विश्वको ध्यान खाना, नाना र औषधिमा



  • पेशल आचार्य

‘अघाएको भन्छ– डाँडापारि खाऊँ, भोको भन्छ– डाँडावारि खाऊँ ।’ हाम्रा पुर्खाद्वारा आफूले भोगेर बनाएका यस्ता आहानले हामीलाई महामारीका बीच पनि हाँसीखुसी बाँच्ने प्रेरणा दिइरहेका छन्, अभावमा पनि हामीलाई ती भोगाइका अंशहरूले जीवनबोध गराइरहेका छन्, जसलाई हामी नाघेर जानै सक्दैनौं ।

‘हूलमूलमा जीउ जोगाउनु, अनिकालमा बीउ जोगाउनु’ भन्ने यो उखान पनि कम्ता मार्मिक छैन । मानिस सहज (सप्ठ्यारो) समयमा भन्दा अप्ठ्यारो समयमा आफ्ना जीवनका महत्तालाई राम्ररी बुझ्छन् । यी उनीहरुका बानी पनि हुन् । आफूसँग जे छ उसलाई त्यसको चाहना हुँदैन, जे छैन त्यसैको अधिक चाहना हुन्छ । त्यसैमा ऊ खुरुन्धार गर्छ । संसारमा यी र यस्ता घटनाहरू पउल देखिएका छन् ।

यतिखेर हामी विश्वव्यापी महामारी कोभिड–१९ को उच्च चपेटामा छौं । विश्वका एकसे एक धनी र मै हुँ भन्ने देशहरूको पनि स्वास्थ्य अवस्था चौपट भएकाले स्याँ–स्याँ र फ्याँ–फ्याँ गरिरहेका छन् । यो पेन्डामिकले विश्वको मेरुदण्ड मानिने आर्थिक अवस्थालाई जरैदेखि हल्लाइदिएर धराशायी बनाइदिएको छ ।

कोरोना महामारीको विश्वव्यापी प्रकोपबाट हामीले उन्मुक्ति कसरी पाउँछौं ? उन्मुक्ति पाएका दिन जब हामी विनापैसाको खल्ती बजारमा जान्छौं अनि हामीले कसरी आफ्नो दैनन्दिन व्यवहार चलाउँछौं ? यी प्रश्न निम्न र मध्यमवर्गीय नेपालीका अघि भोको सिंहझैँ गरी डुक्रिएको अवस्था छ । जसको उत्तर अर्थमन्त्रीलगायत कसैसँग पनि छैन ।

कतिपय विश्वचर्चित अर्थशास्त्रीहरूले चुनौतीका भाषा प्रयोग गर्दै ‘यो महामारी अझै केही महिना र वर्ष रहिरहने हो भने विश्वको आर्थिक प्रगति शून्यमा झर्ने र सोको परिपूरणका लागि केही दशक नै लाग्ने’ भनी चेतावनी दिएका छन् ।

हामी नेपाली पनि अहिले करिब २ महिनाभन्दा बढी समयदेखि घरबन्दी (लकडाउन) मा छौं । यतिखेर हाम्रो सोच, आनिबानी, जीवनशैली, खानपिन, व्यायाम, काम गर्ने तौरतरिका र बाहिरफेर हिँडडुल गर्ने तरिकाहरूमा समेत आनका तान फरक परेको अवस्था छ । अहिले नेपाली समाजमा यी र यस्ता भनाइहरू बग्रेल्ती मात्रामा सुनिन थालेका छन्:

‘विदेशमा भएका नेपाली दाजुभाइहरू डरलाग्दोरूपले स्वदेश फर्किने दिनको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । तिनीहरू देशमा फर्केपछि रोजगारीका लागि मारामार त पर्छ नै, अर्कोतर्फ तिनीहरूको स्थायी र सघन उपस्थितिले विद्यमान खाद्यचक्रमा पार्ने असरको यतिखेर कल्पनासमेत गर्न सकिँदैन ।’

