कोरोनाको कुरा र कर्म कहानी



ब्रह्माकुमार शिशिर रेग्मी

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, पोखरा

भूमिका एवं पृष्ठभूमि

वर्तमान समय मानव सभ्यता एक अति कठीन प्रहरबाट गुज्रिरहेको छ । यस्तो कठीन प्रहर, जसको भविष्य अनिश्चितताको कारागारमा बन्दी छ । यस महामारीसँगै मृत्यु र भयको भयावह रुप दिन–प्रतिदिन उग्र हुँदै गइरहेको छ । आधा संसार आ–आफ्नो घरमा बन्दी बनेको छ ।

एकातर्फ बाह्य जगतको व्यवस्थापन र प्रकृयामा हलचल आएको छ भने अर्कोतर्फ मानव मनभित्र चिन्ता, त्रास र निराशा बढ्दै गइरहेको छ । विगत केही महिनादेखि कोरोना नामक भायरसका कारण मानिसहरुको शौख, सोच र शैलीमा परिवर्तन आएको छ ।

त्यसो त यो महामारी सदाकालका लागि रहँदैन तथापि मानिसको मनमा अज्ञात भविष्यको त्रास सलबलाइरहेको छ । साथसाथै एक अर्को सोचनीय कुरा के छ भने यो महामारी अचानक कसरी र किन शुरु भयो त ? के यो महामारी भगवानद्वारा मानव जातिप्रतिको अन्याय वा सजायँ हो त ?

के यो महामारी विनाकारणको प्रकृतिको ताण्डव नृत्य हो त ? के समयले वा प्रकृतिले यस महामारीको बारेमा हामीलाई कहिल्यै सूचना दिएन ? आग्रह वा अनुनय–विनय गरेन ? वा यससम्बन्धी अन्य कुनै रहस्य छ ? मनुष्य आज परिस्थितिको अगाडि विवश र अवाक मुकदर्शक बनेर हेर्न बाध्य भएको छ ।

न राज्यसत्ता, न धर्मसत्ता न त वैज्ञानिक सत्ताले नै यसको कुनै समाधानको मार्ग प्रशस्त गरेको छ । यहाँ प्रश्न हाल कोरोनाको महामारीको विषयको मात्र होइन, यो त एकदिन समाधान हुनेछ वा यो पल पनि एकदिन बितेर जानेछ ।

यहाँ प्रश्न त के हो भने के आगामी दिनमा यी र यस्तै प्रकोप, प्रतिकूलता र परिस्थितिहरु मनुष्यसामु नआउलान् त ? के फेरि पनि मनुष्यको स्थिति यस्तै त्रासदी र भयावह नहोला र ? यी र यस्तै समस्या र संकटको सही व्यवस्थापन के होला त ?

कोरोनाले उब्जाएको डर

हाल विश्वभरि फैलिएको कोरोना महामारीले हरेक व्यक्ति, क्षेत्र र व्यवस्थामा प्रतिकूल असर पारेको छ । लाखौंको मृत्यु, अझ बढी संख्यामा संक्रमितहरु र मनमा विकसित डरले बाह्य एवं आन्तरिक स्थिति अति दयनीय र भयावह बनाएको छ । विभिन्न शक्तिराष्ट्रका प्रमुखहरु पनि महामारीका कारण त्रसित, दुःखी र निराश बनेका छन् ।

अनिश्चित भयावह भविष्यको चित्र देखेर उनीहरुको पनि मुटुको धड्कन बढेको छ, मुहार ओइलाएको छ, घरिघरि टाउकोमा हात लैजान्छन्, आँखामा आँशु समेत टप्किन्छ । परमाणु र सैन्य शक्तिको दम्भमा बाँच्ने शासकहरुले पनि अन्ततोगत्वा ईश्वरबाट भरोसा र कर्मको कहानीको स्मृति बाहेक कुनै आशाको दीपक बलेको देखेका छैनन् ।
कुनै पनि रोगको डर रोगभन्दा अधिक हानीकारक हुन्छ ।

