घूस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्



प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार आफूले पनि नगर्ने र अरूलाई पनि गर्न नदिने बताइरहँदा विभिन्न सरकारी संघसस्थामा खुलेयाम भ्रष्टाचार हुने गरेको पाइन्छ । आगामी २०३० सम्ममा भ्रष्टाचार शून्य पार्ने लक्ष्य राखेको सरकारले यसको नियन्त्रणका लागि केही पहल पनि गरेको छैन । अख्तियार दुरूपयोग अुनसन्धान आयोगले पनि साना–साना भ्रष्टाचारीलाई कठघरामा ल्याए तापनि ठूला–ठूला प्रकरणमा मुछिएका बिचौलियालाई नियन्त्रणमा लिन नसक्दा नेपालमा झन् मनोमानी चर्किएको छ ।

नेपाल विकासमा निकै पछाडि पर्नुमा भ्रष्टाचार मुख्य कारण हो भन्न कुनै संकोच मान्नुपर्दैन । ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’, यो राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश हो । यही दिव्योपदेशका नारा र पोस्टरहरू घूस खाने अड्डाहरूमा अहिले ज्यादा देखिन्छ । नेपालको प्रचलित कानुनले पनि ‘घूस लिनु र दिनुलाई’ अपराध मानेको छ तर व्यवहारतः यो लागू हुन सकेको छैन । नेपालको प्रचलित कानुनले जहिले पनि घूस दिने होइन, लिनेहरू मात्र पक्राउ पर्ने गरेका छन् । ‘घूस लिनेलाई मात्र कारबाही, दिनेलाई किन उन्मुक्ति ?’ भन्ने बहस चल्न थालेको धेरै वर्ष भइसक्यो ।

नेपालमा ३० को दशकदेखि भ्रष्टाचार मौलाउन थालेको पाइन्छ । पहिले भ्रष्टाचारीहरू औँलामा गन्न सकिने हुन्थे भने अहिले असल चरित्रका मान्छे नै कम भएकोे अवस्था आइसकेको छ । भ्रष्टाचार देशका लागि महारोग हुँदाहुँदै पनि शासकदेखि नेता, प्रशासक, कर्मचारी सबै यसबाट अछूतो रहन सकेका छैनन् । त्यसै कारण भ्रष्टाचार संस्थागत भइसकेको अवस्था छ । घूसविना कर्मचारीले कामै नगर्ने र नबन्ने अवस्था आउनु देशकै लागि दुर्भाग्य हो ।

घूस लिने समस्या बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस लिने मात्र होइन, दिने पनि उत्तिकै दोषी रहेको ठहर गर्दै कारबाही अघि बढाएको खबर पनि सार्वजनिक भएको छ । घूस दिने व्यक्तिलाई कारबाही नगर्दा ट्राफिक प्रहरीमा घूस लिने समस्या झन् फस्टाउने चुनौती देखिएपछि घूस दिनेलाई समेत कारबाही गर्न शुरू गरेको छ । चालकले सवारी नियम उल्लंघनको कारबाहीमा ट्राफिक प्रहरीलाई १ सय रुपियाँदेखि १ हजार रुपियाँसम्म घूस दिने गरेको पाइएपछि घूस दिनेलाई समेत कारबाहीको भागिदार बनाउन लागेको हो ।

घूस लिने ट्राफिक प्रहरीलाई कारबाही गरेर दिने व्यक्तिलाई उन्मुक्ति दिँदा अर्को ट्राफिक कारबाहीको भागिदार बन्न सक्छ । घूस दिने व्यक्तिले कानुनको परिपालनाभन्दा घूस दिएर उन्मुक्ति पाउन उद्यत् भइरहन्छ भने ट्राफिक प्रहरीले सिंगो प्रहरी संगठनलाई नै बदनाम गराउँछ । दुवैलाई कारबाही गर्दा ट्राफिक प्रहरीमा मौलाउँदै गएको घूस खाने समस्या हट्ने अपेक्षा महाशाखाले गरेको छ । कानुनअनुसार जो–कोहीलाई कारबाही हुनु कानुनको परिपालना हो । तर यस्ता अभियानहरू सफल हुन गाह्रो छ ।
यस्ता अभियान प्रहरीमा जस्तै सबै निकायमा लागू हुनु जरुरी देखिन्छ । नेपाल प्रहरीमा जस्तै प्रशासनमा पनि लागू गर्नुपर्छ, ताकि घूस दिने पनि कारबाहीको भागिदार बनून् । भ्रष्टाचार नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको घूस दिनै बन्द गर्नु हो तर सेवाग्राही नै घूस खुवाएर काम गराउन सजिलो ठान्ने गर्छन् ।

