डाक्टरबाट इमान्दारीको अपेक्षा गर्ने वातावरण नै छैन !



  • डा. मञ्जु मिश्र 

मम्मी तिमीलाई डाक्टरले मारेन तिमी त जिउदै घर आइछौ मेरीबहिनीको पाँचवर्षे छोरीको प्रश्न हो यो । उसको मम्मीले जवाफ दिई, मरेको भए कसरी घर आउँथे ए !तर छोरीले जबाफलाई त्यति वास्ता गरिन, ऊखेल्न दौडिई ।

यस प्रश्नले परिवारमा भएको छलफल एवं कुराकानीले बच्चाको मस्तिष्कमा कति प्रभाव पार्छ भन्ने प्रष्ट देखिन्छ । केही समय अघि मात्रै अस्पतालमा एउटा बिरामी डाक्टरको लापरबाहीले ज्यान गुमाउन पुगेको विषयमा कुरा भएको थियो । हुनत ऊ चुपचाप खेलिरहेकी थिई आफ्नै धुनमा। तर उसले सब कुरा सुनि रहेकी रहिछ ।केही हप्तादेखि बहिनी पाठेघर सम्बन्धी समस्याले पीडित छिन् । बारम्बार औषधी खाएर पनि उनलाई निको नभएपछि मेडिकेएर अस्पताल जान मैले सिफारिस गरेकी थिएँ ।

हिजो आज अस्पतालको लापरवाहीले धेरै जनाको ज्यान जाने गरेको पाइन्छ । यो तथ्यलाई कोरोना संक्रमण समयमा पशुपति विद्युतीय शवदाहमा मृतकको संख्यामा कमी भएको संख्याले पनि पुष्टि गर्दछ ।यसैले पनि आजकल विरामीका अभिभावकहरु स्वतः ज्यान गए पनि क्षतिपूर्ति माग्न तम्सेका हुन्छन् ।

विरामी मरेकोमा दुःख मान्नुभन्दा पनि कसरी क्षतिपूर्ति लिनेतर्फ उनीहरु लालायित हुन्छन् ।आफन्त मरेको पीडालाई थाति राखेर कैयौं विरामीका आफन्तहरु क्षतिपूर्ति लिन तम्सिरहेको हुन्छन् । मानौं, उनीहरुलाई आफन्तको मृत्युमा कुनै पीडा छैन । यसो विचार गर्दा मानिस संवेदनशील बन्न छोडिसक्यो ।

केही समय अघि उपत्यकाकै खोज पत्रकारिता केन्द्रले एउटा सनसनीपूर्ण र त्रासद घटना सार्वजनिक गरेको थियो जहाँ विरामी लैजाने एम्बुलेन्सदेखि वरिष्ठ डाक्टरहरु कसरी मोलतोल गर्छन् भन्ने तथ्यलाई प्रमाणित गरेको थियो । त्यस फुच्चीको प्रश्नले म निकैबेर सोचमा भएँ । उसले गरेको हरेक कुरा मेरो दिमागमा आइरह्यो । पाचँ वर्षको भएपनि यो निकै तेजिली छ, कहिलेकाहीं उसले दिएको जवाफले मलाई नत मस्तक बनाउँछ ।

उसको प्रश्नले के अस्पतालहरु मर्नको लागि बनाइएका हुन् त भनि प्रश्न गर्न मन लाग्छ । एउटा एमडी डाक्टर बन्न घर खेत बेचेर पनि बन्नन सक्ने अवस्था नेपालमा सिर्जना भएको छ । यसैले सस्तोमा बंगलादेश र चीन पढ्न जानेको संख्या दिनानुदिन बढ्दो छ । टिकट किनेर भएपनि युवा विद्यार्थीहरु विदेशिनुको कारणलाई राज्यले स्पष्ट सम्बोधन गर्नुपर्दछ ।

नेपालमा चिकित्सा शास्त्र अध्ययन हासिल गर्न नाम निकाल्नदेखि पैसा खुवाउने कसरी चलखेल हुन्छ र संघर्ष गर्नु पर्दछ कि एमडी गरुन्जेल कलेजमा बुझाएको ब्याजको पनि हिसाब गर्ने हो भने एक करोड भन्दा बढी अभिभावकले आफ्नो छोराछोरीलाई डाक्टर बनाउन खर्च गर्दछन् । सरकारले यसरी पैसा असुल गर्ने कलेजहरुलाई कारवाही नगर्ने हो भने अस्पतालमा डाक्टरको लापरवाही झन बढ्दै जान्छ ।

