आफैँ प्रतिपक्ष भएको सत्ता



डा. टीकाराम पोखरेल

एउटै दलभित्र ढोकाभित्र एक नेताले अर्को नेताको आलोचना गर्न सकिन्छ तर घरभित्र राख्नुपर्ने असन्तुष्टि सडकमा लैजाने हो भने यसले लोकतन्त्रको अभ्यासलाई भन्दा बढी अराजकतालाई प्रश्रय दिन्छ । एकले अर्कोलाई होचो देख्ने रोग र आफूलाई उचो देख्ने रोग राजनीतिमा सबैभन्दा खतरनाक हुन्छ । अरुको अस्तित्व स्वीकार गरिएन भने आफ्नै अस्तित्व जोखिमका पर्छ ।

सत्ता राजनीति प्रतिपक्षविहीन हुँदैन । खास गरी दलीय राजनीतिमा त वैधानिक प्रतिपक्ष हुन्छ । प्रतिपक्षकै रचनात्मक भूमिकाले सरकारलाई सन्तुलनमा राख्दछ । तर यतिबेला सत्तारुढ दलभित्रकै प्रतिपक्ष समूहले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरेकोले संसद्को प्रतिपक्ष दल छायामा परेको छ । प्रतिपक्ष दलको काम सत्तालाई खबरदारी गर्ने हो । नेपालको राजनीतिक सन्दर्भमा बुझ्दा सत्ताको खुट्टा तानिरहने पनि हो ।

रचनात्मक काम त प्रतिपक्षले नेपालको निर्दलीय व्यवस्थामा होस् वा बहुदलीय व्यवस्थामा होस्, इतिहासमै गरेन । भविष्यमागर्ला भन्ने आशा गरौँ । वर्तमानमा चाहिँ यही एउटा खुट्टा तान्ने काम प्रतिपक्षको थियो, त्यो काम पनिसत्ताभित्रकै सत्ताविमुख अर्को समूहले खोसिदियो । तब सडकदेखि संसदसम्म प्रमुख प्रतिपक्ष बेरोजगार भयो ।

सत्तारुढ दल नेकपाभित्र धेरै गुट–उपगुट भए पनि सञ्चारमाध्यममा नै देखिने गरी दुई गुट छन्– सत्तासमर्थक सत्ता समूह र सत्ताविरोधी सत्ता समूह । सत्तारुढ दलभित्रको सत्ताविरोधी समूह संसद्को प्रमुख प्रतिपक्षभन्दा कैयौँ गुणा बढी शक्तिशाली देखिन्छ । उनीहरुका स्वरले बजार तात्ने गरेको छ । समाचारमाध्यममा सरकारको विरुद्ध शेरबहादुर देउवा, महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भटराईहरुभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावलहरुले बोलेको प्रमुख समाचार भएर छापिन्छ । मिडिया उनीहरुको पछाडि छन् । मिडियामा कांग्रेसको स्थान कुनामा मात्र छ ।

यतिबेला नेपाली कांग्रेसको बोली गुल्जार छैन । बोली नबिक्ने भएपछि बोल्नुको खास अर्थ पनि छैन । केही बोलिएका कुरा पनि जनताको लागि भन्दा पनि आफ्नै गुट र उपगुटको लागि भएको छ । त्यसैले दलभित्र एक भएर सरकारलाई खबरदारी गर्ने जिम्मेवारीबाट विपक्षी दल विमुख भएको छ । लोकतन्त्रको विपक्षी सशक्त भन्ने जुन अवधारणा छ,समसामयिक राजनीतिमा त्यस्तो देखिएको छैन ।

कुनै पनि सत्ता त्यतिबेला सबल हुन्छ, जब सशक्त प्रतिपक्ष र एकढिक्का सत्तारुढ दल हुन्छ । धेरैलाई लाग्न सक्छ, प्रतिपक्ष कमजोर हुँदा सत्ता शक्तिशाली हुन्छ तर यो भ्रम हो । प्रतिपक्ष कमजोर हुँदा सत्ता बलियो हुँदैन, बरु अराजक हुन्छ । त्योभन्दा अराजक त त्यतिबेला हुन्छ, जब सत्ताभित्र नै प्रतिपक्ष जन्मिन्छ, जसरी अहिले भएको छ ।