किनकि कुनैपनि चिजसँग लड्नका लागि दुई प्रकारको बलको आवश्यकता हुन्छ । एक शारीरिक बल, अर्को मानसिक बल । दुबैमा मानसिक बल अधिक जरुरी हुन्छ किनकि संकटको बेलमा सुगठित शरीरले मात्र समस्या समाधान गर्न सक्दैन । केबल स्थीर र शान्त मन हुनेहरुले मात्र विजय प्राप्त गर्दछन् । आज त्यही मन परिस्थितिको सामना गर्नुको सट्टा कमजोर, थकित र त्रसित बनेको छ ।

कोरोनाको डर भनेको सम्भावित मृत्यु र अकल्याणको डर नै हो । ‘कहीँ मलाई केही भइहाल्छ कि?’ ‘कहीं म मरिहाल्छु कि?’ ‘कहीँ मेरो परिवारलाई केही पो भइहाल्छ कि?’ ‘मलाई केही भइहाल्यो भने परिवारलाई के होला?’ जस्ता कमजोर संकल्पहरु नै वास्तवमा कोरोनाको डर हो । निकटस्थ परिवार र आफन्तजनको सम्भावित मृत्यु, भविष्यको अनिश्ति र कहालीलाग्दो दृष्य लगायतको व्यर्थ र नकारात्मक सोच र स्मृतिले डर झन् बढेर भयावह बन्दै गइरहेको छ ।

डर व्यवस्थापनः

प्रियको वियोग र अप्रियको संयोगको आशंकाबाट मनमा जो कायरतापूर्ण विकारको जन्म हुन्छ, त्यसको नाम नै डर हो । डर एक नकारात्मक भाव हो, जो कुनै न कुनै नकारात्मक संकल्पबाट उत्पन्न हुन्छ र नकारात्मक संकल्प अज्ञानताबाट उत्पन्न हुन्छ । डर व्यवस्थापनका लागि मुख्यतः दुई महत्वपूर्ण तत्वहरु हुन् – ज्ञान र साहस ।

भनिन्छ, अन्धकारको आफ्नो कुनै अस्तित्व हुँदैन, अन्धकार केबल प्रकाशको अनुपस्थिति हो । अन्धकारलाई हटाउने मेहनत गर्ने होइन, प्रकाशलाई ल्याउने मेहनत गर्ने हो ।

त्यस्तै अन्धकाररुपी डर ज्ञानको अनुपस्थिति हो, डर साहसको अभाव हो, डर उच्चतम् मानसिक अवस्थाको अभाव हो । त्यसैले डरलाई चिन्ता र निराशाले होइन, ज्ञान, साहस र मनोबलबाट जित्नुपर्दछ ।

लकडाउन समस्या वा अवसर ?

तपाईं घरमा हुनुहुन्छ वा कारागारमा यसले फरक पार्दैन । फरक हाम्रो सोच र भावनाको हो । यदि तपाईं बन्धन, अप्राप्ति र अभावको चिन्तन र अनुभव गर्नुहुन्छ भने घर पनि कारागारभन्दा कम कष्टकारक हुँदैन । यदि सकारात्मक सोच, आशा र लक्ष्यको चिन्तन एवं भाव छ भने कारागारले पनि फरक पार्दैन ।

त्यसैले भनिन्छ वस्त्र र स्थानको परिवर्तनले मानिसको परिवर्तन हुँदैन, सोच र कर्मबाट मनुष्यको पहिचान र परिवर्तन हुन्छ । महान व्यक्तिहरु, स्वतन्त्रता सेनानीहरुले कैयौं वर्षहरु कारागारको कालकोठरीमा बिताउनुभयो, तर उहाँहरुले कहिल्यै पनि त्यस स्थानको कमजोरी, आफ्नो दुर्भाग्यको स्मृति, अभाव र अप्राप्तिको चिन्तन गर्नुभएन, बरु सुनौलो भविष्यको आशाको दीपक जगाइरहनुभयो, आफ्नो लक्ष्यलाई धैर्यता र आत्मविश्वासले मलजल गरिरहनुभयो ।