‘नेपालको मात्र होइन विश्वकै सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, शैक्षिक र व्यावहारिक शैली र तौरतरिकाहरू कोरोना महामारीसँगै एकाएक फेरिएका छन् र ती कोरोनाकोे महामारीपछि पनि फेरिएरै रहनेछन् ।’
‘अब नेपालको पानी, खानी तथा नेपालीको बानी र यहाँका युवाको जवानी देशले तौली–तौलीकन प्रयोग गरेन भने नेपालका आगामी दिनहरू चौपट हुनेछन् ।’

‘महामारीमा पुराना राजनीतिक शक्तिहरूको कार्यशैलीले जनतालाई के एहसास भयो भने, वर्तमान समयमा क्रियाशील सबै राजनीतिक पार्टीका नेता÷नेतृहरू सामान्य समयका लागि मात्रै शासनका लागि ठीक रहेछन् । नेपालमा कोरोनाले भर्खर–भर्खर प्रभाव पार्दैका दिनहरूमा सरकारले चाहेको भए देशैभरिका सबै स्कुल र क्याम्पसमा सुविधासम्पन्न क्वारेन्टिनका लागि गतिलो व्यवस्था, सरकारी र निजी अस्पतालहरूमा पीसीआर र आरडीटी जाँचका लागि व्यापक एवं भरपर्दो पूर्वाधार तयार गर्न सकेन ।

तर भयो के भने, ‘आगलागी झुपडी डेढ घडी भद्रा’ अर्थात् स्वास्थ्य सामग्री किन्ने बेलामा स्वास्थ्य मन्त्रालय र देशको पूरै सरकार नानीदेखिको बल लगाएर नानाभाँतीका स–साना खिच्रिङमिच्रिङ भ्रष्टाचारका तुरुपमा अल्मलिनाले मुलुकमा तोकिएको समयमा ओखती आउन सकेन । यसले गर्दा महामारीलाई भनेजस्तो तरिकाले कोरोनाको ट्याकल गर्न सकिएन ।

भारतमा कोरोनाको प्रकोप बिस्तारै बढेका बेला हामीले दक्षिणतिरको हाम्रो सीमालाई कडाइ गरेर मात्र देशमा भित्रिन चाहेका नेपालीलाई भित्र्याउन सकेको भए अहिलेजस्तो गरी यो कोरोनाको संक्रमण समुदायमा छिरिसक्ने थिएन । सरकारमा बसेका मानिसहरूले रोकथामका लागि ‘राइट मेन राइट प्लेस’ गर्न सकेनन् या मानेनन् । गल्ती यहीँ भयो । अब नेपालले केही हप्तामै कोरोना कहरबाट निकै ठूलो मूल्य चुकाउनुपर्दछ ।

यी र यस्तै–यस्तै कुराकानीका बीच सरकारले माघ र फागुन २ महिनालाई बेवास्ता गरी समय बर्बाद गर्ने काम ग¥यो । जसका कारण कोरोना संक्रमण पहिलो, दोस्रो र तेस्रो चरणमा प्रवेश गरिसकेको अवस्था छ । अहिले बन्दाबन्दीको करिब २ महिना बित्न लाग्दै छ । एक प्रकारले नेपाली जनमानसमा निराशा र हतासको ग्राफ यो बन्दाबन्दीले बढाएको छ । मानिसहरू अहिले विभिन्न कोण–प्रतिकोणहरूबाट कोरोना कहरका बारे देशीय र विश्वस्तरमा विश्लेषण गर्न थालिसकेका छन् ।

कोरोना महामारीको विश्वव्यापी प्रकोपबाट हामीले उन्मुक्ति कसरी पाउँछौं ? उन्मुक्ति पाएका दिन जब हामी विनापैसाको खल्ती बजारमा जान्छौं अनि हामीले कसरी आफ्नो दैनन्दिन व्यवहार चलाउँछौं ? यी प्रश्न निम्न र मध्यमवर्गीय नेपालीका अघि भोको सिंहझैँ गरी डुक्रिएको अवस्था छ । जसको उत्तर अर्थमन्त्रीलगायत कसैसँग पनि छैन ।

छिमेकी भारतले पहिलोचोटि निम्नवर्गका जनतालाई र दोस्रोचोटि मध्यमवर्गलाई समेत समेटेर आर्थिक राहतको प्याकेज ल्याइसक्यो, जसले गर्दा त्यहाँका जनता खुशी भए र केही भए पनि आर्थिक चोटको घाउमा मलहम लाग्यो ।