कानुनसम्मत हुने काममा पनि छिटो काम सम्पन्न गर्ने बहानामा घूस खुवाउने प्रवृत्ति सर्वत्र छ । घूस दिनेलाई पनि कारबाही हुने हो भने घूस दिने व्यक्तिको मनोबल बढ्न पाउँदैन । पैसा तिरेपछि त जस्तोसुकै काम पनि सम्पन्न हुन्छ भन्ने मान्यताले गर्दा नै आज भ्रष्टाचार र अनियमितताले सीमा नाघेको हो ।
सुशासन र पारदर्शिता सबै क्षेत्रका आवश्यक कुरा हुन् । यही घूसको लेनदेनका कारण नै कानुनको खिल्ली उड्ने गरेको पाइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म घूस खाने र भ्रष्टाचारीलाई मात्र कारबाहीको दायरामा ल्याएको छ । अब घूस लिने व्यक्तिसँगै घूस दिने व्यक्तिलाई पनि कारबाही गरिनु जरुरी देखिएको छ । अहिले विभिन्न समाचारमाध्यममा भ्रष्टाचारका दिनहुँ समाचारहरू प्रकाशित हुने गरेका छन् । यसको नियन्त्रणमा सरकार गम्भीर भएर लाग्नु अत्यन्तै जरुरी छ ।
– प्रकाश रेग्मी, न्यूरोड, पोखरा ।

हावाहुरीको समयमा आगलागीबाट सचेत बनौँ
वैशाख–जेठ महिनामा अत्यधिक हावाहुरी चल्ने भएका कारण देशका थुप्रै ठाउँहरुमा आगलागी हुने गरेका छन् । झरेका पातपतिंगरसमेत सामान्य आगोको झिल्कोले मात्रै पनि जल्ने अवस्थामा पुगेका छन् । मौसम सुख्खा रहेको भएर पनि सुख्खापन बढ्दै गैरहेको छ । यो समय सुख्खा याममा आगलागीका लागि जोखिमपूर्ण समय हो । यो समयमा हामीले सामान्य सावधानीसमेत अपनाउन नसकेका कारणले आगलागीजस्तो डरलाग्दो विपत्तिको सामना गर्नुपर्ने हुन सक्छ ।

आगो हाम्रो दैनिक जीवनमा नभई नहुने कुरा हो, यसको सदुपयोगका कारण हाम्रा दैनिक क्रियाकलापलाई सहज बनाउँछ भने यही आगोको दुरुपयोग भयो भने यसको क्षति अकल्पनीय हुन्छ । सलाई, लाइटरजस्ता प्रज्ज्वलनशील वस्तुबाट मात्रै होइन, आगो लाग्न सक्ने सम्भावना विद्युतीय प्रसारणबाट पनि हुन्छ । हामीले प्रयोग गर्ने सलाई, लाइटरलाई जोगाएर नराखेका कारणले कहिलेकाहीँ हाम्रा स–साना बच्चाबच्चीले खेलौनाको रुपमा यस्ता वस्तुको प्रयोग गर्दा आगलागी हुने गरेका उदाहरण हामीसँग प्रशस्त छन् ।

सुख्खा समयमा घरबाहिर वा हावा चल्ने ठाउँमा आगो सल्काउने गरेका कारण पनि हावाले उडाएर लगेका झिल्काबाट क्षति हुने गरी आगलागी हुने गरेको छ । अर्को हाम्रो ठूलो असावधानी भनेको अम्मलीहरुले प्रयोग गर्ने चुरोट तथा बिँडीका ठुटाहरु हुन् । चुरोट तथा बिँडीको प्रयोगपछि अन्त्यमा ठुटा ननिभाईकन सडकछेउ अथवा आगोले टिप्न सक्ने सम्भावित ठाउँहरुमा फालेका कारणले पनि आगलागी हुने गरेको छ ।

विद्युतीय प्रसारणमा कहिलेकाहीँ सामान्य त्रुटिका कारण दुई विपरीत तारहरु जोडिएर बल्ने आगोका कारणले पनि कतिपय आगलागीका घटना हुने गरेका छन् । मैसम सुख्खा छ । पानी नपरेका कारण आगलागीको जोखिम थप बढ्दै गएको छ । यस्तो बेलामा हमीले घरबाहिर सल्काउने आगो सकभर नसल्काउने वातावरण बनाऊँ, यदि सल्काउनु नै पर्ने भए सावधानीपूर्वक सल्काउने र काम सकिएपछि त्यसलाई राम्रोसँग निभाउने व्यवस्था मिलाउनु आवश्यक छ । विद्युतीय तारहरुमा कहीँ–कतै त्रुटि छ कि भनेर बेला–बेलामा चेकजाँच गर्ने व्यवस्था मिलाऊँ ।
अकस्मात् हुन सक्ने आगलागीबाट बच्नको लागि पूर्वसावधानीका अलवा आगलागीपछि अपनाउन सकिने प्रतिरोधका उपायहरुको विषयमा जानकारी राखौं । यसैमा सबैको हित हुनेछ ।
– रोशन बम, डोटी ।

प्रतिक्रिया दिनुहोस्