कैयौंले आफ्नो संघर्षको गाथा लेख्ने स्थानको रुपमा प्रयोग गर्नुभयो त कैयौंले भविष्यको सफलताको लागि मार्गचित्र तैयार गर्नुभयो । यदि उहाँहरु निराश भएको भए, दुःखी भएको भए, हतोत्साहित भएको भए, के उहाँहरु आफ्नो लक्ष्यमा निरन्तर अग्रगामी भइरहनुहुन्थयो त ?

त्यसैले विशेष यस परिस्थिति र संकटको घडीमा लगाइएको लकडाउनमा धैर्यता, आशा र आत्मविश्वास जगाएर सुन्दर भविष्यको रेखाचित्र कोर्नका लागि अनुरोध छ किनकि लकडाउनले यस देहलाई त बन्दी बनाएको होला केही हदसम्म, तथापि मन त स्वतन्त्र र स्वच्छन्द छ नि ।

सताब्दियौंदेखि पशुपंक्षीलाई प्रयोग गरेर मनोरञ्जन र आम्दानी गरेको मनुष्यले यस महामारी चल्दै गर्दा आफू बन्दीगृहमा र ती अवोध पशु निर्बन्धन शयर गरेको पनि स्पष्ट दृष्टिगोचर ग¥यो । सायद ती अबोध र अन्जान पशुहरुको अन्तर्मनले पनि बोल्यो होला– “अब हाम्रो पालो” ।

त्यसैले यो त हेराई र भनाईमा कोरोना होला, तर वास्तवमा कर्म–कहानी हो । प्रकृति स्वतः पुनर्जागृत हुन्छ । यो प्रकृतिको नियम हो । आकाशले आफ्नो ओरोजिनल स्वरुपलाई स्पर्श गर्न पाएको छ, स्वच्छ हावासँगै क्रिडा गर्न पाएको छ ।

समुन्द्रका प्राणीहरु ज्मिन नजिक नजिक आएर सुन्दर नजारा हेर्दै फर्कदैं गरेको देख्न पाइन्छ, कैयौं ठाउँमा जंगली जनावरहरु पनि खुल्ला ठाउँ, शहर–बजार वरिपरि आएर मनुष्यको वास्तविकताको मुल्यांकन गरेको देख्न पाइन्छ । प्रकृति आमाले मनुष्यको प्रदुषणको भारलाई अलि कम भएको महसुस गरेको प्रतीत हुन्छ । निसन्देह मनुष्यलाई अभाव, रोग, दुःख र पीडाको अनुभव भइरहेको छ, तथापि प्रकृति आमाले केही सुकून, शान्ति र आरामको महसुस गरेको प्रष्टै अनुभव गर्न सकिन्छ ।

लकडाउन लम्बिदै जान सक्छ । घरलाई विद्यालय बनाऔं । प्रशिक्षण केन्द्र बनाऔं । मेडिटेशन केन्द्र बनाऔं । केही सिकौं, सिकाऔं । आफ्ना नकारात्मक बानी र प्रवृत्तिलाई पहिचान गरेर तिनीहरुबाट सदाका लागि मुक्त हुने केही अभ्यास गरौं । लकडाउन शरीरका लागि हो, आत्माका लागि होइन ।

ध्यानको अभ्यास गरौं र फरिश्ता बनेर उडौं उन्मुक्त आकाशमा । यस लकडाउनको समयमा चिन्तन–मनन गर्ने, पूर्व मानसिक तैयारी गर्ने र प्रायश्चित गर्ने समय हो । यो समय एक प्राकृतिक मर्यादामा रहेर आज र भोलिको दिनहरुलाई सुरक्षित गर्ने समय हो ।

