वास्तविक स्वतन्त्रता के हो !



-प्रेम रावत

यदि कोही भित्रैबाट स्वतन्त्र छैन भने बाहिरी स्वतन्त्रताले के हुन्छ र ? जसलाई तपाईं बाहिरको स्वतन्त्रता ठान्नुहुन्छ, त्यो बाहिरको स्वतन्त्रता होइन । बाहिर त तपाईं प्रकृतिको दास हुनुहुन्छ । प्रकृतिले, समयले तपाईंलाई बाँधेर राखेको छ । तपाईं आफूले आफूलाई स्वतन्त्र सम्झनुहुन्छ तर तपाईं स्वतन्त्र हुनुहुन्न ।

शान्तिलाई कुनै चीजसँग लिनुदिनु छैन । यसको सम्बन्ध त मानिस र उसको हृदयसँग हुन्छ । शान्तिको स्रोत जहाँसुकै होओस्, कुरा त शान्ति प्राप्त गर्नुसँगको हो । जस्तो– तपाईंलाई तिर्खा लाग्यो भने त्यसको सम्बन्ध पानीसँग हुनुपर्छ । पानी नदीद्वारा प्राप्त होओस् या गाग्रोबाट सारेर पाइयोस् ।

तर, यदि हामी यसो भन्न थालौँ– मलाई गाग्रैमा राखेको पानी चाहिन्छ । चाहे गाग्रोमा पानी होओस् या नहोओस् । परिणामतः तिर्खाएरै बस्नुपर्ने अवस्था उत्पन्न हुन्छ । हामीले त सत्यलाई खोज्नुपर्छ । जसले हाम्रो हृदयमा भएको शान्तिलाई उजागर गरोस् ।

हृदय त्यस्तो स्थान हो जहाँ मानिसको साहस बसेको हुन्छ । हृदय त्यस्तो स्थान हो जहाँ मानिसको स्पष्टताले बास गरेको हुन्छ । जहाँ दया बस्छ त्यो स्थान नै हृदय हो । त्यो हृदयमा शान्ति पनि छ । बाहिरी रूपमा होइन तर आन्तरिक रूपमा हृदय नै शान्तिको स्रोत हो ।

तपाईं आफूभित्र रहेको चीजलाई प्राप्त गर्न चाहनुहुन्छ तर तपाईं आफूले आफूलाई चिन्नुहुन्न । यसकारण तपाईं सोच्नुहुन्छ– तपाईंमा आत्मविश्वासको अभाव छ । तपाईं आफूले आपैmँले चिन्न थालेपछि तपाईंको आत्मविश्वास पनि बढ्नेछ । बुझ्नुपर्ने कुरा के छ भने, जुन चीजको तपाईंलाई खोजी छ, त्यो तपाईंबाट टाढा छैन । त्यो तपाईंभित्रै छ । किनभने, आजसम्म तपाईंले कुनै पनि चीजलाई आफूभन्दा बाहिर नै खोज्नुभयो ।

तपाईंलाई प्रेमको आवश्यकता भए पनि तपाईंले त्यो प्रेमलाई आफूभित्र भने खोज्नुभएन । आफूभन्दा बाहिरतिर खोज्नुभयो । यदि तपाईंलाई कुनै पनि चीजको आवश्यकता थियो भने पनि तपाईंले ती चीजहरूलाई आफूभन्दा बाहिर नै खोज्नुभयो । आफूभित्र खोज्नुभएन ।