भारतले गरेजति पनि हाम्रो देशले जिम्मेवार भएर गर्न सकेन । यतिखेर हाम्रो समग्र अर्थतन्त्रलाई चलायमान बनाउने आर्थिक टुल्सहरू कृषि, ठूला व्यापार, उद्योग, पर्यटन, होटल, यातायात, स्कुल, कलेज, कार्यालयहरू, बैँक, सहकारी संस्था, न्यायालय, सेयरबजार, स–साना व्यापारका कर्महरू र वित्तीय संघसंस्थाहरूसमेत सबै ओथारो बसेका छन् । जनता बन्दाबन्दीमा घरभित्रै बसेर आफ्नो ऊर्जा खेर फालिरहेका छन् भने सरकार बन्दको विकल्प बन्द नै भनेजस्तो गरेर कोरोना संक्रमणको एकमात्र अचुक उपाय बन्दलाई लिई अघि बढिरहेछ ।

जति–जति बन्द लम्बिँदै छ उति–उति जनतामा घोर निराशा र कुण्ठाले बास गर्दै छ । गरिबको चुलो निभिसक्यो । कुल उत्पादनले अबका केही महिना धाने पनि लामो समय धान्नै सक्दैन । खेती लगाउने समय आउन लाग्यो । यसको कसैलाई मतलब छैन । अर्थतन्त्रको चक्रलाई घुमाउनका लागि जनतालाई घरभित्र थुनेर मात्र हुँदैन ।

भारतले केही राज्यमा विभिन्न तरिकाले उद्योग, व्यापार र कार्यालयहरू खोलिसक्यो भने रेल र बसका सेवाहरू पनि खोलिदिएको छ । यसले गर्दा हाम्रो दक्षिणी सिमानामा मानिसको बाक्लो उपस्थिति बढ्दै गएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म करिब १८ सय किलोमिटरको लामो र खुला बोर्डरमा हामी रोक्नै सक्दैनौं ।

हुन त अहिले नेपालको दक्षिणी सिमानामा सरकारले सशस्त्र प्रहरीलाई खटाएको छ । त्यसले सीमापारबाट देशमा भित्रिने नेपाली र नेपालबाट बाहिरिने भारतीयहरूलाई नियमन गर्ने काम गरेको छ । तर खुला र अव्यवस्थित सीमा हुनाले अहिले नेपालमा भारतबाटै आएका नेपालीहरूले ह्वारह्वार्ती कोरोना कहर बढाएको अवस्था छ । यो घामजत्तिकै छर्लङ्ग छ ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे भन्नुहुन्छ, ‘जेठ र असारमा कोरोनाको प्रक्रोप झनै बढेर जानेछ । त्यो बेलामा हामीले सामाजिक दूरीलाई कायम राख्दै कृषिकार्य अघि बढाएनौं भने आउँदो साल हामी भोकमरीको चपेटामा पर्नेछौं । हामीले अब जीवन चलाउनका लागि भए पनि स–साना व्यापार, उद्योग, कलकारखाना र समाजका अन्य गतिलाई चलायमान बनाउनुपर्दछ ।’

बन्दाबन्दीका बीचमा देशैभरि बढेका आपराधिक घटना, आत्महत्याका घटना र अर्थतन्त्रको क्रमशः खुम्चिँदो ग्राफले जो–कोही चेतनशील नेपालीलाई सजिलैसँग अत्याउने गर्दछ । यो अवस्थाबाट पार पाउनका लागि देशले अहिले बजेटको तर्जुमा गरिरहेकै बेलामा खासगरी निम्नलिखित कार्यहरूमा ध्यान दिनु अति आवश्यक देखिन्छ ।

सबै प्रकारका फजुल सरकारी र गैरसरकारी खर्चहरूको कडाइका साथ कटौती गर्नुप¥यो । कृषिलाई निर्वाहमुखी पेसाबाट बाहिर ल्याएर निर्यातमुखी पेसामा परिवर्तन गर्नुप¥यो । कृषि पेसामा युवाहरूलाई प्रोत्साहन र हौसलाका विभिन्न इन्सेन्टिभ कार्यहरू गर्नु÷गराउनुप¥यो ।

शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातजस्ता बहुधा गरिब र निमुखा वर्गहरू जोडिने र अधिक प्रयोग गरिने वस्तुहरू राज्यको नियन्त्रणमा हुनुप¥यो । अहिलेको स्थितिमा स्वास्थ्य, शिक्षा र सार्वजनिक यातायातमा राज्य कति निरीह र पङ्गु रहेछ भन्ने कुरा घामजत्तिकै छर्लङ्ग देखियो ।

नेपालको पानी, खानी, बानी र युवाको जवानीलाई अधिकतम प्रयोग गर्न सक्ने कार्यक्रमहरू समावेश भएको बजेट ल्याउनुप¥यो ।

कोरोनाले हात धुने, स्यानिटाइजर लगाउने, भौतिक दूरी कायम राख्ने र मास्क संस्कृतिको प्रयोग थालेका छौं । यी सबै स्वास्थ्यसँग सम्बन्धित वस्तुहरूको हाम्रो देशमा कस्तो अभाव रहेछ भन्ने कुराको निःसंकोच जानकारी दिलाउनुप¥यो ।

सरकार जनतालाई घरबन्दीमा सीमित राखेर सिडियोका मातहतमा आफूखुशी सत्ताका र शक्तिका आडमा पास बाँडेर एकाएक रोगलाई समुदाय स्तरमा ओराल्न उद्यत् भयो, तिघ्रेमुङ्ग्रे, टोले डन र काला बजारीहरूले सरकारी अकर्मण्यताको पूरै फाइदा उठाए भनेर सांसद रामनारायण बिडारीले संसद्मा पटक–पटक प्रश्न उठाएका थिए तर सरकारले सुन्ने काम गरेन, सुन्नुप¥यो ।

बजेटमै व्यवस्था हुनुप¥यो कि आगामी केही वर्ष र दिनहरूमा नेपालीले खाद्यान्न, ओखतीमूलो र लत्ताकपडामा मात्र खर्च गर्ने, फजुल र अनावश्यक खर्च कुनै पनि क्षेत्रमा नगर्ने ।

विदेशबाट आयात गरिने मोटर गाडी, टेलिभिजन, कम्प्युटर, मोबाइल, घडी र अन्य विलाशिताका सामग्रीहरूको पूर्णरुपमा आयातमा बन्देज लगाउनेुप¥यो, जसका लागि भन्सार दरसमेत उच्च वृद्धि गर्नुप¥यो ।

सबै प्रकारका कृषिकार्यका लागि राज्यले हावा, सूर्यको प्रकाश र स–साना खोलाबाट बिजुली निकाल्ने कार्यलाई बढावा दिनका लागि बजेटमै निश्चित प्रकारका कर छुटको व्यवस्था गर्नुप¥यो ।

विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूमा रेडियो, टिभी र अनलाइनबाट हुने खालका दूर शिक्षण प्रविधिलाई बढावा दिनुप¥यो, जसका लागि देशैभरि स्थापित कम्तीमा हाइस्कुलहरूमा विद्युतीकरण, इमेल–इन्टरनेटको व्यवस्थाका लागि नेपाल टेलिकमलाई वार्षिकरूपमा सरकारी तवरबाट एकमुष्ट बजेटको व्यवस्थापन गरी कार्य गर्नुप¥यो ।

प्रशासनिक, व्यापारिक, सेयरबजार, सिनेमा, सडक यातायात, हवाई यातायात र होटल तथा पर्यटन क्षेत्रमा गरिने काम–कारबाहीमा डिजिटलाइजेसनका कार्यहरू अख्तियार गर्नुप¥यो ।

यसरी हामीले यो लामो, निरश र भयलाग्दो बन्दाबन्दीबाट उम्केपछि जीवनलाई चलाउनका लागि गरिने कार्यहरूमा जति सक्दो मात्रामा निर्वाहमुखी, विकासमुखी र साधारण जीवनशैली शुरू गर्नुपर्ने छ । त्यसको थालनीका लागि अहिले बन्दाबन्दीका समयमा घर बसेकै बेलामा योजनाहरू बनाउन थालिहाल्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्