आफ्नो कमी–कमजोरीहरुको महसुसताबाट यिनीहरुलाई सदाका लागि समाप्त गर्ने समय हो । साथसाथै आध्यात्मिक चिन्तन–अध्ययनबाट स्वयंभित्रको गुण र प्रतिभालाई निखार्ने समय हो । पारिवारिक सम्बन्धलाई सुमधुर बनाउने एवं एक अर्कासँग भावनात्मक सम्बन्ध बनाउनका लागि एक महत्वपूर्ण अवसर मिलेको छ । यस परिस्थितिमा जसले आफ्नो समयलाई भरपूर उपयोग गर्दछ, वास्तवमा उही बुद्धिमान हो ।

महामारी र लकडाउनले सिकाएका केही महत्वपूर्ण शिक्षाहरुः

यस महामारी र यसको सन्दर्भमा गरिएको लकडाउनले हामीलाई केही अमूल्य शिक्षाहरु दिएको छ । हामीलाई थाहा भयो– जीवन अनिश्चित छ । जागिर स्थायी छ । स्वास्थ्य नै धन हो । भगवान नै अनितम सहारा हुनुहुन्छ । सृष्टि मानवको हस्तक्षेप बिना नै तुरुन्त पुनर्जागृत हुन्छ ।

गरीब मानिसभन्दा धनी मानिसहरुको इम्युन पावर बढी हुन्छ । जंक फुड, फजुल खर्च र देखाबटी बिना पनि जीवन सहजै चल्न सक्छ । हातमा बन्दुक लिनेहरु मात्रै देशका रक्षक होइनन्, कलाकार त केबल मनोरञ्जन गराउनेहरु हुन्, सच्चा नायक त ती स्वेत वस्त्रधारी सम्पूर्ण स्वास्थ्यकर्मीहरु हुन्, जसले आफ्नो जीवनको बाजी राखेर मानिसहरुको रक्षा गरिरहेका छन् ।

जनावरले चिडियाखानामा त्यस्तै महसुस गर्दारहेछन्, जुन अनुभव अहिले मनुष्यले लकडाउन र क्वारेन्टाइनमा महसुस गरिरहेका छन् । कोरोनाले सिस्टमलाई भंग गरेको होइन, भंग भएको सिस्टमलाई देखाएको मात्र हो । जीवन साधारण हुनुपर्दछ । सरलता जीवनको श्रृंगार होस् । साधारण जीवन जिउनका लागि धेरै धन–सम्पत्तिको आवश्यकता पर्दैन । हाम्रो पैसाको अधिक भाग देखाबटी र अनावश्यक कुरामा खर्च हुन्छ ।

हरेक चिज अस्थायी छन्, विचार, भावना, व्यक्ति, घटना … । यी सधैं एकसमान रहँदैनन् । त्यसैले यिनीहरुसँग प्रभावित वा आसक्त हुनुहुँदैन । यी हरेकसँग कमसे मयति दूरी त कायम गर्न जरुरी छ कि आवश्यकता अनुसार फर्कन सकियोस् । त्यसैले यी कुराहरुमा नफँसिकन अगाडि बढ्दै जानुपर्दछ ।

यस्ता प्रकोप र परिस्थितिहरुमा तपाईंले जीवनमा आर्जन गर्नुभएको भौतिक ज्ञान, सम्पत्ति एवं मान–सम्मानले केही सहयोग गर्दैन । यसमा त तपाईंले आफूलाई कति मानसिक सशक्तिकरण गर्नुभएको छ, जीवन र जगतलाई कति बोध गर्नुभएको छ भन्ने आधारमा हुन्छ ।

सर्वप्रकारबाट सूचना प्राप्त भएर पनि मानिसले आफ्नो ज्ञान र शक्तिलाई नै सर्वोच्च मान्दै आयो । मनुष्यलाई उसको इच्छा विपरीत यस संसारमा केही पनि हुँदैन भन्ने एक भ्रमित अभिमान आयो । उसले प्रकृतिलाई आफ्नो दासी मानेर बस्यो ।