सबैभन्दा पहिला तपाईंले यो कुरालाई बुझ्नु आवश्यक छ– जुन चीजको तपाईंलाई खोजी छ, त्यो तपाईंभित्रै छ । पहिला पनि थियो र आज पनि भित्रै छ अनि तपाईंभित्र सदैव रहनेछ । मानिसहरू सोच्छन्, शान्ति प्राप्त गर्नका लागि सबै थोक छोड्नुपर्छ । तर, यो कुरा सत्य होइन । तपाईं यो संसारमा, यो समाजमा रहेर पनि शान्तिको अनुभव गर्न सक्नुहुन्छ । यो यस्तो शान्ति हो, जसलाई लडाइँको मैदानमा पनि अनुभव गर्न सकिन्छ । यो त्यो वास्तविक स्वतन्त्रता हो, जुन स्वतन्त्रताको अनुभव कारागारभित्र रहेको व्यक्तिले पनि गर्न सक्छ । यो केवल भनिएको कुरा मात्र होइन । किनभने, कैयौँ मानिसले त युद्धको मैदानमा रहँदा पनि शान्तिको अनुभव गरेका छन् । यदि मानिसलाई शान्ति चाहिन्छ, यदि मानिसले आफ्नो जीवनलाई स्वर्ग बनाउन चाहन्छ भने उसलाई त्यो माध्यमको आवश्यकता पर्दछ, जुन माध्यममा जोडिएर मानिसको जीवनमा शान्ति होओस् ।

एउटा कथा छ– तीनवटा चराका बारेमा । एउटा चरो यस्तो छ– जसको जन्म पिँजडामा भयो अनि उसलाई पिँजडाभित्रै राखेर पालनपोषण गरिएको छ । पिँजडाभित्रै उसलाई खानेकुरा दिइएको छ । पिँजडामा नै उसको पूरा जीवन व्यतीत भएको छ । स्वतन्त्रता के हो– उसले कहिल्यै पनि महसुस गरेको छैन । आफ्नो पखेटालाई फटफटाउन, हावामा उड्न– यी कार्यहरू गर्न उसले जानेको छैन । ऊसँग पखेटा छ तर त्यो पखेटाको प्रयोजन के हो, यो उसले बिर्सेको छ । किनकि, पिँजडामै उसको जन्म भएको थियो । पिँजडामा नै उसको पालनपोषण भएको छ अनि एकदिन पिँजडामा रहँदारहँदै उसले जानुपर्ने छ ।

अर्को एउटा चरो छ । ऊ एउटा समयमा स्वतन्त्र थियो । उसले उडान भथ्र्यो । उसको जन्म पनि पिँजडामा भएको होइन । ऊ उडेको छ । उसले देखेको छ । आनन्दमा रमेको छ । हरेक दिन ऊ खानाका लागि बाहिर निस्कन्थ्यो । ऊ हावामै खेल्थ्यो । तर, एकदिन उसलाई सिकारीले समातेर पिँजडामा लगी हालिदियो । शुरु–शुरुमा त उसले आफ्नो पखेटालाई जोड–जोडले फटफटायो । तर, अब बिस्तारै–बिस्तारै समय बित्दै गएपछि उसले पहिलाको जसरी पखेटालाई फटफटाउन छोडेको छ । अहिले उसको पालनपोषण पनि त्यस्तै पिँजडामा नै शुरु भएको छ । ऊ त्यहीँ नै रहन्छ अनि अब स्वतन्त्र हुनका लागि उसले कोसिस गर्न पनि छोडिसकेको छ ।

जुन तेस्रो चरो छ, ऊ दोस्रो चरोजस्तै छ । उसको जन्म पनि स्वतन्त्र अवस्थामा नै भयो । कुनै कारणवश ऊ पनि समातियो र अहिले ऊ पिँजडामा छ । समय बितिरहेको छ, बितिरहेको छ तर उसले अहिले पनि हार मानेको छैन । चाहे जतिसुकै दिन बितेका होऊन् तर उसले हार मानेको छैन । हरेक दिन बिहानदेखि साँझसम्म ऊ पिँजडाबाट निस्कने प्रयत्न गरिरहेको छ ।

कुरा के छ भने, पहिलो चरोलाई यदि ढोका खोलिदियौँ भने पनि ऊ बाहिर निस्कँदैन । किनकि, उसलाई के थाहा– बाहिर के हुन्छ ? पिँजडा नै उसका लागि घर हो । पिँजडा नै उसका लागि सबै थोक हो ।

दोस्रो चरो, एक समयमा त यदि ढोका खोलिदिएको भए ऊ उडेर जाने थियो । तर, अब उसले पनि हार मानिसकेको छ । यदि अब ऊ बाहिर निस्किहाल्यो भने पनि उसले त हार मानिसकेको छ । त्यसकारण ऊ फर्केर फेरि पिँजडामा नै जानेछ ।