संसद्को विपक्षी दलको सट्टा सत्ताभित्रकै सत्ताविपक्षी समूह भने निकै सशक्त छ । लोकतन्त्रको सुन्दर पक्ष आफ्ना कुरा राख्न पाउनु हो । आफूलाई लागेको अभिव्यक्ति हरेक व्यक्तिले राख्न सक्छ, दलभित्र पनि असन्तुष्टि पोख्न पाइन्छ । तर अभिव्यक्ति स्वतन्त्रता भन्ने गरिएको यस्तो विचार र विरोध सीमाविहीन भने हुन सक्तैन । कति आन्तरिक छलफल गर्ने र कतिचाहिँ बाहिर बोल्ने भन्ने कुरा सीमाबद्ध हुनु आवश्यक छ ।

सत्तारुढ नेकपाभित्र यतिबेला प्रधानमन्त्री पनि आफ्नो अडान नछाड्ने,सो दलभित्रको विरोधी गुटसमेत जसरी पनि प्रधानमन्त्रीको खोट देखाउनै पर्ने गरी एकोहोरो खटाइमा लागेको देखिन्छ । यसो हुनुसत्तारुढ दलका नेता, सत्तारुढ दल र देशको लागि समेत घातक छ । एउटै दलभित्र ढोकाभित्र एक नेताले अर्को नेताको आलोचना गर्न सकिन्छ तर घरभित्र राख्नुपर्ने असन्तुष्टि सडकमा लैजाने हो भने यसले लोकतन्त्रको अभ्यासलाई भन्दा बढी अराजकतालाई प्रश्रय दिन्छ ।

एकले अर्कोलाई होचो देख्ने रोग र आफूलाई उचो देख्ने रोग राजनीतिमा सबैभन्दा खतरनाक हुन्छ । अरुको अस्तित्व स्वीकार गरिएन भने आफ्नै अस्तित्व जोखिमका पर्छ । नेताहरुमा देखिएको उच्चता र नीचताको दृष्टिदोषको उपचार हुन सकेन भने व्यवस्थाप्रति आमनागरिकको वितृष्णा बढ्छ ।

कम्युनिस्ट पार्टीमा अनुशासनको ठूलो महत्व हुन्छ । पार्टीमा आचारसंहिता र अनुशासनमा कठोर मानिन्छ । तर दुई पार्टी मिली बनेका नेपालको कम्युनिस्ट पार्टीमा अनुशासनको खँडेरी परेको छ भन्दा अत्युक्ति हुँदैन । जसले अरुको चर्को स्वरमा बोल्न सक्यो, जसले आफ्नो दलभित्रको अर्को समूहकोलाई खुइल्याउने गरी बोल्न सक्यो त्यो आफ्नो समूहभित्र त्यत्तिकै लोकप्रिय हुन्छ । सामाजिक सञ्जालमा पनि उसकै हाइहाइ हुन्छ । यस्तो सस्तो हाइहाइले गर्दा पटक–पटक चर्को विरोध गर्न नेता सुरिन्छ र अराजकताले पराकाष्ठा नाघ्दै जान्छ । म नै ठीक, मेरो विचार मात्र उत्कृष्ट भन्ने मनोवृत्तिले गर्दा राजनीति दूषित हुन्छ । दलभित्र मेरो गोरुको बाह्रै टक्काले अनुशासनको सीमारेखा तोडेको छ ।

विरोध र बहसको चरमोत्कर्ष हेर्दा यति बेला नेकपाभित्रको एक समूहलाई नेकपा (सत्ता) र अर्को समूहलाई नेकपा (सत्ताविमुख) भन्नुपर्ने स्थिति छ । उतानेपाली कांग्रेसलाई चाहिँ नेपाली कांग्रेस (बेपत्ता) भन्नुपर्ने बेला भैसकेको छ । सत्ताबाट हराएपछि जनताबाट पनि कांगे्रस हराएको छ ।सत्तापक्ष जनप्रिय हुन नसकेको फाइदा प्रतिपक्षले उठाउन सकेको छैन । कम्युनिस्ट पार्टीमा झैँ आधिकारिक प्रतिपक्ष (देउवा समूह) र त्यसभित्र अर्को उपप्रतिपक्ष (पौडेल समूह) छ । जसले गर्दा कम्युनिस्ट पार्टीले आन्तरिकरुपमा झेलेको नियति कांग्रेसले पनि भोगिरहेको छ ।