सर्वसमस्याको समाधान– मेडिटेशन

सर्वबन्धनबाट मुक्तिको साधन हो मेडिटेशन । प्रतिकूलतालाई हेर्ने दृष्टिकोण सकारात्मक बनाएर जीवनमा सन्तुष्टता, खुशी र आनन्दको अनुभूति गराउने कला राजयोग मेडिटेशनले सिकाउँछ । हामी जे सोचिरहन्छौं, त्यस्तै तरंग वरिपरि, समाज, देश र सारा विश्वमा फैलन्छ ।

ज्ञानसूर्य परमात्माका करुणायुक्त किरणहरुबाट कोरोनामुक्त बनौं । प्रतिदिन तीनपटक पाँच–पाँच मिनेट एकान्तमा बसेर चिन्तन गरौं– “हे ज्ञानसूर्य परमात्मा! हे करुणाका सागर परमात्मा! संसारभरि महामारीको रुपमा फैलिएको यो कोरोना भायरसको कारणले संक्रमित, दुःखी एवं त्रसित सबै आत्माहरुको रोग, दुःख र त्रास समाप्त होस् । सबैलाई हजुरबाट आन्तरिक शक्ति एवं सामथ्र्य प्राप्त होस् र अति शीघ्र संसारबाट यो समस्या समाप्त होस्।”

आकर्षणको नियम अनुसार जुन संकल्प हामी पटक–पटक मनमा दोहोराउँछौं, हाम्रो मनले त्यसलाई सत्य ठान्दछ र कार्य गर्न शुरु गर्दछ र अन्ततः सिद्ध गरेर देखाउँदछ । हाम्रो मनभित्र तीन माध्यमबाट सूचना प्रवेश गर्दछ– सुनेर, बोलेर र देखेर । त्यसैले कोरोनाको विषयमा धेरै कुराहरु सुने वा देखेपनि मनमा बार–बार शक्तिशाली र सकारात्मक संकल्पहरुलाई अभ्यास गरौं । स्वयं पनि कोरोनाको त्रास र संक्रमणबाट बचौं र सर्वलाई बचाऔं ।

संकटको बेलामा हामीसँग रोइदिने पनि कोही हुँदेन । सबैको उस्तै पीडा, उस्तै दुःख र उत्तिकै भय । केबल स्वयंको शक्तिशाली मन, दृढ आत्मविश्वास र मनको सच्चा साथी भगवानको साथले नै हामीलाई बचाउँदछ । त्यसैले मनको रोदन र क्रन्दनको बन्धनलाई छोडेर परमात्माको सुखद स्पन्दनको अनुभूति गरौं ।

योगाभ्यासः म पवित्र आत्मा हुँ । म शक्तिशाली आत्मा हुँ । म निर्भय आत्मा हुँ । म सदा स्वस्थ र सुरक्षित छु । परमात्माको शक्ति ममाथि बर्सिरहेको छ । विजय मेरो जन्मसिद्ध अधिकार हो । मेरो विजय निश्चित छ । सारा विश्व मेरो परिवार हो । यस सृष्टिका प्रत्येक आत्मा साहासी र शक्तिशली, सुरक्षित र परमात्मा प्रेमले शुशोभित छन् ।
यो सारा सृष्टि हाम्रो आफ्नै घर हो, सबै आत्माहरु हाम्रै घरका सदस्यहरु हुन् ।

अहिले हाम्रो घर एक भायरसको प्रवेशतासँगै मृत्यु, रोदन, चिन्ता र त्रासको शिकार बनेको छ । त्यसैले यस समस्या र संकटको घडिमा अनावश्यक मनोरञ्जन, टीका–टिप्पणी र गाली–गलौजलाई छोडेर नियम, संयम, अनुशासन र धैर्यताको प्रतिमूर्ति बनेर आवश्यक सहयोग, शुभभावना र सकाश (कउष्चष्तगब िखष्दभक) को सञ्चार गरौं ।

