स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड

गत वर्षको तुलनामा २१ अर्ब ९१ करोड वृद्धि



भगवती तिमल्सिना, काठमाडौं ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्मा आर्थिक वर्ष २०७७÷७८ का लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेटमध्ये स्वास्थ्यमा ९० अर्ब ६९ करोड विनियोजन गरिएको बजेट भाषणमा उल्लेख गर्नुभएको छ । बजेट भाषणका क्रममा उहाँले यसपटक स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरेकोे बताउनुभयो ।

विश्वव्यापीरूपमा मानव अस्तित्व नै संकटमा पार्दै फैलिएको कोरोना भाइरस रोग रोकथामका लागि ६ अर्ब रकम बिनियोजन गरिएको छ । रोगको उपचार र नियन्त्रणलाई प्राथमिकता दिँदै ल्याइएको स्वास्थ्य बजेटमा उल्लेख गरिएको छ । बजेटमा नयाँ अस्पताल निर्माणका लागि १४ अर्ब २७ करोड रकम छुट्याइएको छ ।

त्यसै गरी चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ताको व्यवस्था पनि गरिएको छ । कोरोना संक्रमणको महामारीका लागि छुट्टै सरुवा रोग अस्पताल चाहिने बिषयमा विज्ञहरूले ध्यानाकर्षण गराएका थिए । सोहीअनुरूप काठमाडौं उपत्यकामा छुट्टै ३ सय शैय्याको सरुवा रोग अस्पताल निर्माण गर्नेे भएको छ ।

अर्थमन्त्री खतिवडाले कोरोना भाइरस रोगको उपचारमा खटिने कर्मचारी, स्वास्थ्यकर्मीलाई निःशुल्क स्वास्थ्य बीमा गरिने पनि बताउनुभयो । त्यसै गरी कोरोना संक्रमणका कारण ल्याब परीक्षण ढिला भएको र अपर्याप्त नभएको अवस्थामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमता बढाइने भएको छ ।

तीन वर्षभित्र सबै नागरिकलाई बीमाको दायरामा ल्याइने घोषणासँगै स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब रुपियाँ छुट्याइएको उल्लेख गरिएको छ ।

बालरोगको अध्ययनका लागि कान्ति बाल अस्पताललाई विस्तार गरिने तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने बजेटमा उल्लेख छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप सुधार गरिने भएको छ ।

त्यसै गरी स्वास्थ्य पूर्वाधार तथा औषधि, उपकरण विनियोजनका लागि १२ अर्ब ४६ करोड बजेट विनियोजन गरिएको छ । काठमाडौं उपत्यका र प्रदेश राजधानीमा २ सय ५० शैय्याका आईसीयू बेड स्थापना गरिने पनि उहाँले जानकारी गराउनुभयो । सबै प्रदेश राजधानीमा ५० शैय्याको सरुवा रोग अस्पताल स्थापना गरिने मन्त्री खतिवडाले बताउनुभयो ।

उहाँले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोसी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालको स्तरोन्नति गरी विषेशज्ञ अस्पतालका रूपमा विकास गरिँदै लगिने पनि बताउनुभयो । अर्थमन्त्री डा. खतिवडाले बजेटको प्रमुख उद्देश्यमा संक्रामक रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउनेतर्फ केन्द्रित भएको उल्लेख गर्नुभएको छ ।

उहाँले कोरोनालगायत स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण, स्तरोन्नति र स्वास्थ्य जनशक्तिको विकास गरिने विषयमा जोड दिनुभयो ।

कोरोना उपचारमा संलग्न चिकित्सक कर्मचारीहरूलाई उच्च मूल्यांकन गरी प्रोत्साहनका लागि बजेट छुट्याएको छ । त्यसै गरी सम्पूर्ण कर्मचारीका लागि १ लाख बराबरको निःशुल्क कोरोना बीमा गर्ने कार्यक्रम छ ।

अर्थमन्त्री डा. खतिवडाले संघीय संसद्मा गत वर्ष बजेट प्रस्तुत गर्ने क्रममा आर्थिक वर्ष २०७६÷०७७ सालका लागि प्रस्तुत गरिएको १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाखको बजेटमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । कोरोना संक्रमणको महामारीका कारण गत वर्षको तुलनामा स्वास्थ्यको बजेटमा २१ अर्ब ९१ करोड वृद्धि भएको छ ।

बजेट भाषणमा अर्थमन्त्री खतिवडाले मदिरा, सुर्तीजन्य पदार्थमा मूल्य वृद्धि भएको जनाए पनि के–कति बढेको भन्नेबारे उल्लेख गर्नुभएन । विश्व स्वास्थ्य संगठनले मदिरा र सुर्तीजन्य पदार्थले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुनाले ७० प्रतिशतसम्म वृद्धि गर्न सुझाव दिएको भए पनि अर्थमन्त्रीले सामान्य मात्र बढाएको बताउनुभयो ।

यसैबीच अर्थमन्त्री खतिवडाले कोरोना भाइरसलगायत अन्य संक्रमणबाट नागरिकलाई जोगाउन र रोग रोकथामका लागि ६ अर्ब रुपियाँ विनियोजन गरेको बताउनुभयो । उहाँले कोरोना संक्रमणकै कारण यस वर्षको बजेट वृद्धि गरेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्