जुन तेस्रो चरो छ, उसका लागि यदि ढोका खोलियो भने मात्रै पनि ऊ कहाँ रोकिन्छ र ? किनकि, ऊ त यसैका लागि बाँचेको थियो– ‘कहिले ढोका खुल्छ अनि कहिले म यहाँबाट निस्कन पाउनेछु ?’ किनभने, उसले त्यो स्वतन्त्रतालाई बिर्सेको छैन र बिर्सन पनि चाहँदैन ।

एउटा अर्को चौथो चरो पनि छ । परम् स्वतन्त्र । जो ठाउँ–ठाउँमा गएर ती पिँजडामा बन्द भएका चराहरूका लागि ढोका खोलिदिन्छ । उसले ठाउँ–ठाउँमा गएर ढोका खोलिदिन्छ र भन्छ– ‘निस्कनुहोस् अनि बाहिर जानुहोस् !’
पहिलो चरो, यदि उसको ढोका खोलिइहाले पनि उसले के गर्छ र ? कुनै प्रयास गर्दैन ।

दोस्रो चरो, ढोका खुलिहाल्यो भने फेरि फर्केर त्यहीँ जानेछ । भोक लागेपछि पुनः त्यही पिँजडामा जानेछ ।
जुन तेस्रो छ, उसका लागि यदि ढोका खोलियो भने उसलाई त मात्र स्वतन्त्र हुनु छ ।
यी तीनवटा चराहरूमध्ये तपाईंको जिन्दगी कुनचाहिँ चरासँग बढी मिल्न जान्छ ?

हामी सबैजना एउटा जेलमा बन्द छौँ । जसले आफूलाई स्वतन्त्र ठान्छ, ऊ पनि त्यही जेलभित्र बन्द छ । त्यो यस्तो कैदीखाना हो जहाँ मानिसले आफ्नो गुणलाई होइन अवगुणलाई अगाडि सारिरहन्छ । शान्तिलाई होइन, उसले अशान्तिलाई साथ दिन्छ । प्रकाशलाई होइन, उसले अँध्यारोलाई साथ दिन्छ । हामीले यो मानिसको शरीर पाएका छौँ । अनि, हरेक व्यक्तिभित्र ती सृष्टिकर्ता पनि छन् । मात्र, तिनलाई चिन्नु र पहिचान गर्नु आवश्यक छ ।

यो जीवन, यो समय सृष्टिकर्ताको कृपाबाट नै प्राप्त भएको हो । यो पिँजडाको जुन समस्या छ, त्यो हरेक स्थानमा छ । यदि कोही भित्रैबाट स्वतन्त्र छैन भने बाहिरी स्वतन्त्रताले के हुन्छ र ? जसलाई तपाईं बाहिरको स्वतन्त्रता ठान्नुहुन्छ, त्यो बाहिरको स्वतन्त्रता होइन । बाहिर त तपाईं प्रकृतिको दास हुनुहुन्छ । प्रकृतिले, समयले तपाईंलाई बाँधेर राखेको छ । तपाईं आफूले आफूलाई स्वतन्त्र सम्झनुहुन्छ तर तपाईं स्वतन्त्र हुनुहुन्न ।

यदि तपाईं वास्तविक स्वतन्त्रता चाहनुहुन्छ भने त्यो अर्को जेलबाट बाहिर निस्कनुहोस् । जुन भ्रमको जेल छ, जुन अन्धकाररूपी जेल छ, त्यो जेलबाट निस्कनुहोस्, जुन जेलमा रहँदा तपाईंले देख्नै सक्नुहुन्न । अनि, जुन दिन तपाईं यी आँखालाई खोलेर हेर्न शुरु गर्नुहुनेछ, ‘म मानिस हँु अनि म भाग्यशाली छु, किनकि मलाई यो जीवन प्राप्त भएको छ ।’ या त तपाईं आफूले आफूलाई ती बितिसकेका चीजहरूसँग तुलना गर्नुहुन्छ, कि त तपाईं आफूले आफैंलाई तपाईं जे गर्न चाहनुहुन्छ त्यस कुरासँग तुलना गर्न चाहनुहुन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्