जसले यस्तो समस्या रसंकटको बेलामा निष्काम, निश्वार्थ र निःसर्त भएर शान्ति, खुशी र शक्तिको भाइब्स निरन्तर विश्वमा फैलाउँछ, उसलाई जीवनमा कहिल्यै दुःख र त्रासको अनुभव गर्नुपर्र्दैन । यो संसार, प्रकृति र सारा मनुष्यहरु आक्रान्त छन् । यो हाम्रो जिम्मेवारी र कर्तव्य हो सम्पूर्ण विश्वलाई शान्ति र शक्तिको भाइब्स फैलाउनु ।

योगाभ्यासः म विश्वकल्याणकारी आत्मा हुँ… म आत्माबाट विश्वका सम्पूर्ण आत्माहरुमा शक्तिशाली र पवित्र किरणहरु प्रवाहित भइरहेका छन्… यी किरणहरु पाएर सबै स्वस्थ, सुखी र सन्तुष्ट महसुस गरिरहेका छन्… उनीहरुले भय, दुःख र सर्वसमस्याबाट मुक्त भएको अनुभूति गरिरहेका छन्… ।

यस महामारीपछि के गर्ने त ?

यस सृष्टि नाटकमा जीवनको नियम छ– समस्या एवं संकटको बेलामा समाधानको विषयमा, सहासको विषयमा र सत्यताको बोधको विषयमा चिन्तन गर्नुपर्दछ । समस्याको विषयमा होइन, सामाधानको विषयमा सोचौं । कारणलाई निवारणमा परिवर्तन गरौं । चिन्ताले होइन, शुभ–चिन्तनले मार्ग प्रसस्त हुन्छ ।

गाली, ग्लानि र गफलाई छोडेर गम्भिरताको गुणलाई धारण गरौं । भय वा त्रासलाई केबल आत्मविश्वासद्वारा नै जित्न सकिन्छ । त्यसैले अब समाधानको कुरा गरौं । दया र करुणाको कुरा गरौं । चिन्ता छोडेर शुभ–चिन्तन गरौं । सनातन सस्कृति, साकाहार र आध्यात्मिक जीवनशैलीको कुनै विकल्प छैन ।

आध्यात्मिक नियमको पालना गरौं । मेडिटेशनको अभ्यास गरौं । यी र यस्ता संकटलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गरौं । यिनीहरुबाट हामीलाई जीवन जिउने एक अर्को अवसर प्राप्त हुन्छ । जीवनलाई हेर्ने र भोग्ने एक नयाँ दृष्टिकोण प्राप्त हुन्छ । जीवनमा रचनात्मकताको विकास हुन्छ ।

जीवनको मूल्य र जीवन–मूल्यको महत्व थाहा हुन्छ । जब कुनैपनि महामारी आउनेछ, त्यस समयमा मानसिक स्तरमा के गर्ने भनेर अहिल्यै तैयारी गर्नु जरुरी छ ।

अन्त्यमाः

कोरोना विश्व भ्रमणमा निस्केको करीब पाँच महिना भइसकोको छ, कहिले भ्रमण स्थगित होला वा भ्रमण चलिरहला भन्न सकिन्न ।

बरु हामी नै सचेत, जागृत र कर्तव्यनिष्ठ बनेर यो र यस्ता परिस्थिति र प्रतिकूलताका बहुरुपहरुलाई चिन्नु, परखनु र यिनीहरुबाट बच्नु जरुरी छ । ध्यान राखौं, कोरोनाले अन्जानमै हाम्रो मनमा प्रवेश नगरोस्, र वियोगात्मक जीवन कहानी नलेखोस् ।

प्रतिक्रिया दिनुहोस्