एउटा डाक्टर बन्नकै निमित्त करोडौं खर्च हुन्छभने निश्चय पनि डाक्टरले क्षतिपूर्ति लिन खोज्छ । भरखर पास गरेको डाक्टरकोमा विरामी त्यति जान रुचाउँदैनन् किनकि उनीहरुमा अभ्यासको कमी हुन्छ भने अर्कोतिर आफ्नो अध्यनमा लागेको खर्च उठाउने उनीहरुमा  चिन्ता पनि हुन्छ ।

उनीहरुको अस्पतालमा २४ घण्टे ड्यटीले खान र मोबाइल खर्च उठाउन गाह्रो पर्छ । के डाक्टरको महत्व नेपालमा घटेको हो त ? उनीहरु धेरै वर्षसम्म बरिष्ठ डाक्टरहरुको वरिपरी रहन बाध्यता हुन्छन भने विस्तारै नवविवाहित डाक्टरहरु आफ्नो घर परिवार बुवाआमा प्रतिको जिम्मेवारीलाई सम्हाल्नु पर्ने हुन्छ । यी विविध कारणले पनि हुनसक्छ अफ्नो आन्तरिक विकासको निमित आफ्नो घर–परिवार र अन्य जिम्मेवारीले गर्दा पनि डाक्टरजस्तो इमानदार पेशामा हिजो आज भ्रष्टाचार बढ्न गएको छ ।

डाक्टर भएर उभिएर हेर्ने हो भने आदर्श शब्द वा मिठो बोलेर अहिलेको महंगीमा पेट पाल्न सकिन्न । एउटा डाक्टर वन्ने सपना पूरा गर्न बाउ–आमाले टाउकाको रौं बेचेका हुन्छन् । रगत पसिना बगाएको उसले देखेको हुन्छ । डाक्टर बन्न वा चिकित्सकको उपाधि लिन घरखेत बेचिएको छ भने उसले कमसेकम पनि कमाउने उपाय नखोजे के गर्ने ?

त्यसैले पढ्न चाहने विद्यार्थीले सबैभन्दा पहिला कलेजहरुले लिने चर्को शुल्कको सामूहिक विरोध गर्नु जरुरी छ ।  नेपाल सरकारले शुल्कनिर्धारण गरी सर्वसुलभ शिक्षा दिन चाहेमा मात्र डाक्टर आफ्नो पेशाप्रति इमानदार र जिम्मेवारी हुनेछन् ।

हामी सामाजिक सन्जालको जीवन जिइरहेका छौँ । कुनै पनि राम्रा–नराम्रा कुरा तुरुन्तै जनतासामु पुग्दछ । यसैले पनि कुनै पनि भ्रष्टाचार क्षणभरमै थाहा भइहाल्छ । अस्पताल भित्र हुने गरेका जघन्य घटनाहरुले हामीलाई समय–समयमा निद्रा भगाउने गरेको छ । चिकित्सा शास्त्रमा अध्ययनशुल्क घटाऊन जबसम्म सरकारले कडाइका साथ प्रत्येक मेडिकल कलेजहरुमा नियम लागु गर्दैन त्यो दिनसम्म अस्पतालभित्र यस्ता चलखेल भइराख्छन् ।

यिनलाई कम गर्नको निमित्त सरकारले वा कलेजहरुले अध्ययनशुल्क घटाई निश्चित मापदण्ड तोक्नुपर्छ अनिमात्र नागरिक समुदायले डाक्टरलाई विश्वास गर्नेछन् र अस्पतालमा भर्ना हुनेको आम विश्वास बढ्नेछ । डाक्टर तथा अस्पतालले गल्तीमात्र गर्छन्भन्न  खोजिएको होइन, तर मलाई भने केही यस्तै संवेदनशील घटनाले झकझक्याइरहेको भने यथार्थ हो ।

प्रतिक्रिया दिनुहोस्