गत निर्वाचनको मुखमा दुई दल एक भएर कम्युनिस्ट पार्टी सत्तारोहण त ग¥यो तर जनताको मनमा अपेक्षाकृतरुपमा आरोहण गर्न सकेन । कम्युनिस्ट पार्टीले यतिबेला केही फाइदा लिइरहेको छ भने त्यो कांग्रेस कमजोर हुनुको फाइदा मात्र हो । दुई वर्षपछि हुने निर्वाचनसम्म कांग्रेस कति सुदृढ हुन्छ, त्यसले कम्युनिस्ट पार्टीको भविष्य निर्धारण गर्छ र कम्युनिस्ट कति सबल हुन्छ भन्ने कुराले कांगे्रसको भविष्य निर्धारण गर्छ ।

कम्युनिस्टपार्टीको एकता तासको महलजस्तो छ । पार्टी एकता बाहिरबाट देख्दा चिटिक्क परेको तर भित्र अत्यन्त कमजोर देखिन्छ ।राजनीतिक विश्लेषकहरु त शुरुदेखि नै यो दुई पार्टी एक रहन्छ भनेर आश्वस्त हुन सकेका छैनन् ।विश्लेषकका आशंकालाई बल पु¥याउने गरी अहिले पनि पूर्वमाओवादीहरु खुमलटारमा र पूर्वएमालेहरुको एक समूह बालुवाटारमा र अर्को समूह कोटेश्वरमा भेला भैरहन्छन् र आफ्नो समूहको रणनीति बनाइरहन्छन् ।

देशमा बहुदलीय व्यवस्थाको पुनस्र्थापनासँगै २०४८ को निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्यायो । तर विडम्बना ! पार्टीभित्रकै छत्तीसे र चौहत्तरे गुटले कांग्रेसको सरकार मात्र ढालेन कालान्तरमा देशको राजनीतिक पद्धति नै ढाल्यो । फलस्वरुप २०६२÷६३ मा अर्को आन्दोलन भयो । अहिले स्थिति त्यस्तै छ । पार्टीभित्र प्रधानमन्त्री ओली बहुमतमा कि अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल बहुमत भन्ने तराजु पार्टीभित्र ढलपल भैरहेको छ ।

भनिन्छ– शत्रुबाट जोगिन सजिलो हुन्छ तर मित्रबाट जोगिन गाह्रो छ । मित्र नै शत्रु हुनुजस्तो घातक केही हुँदैन । पार्टीभित्र प्रधानमन्त्री ओलीको स्थिति यस्तै छ । प्रधानमन्त्रीले पटक–पटक भनिसकेका पनि छन्– विपक्षीको विरोधको सामना त गर्छु, तर मलाई सत्ताबाटै असहयोग भयो । यथार्थ प्रधानमन्त्रीलाई बाहिरी चुनौतीभन्दा दलभित्रको आन्तरिक चुनौती बढी छ ।

राजनीतिमा सधैँ सबैको स्थान एकनास हुँदैन । व्यक्तिको राजनीतिमा आरोहण र बहिर्गमन भैरहन्छ । तर व्यक्तिको उतारचढाव हुँदा देशको राजनीतिमै उतारचढाव हुनुहुँदैन । राजनीतिमा व्यक्ति गौण हो । व्यक्तिभन्दा पार्टी ठूलो हो र राजनीतिको केन्द्रमा राष्ट्र हो । व्यक्तिका कारण देश बन्धक बन्नुहुँदैन । तर नेपालमा २०४८ सालपछिको राजनीतिक परिदृश्य हेर्दा केही व्यक्तिको स्वार्थको वरिपरि घुमेको देखिन्छ । अझै पनि यो क्रम रोकिएको छैन । नेपाल दिशाविहीन हुनुका धेरै कारणहरुमध्ये राजनीति केही व्यक्तिको वरिपरि घुम्नु प्रमुख कारण हो ।

कुनै पनि सत्ता त्यतिबेला सबल हुन्छ, जब सशक्त प्रतिपक्ष र एकढिक्का सत्तारुढ दल हुन्छ । धेरैलाई लाग्न सक्छ, प्रतिपक्ष कमजोर हुँदा सत्ता शक्तिशाली हुन्छ तर यो भ्रम हो । प्रतिपक्ष कमजोर हुँदा सत्ता बलियो हुँदैन, बरु अराजक हुन्छ । त्योभन्दा अराजक त त्यतिबेला हुन्छ, जब सत्ताभित्र नै प्रतिपक्ष जन्मिन्छ, जसरी अहिले भएको छ । साँच्चै भन्दा यतिबेला सरकारका दुई प्रतिपक्ष प्रतिपक्ष छन्, आन्तरिक र बाहय । देशर सिंगो लोकतान्त्रिक पद्धतिकै लागि यो विडम्बना हो ।

प्रतिक्रिया दिनुहोस्