हृदयघातबाट यसरी बच्न सकिन्छ



डा. प्रेमराज वैद्य, (कन्सल्ट्यान्ट कार्डियोभास्कुलर सर्जन) ।

हृदयघात (Heart Attack ) भनेको मुटुको कुनै पनि धमनीहरुमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु हो । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राण घातक पनि हुन सक्छ । स– साना धमनीहरुको अवरोध भएर भएको हृदयघात चाहिँ कहिलेकाहीँ मानिसलाई थाहा नहुन पनि सक्छ । तर ठूलो धमनीमा अवरोध भएमा छातीको बीचमा वा देबे्रतिर बेस्सरी थिचेको जस्तो दुख्छ, चिटचिट पसिना आउँछ, वाकवाक लाग्ने र बेहोस पनि हुन सक्छ ।

तसर्थ वयष्कहरुले बेला–बेलामा आफ्नो मुटुको परीक्षण गर्नु आवश्यक छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ ।किनकि हालसम्म हृदयघातको मुख्य कारण थाहा छैन, यसका कारक तत्वहरु मात्र थाहा छन् ।

उमेर बढ्दै जाँदा हृदयघातको खतरा पनि बढ्दै जान्छ । सामान्यतया पुरुषलाई महिलालाई भन्दा बढी हृदयघातको खतरा हुन्छ ।तर महिनावारी बन्द भएपछि चाहिँ महिलालाई पनि पुरुषलाई जत्तिकै खतरा हुन्छ । हृदयघात वंशाणुगत रोग भएकाले वंशबाट पनि सरेर आउन सक्छ । यी अपरिवर्तनीय कारक तत्वहरु हुन् । केही कारक तत्वहरुलाई चाहिँ व्यक्तिले उपचार वा जीवनशैलीमा परिवर्तन गरेर हृदयघात नियन्त्रण गर्न पनि सकिन्छ । जस्तो– धूमपान नगर्ने, व्यायाम गर्ने, मानसिक तनाव कम गर्ने, मोटोपन नियन्त्रण गर्ने र समग्रमा समस्त जीवनशैली परिवर्तन गरेर हृदयघातबाट धेरै हदसम्म बच्न सकिन्छ ।

यस्तै गरी उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल पनि हृदयघातका कारक तत्व हुन् । उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोललाई समयमानै नियन्त्रणमा राख्न सकेमा ५० प्रतिशत हृदयघात कम हुन सक्छ । यस रोगका सम्बन्धमा  जनचेतनाको कमीहुनु र यसका साधारण लक्षणहरु मात्र हुने हुनाले समयमा नै यसको निदान गर्न निकै कठिन भएको हो ।

हृदयघात हुनुभन्दा अगाडि यसका साधारण लक्षणहरु मात्र हुन्छन् । व्यायाम गर्दा, उकालो चढ्दा, भर्‍याङ उक्लँदा, मानसिक तनाव बढ्दा छातीको बीचमा वा देबे्रतिर भारी हुने, ढुंगाले थिचेजस्तो अनुभव हुने र स्वाँ–स्वाँ बढ्ने हुन्छ । तर आराम गरेपछि सन्चो हुने हुन्छ । कहिले काहीँ देब्रे हातमा वा च्यापुतिर पनि दुखाइ सरेको जस्तो हुन सक्छ । यदि यस्तो लक्षण देखा परेमा तुरुन्त मुटुरोग विशेषज्ञको परामर्श लिनुपर्छ । अधिकांश मानिस यसलाई सामान्य सोचेर घरमै बसिरहन्छन् र अन्त्यमा हृदयघात पनि हुन सक्छ । हृदयघात भैसकेपछि उपचार सहज हुँदैन । देब्रे मुख्य धमनीमा अवरोध भएमा समस्या झनै जटिल हुन्छ । किनकि पहिलो हृदयघातमा नै मृत्युसम्म हुन सक्छ ।

यदि माथि उल्लिखित लक्षणहरु भएमा तुरुन्त परीक्षण गर्नुपर्छ । यस सिलसिलामा ईसीजी गर्नुपर्छ । यदि ईसीजीमा केही समस्या देखा परेमा वा देखा नपरे पनि टीएमटी (Treadmill Test) वा इको गर्नुपर्ने हुन सक्छ । टीएमटी पोजिटिभ देखिएमा कोरोनरी एक्जजियोग्राफी लगायत गर्नुपर्ने हुनसक्छ ।

हाल मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा वयष्कहरुको मुटुको सबै प्रकारका उपचार तथा शल्यक्रिया शुरु भइसकेको छ । चाँडै नै क्याथल्याब पनि शुरु हुँदैछ । नेपाल सरकारबाट विपन्न नागरिकले पाउने सुविधा  पनि उपलब्ध छ र भल्वको शल्यक्रिया निःशुल्क गर्न पहल हुँदैछ ।

(डा. वैद्य मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्