काइँदै छ । रोजगारीको करार समाप्त भएका, लकडाउनका कारण काम गर्न नपाएर अलपत्र परेका र अन्य समस्या परेर स्वदेश फर्कन चाहनेका लागि चार्टर विमानमार्फत नेपाल ल्याइँदै छ ।

नेपाल आइसकेकालाई काठमाडौंबाट होल्डिङ सेन्टरसम्म लाने काम नेपाली सेनाले गरेको छ । उक्त जिल्लाको होल्डिङ सेन्टरमा लैजानुअघि ज्वरो जाँचिन्छ । शरीरको तापक्रम सामान्य भए होल्डिङ सेन्टरमा केही समयका लागि राखिन्छ । कोरोनाको लक्षण भेटिए आइसोलेसनमा लगिन्छ ।

प्रतिक्रिया दिनुहोस्