चमत्कारपूर्ण छ मानव मस्तिष्क



सामान्यतया मानिसको मस्तिष्कमा कुनै डिजिज छैन भने सबै मानिसको मस्तिष्क उत्तिकै तीक्ष्ण र क्षमतावान् हुने गर्दछ । मानिसले आफँसँग भएको मस्तिष्कलाई कुन उद्देश्यका साथ कसरी प्रयोग गर्ने र कुन हदसम्म प्रयोग गर्ने भन्ने कुरा नितान्त व्यक्तिगत भएको हुँदा हरेक मानिसको पहिचान फरक–फरक किसिमले हुने गर्दछ ।

त्यसैले हाम्रो लक्ष्य, हाम्रो सफलता र हाम्रो पहिचानका लागि हामीले हाम्रो मस्तिष्कलाई सकारात्मक तरिकाले भरपुर प्रयोग गर्नुपर्दछ । विश्वमा भएको अनुसन्धानलाई हेर्दा साधारण मानिसले आफूसँग भएको मस्तिष्कको १ प्रतिशत मात्र प्रयोग गरेको देखिन्छ । बाँकी ९९ प्रतिशत मस्तिष्क त्यसै खेर गइरहेको तथ्य फेला परेको छ ।

यद्यपि अल्बर्ट आइन्स्टानले आफ्नो मस्तिष्कको तीन प्रतिशतसम्म प्रयोग गरेका थिए । यो एउटा अपवादबाहेक आजसम्म कसैले योभन्दा धेरै आफ्नो मस्तिष्क प्रयोगमा ल्याउन सकेको छैन । मानिसलाई परिवार, समाज र देशको वातावरणले पनि मस्तिष्क क्षमतावान् बनाउन वा कमजोर बनाउन प्रत्यक्ष वा अप्रत्यक्षरूपमा भूमिका खेलिरहेको हुन्छ ।

मस्तिष्क र मनको सम्बन्ध परिपूरकजस्तो देखिन्छ । मस्तिष्कले तर्क र गणितको कुरा गर्छ भने मनले भावना र कल्पनाको कुरा गर्छ । कहिलेकाहीँ भावनाको अगाडि तर्क विलीन भइदिन्छ, फलस्वरूप तथ्य लोप हुन पुग्दछ । मस्तिष्क बढी स्वार्थी र मन बढी मानवीय हुने हुँदा मानिसले आफ्नो जीवनको लक्ष्य के हो, त्यसको पहिचान गरी कुनलाई कसरी प्रयोग गर्ने भन्ने कुरातर्फ सजग हुनुपर्दछ ।

विश्वमा दुई किसिमका दर्शनहरूको प्रयोग भएको पाउन सकिन्छ– पूर्वीय दर्शन र पश्चिमा दर्शन । पूर्वीय दर्शनको आविष्कार र प्रयोग हजारौं वर्षपहिले भएको पाउन सकिन्छ । यसले अनुसन्धान, विज्ञान, आध्यात्मिक, मानवता, शान्ति र सन्तुष्टिको व्याख्या गर्दछ भने पश्चिमा दर्शनले भौतिक उन्नति, सुख–सुविधा, यान्त्रिकीकरण, आर्थिक उन्नति तथा विकासजस्ता कुराको व्याख्या गर्दछ । यी दुई दर्शनको संयोजनद्वारा वर्तमान विश्व ब्रह्माण्ड चलिरहेको छ ।यिनै दर्शनद्वारा नयाँ कुराको खोज, प्रयोग, सुख र सन्तुष्टि सम्भव भएको हो ।

शिक्षा क्षेत्रमा गरिने खास लगानीमा विद्यार्थी संख्या र गुणस्तरबीचमा ब्युत्क्रमानुपातिक सम्बन्ध छ । विद्यालय बढी नाफामुखी भएकाले त्यहाँबाट क्षमतावान्, सिर्जनशील र योग्य विद्यार्थी पाउन मुस्किल भएको छ । सेवाजस्तो क्षेत्रमा व्यापार मिसिएपछि त्यसको हालत के होला ?हामी सबैले विचार गर्न सक्छौं । सरकारले शिक्षालाई निजीकरणबाट मुक्त गरी राष्ट्रियकरण गर्दै सरकारी स्कुलहरूलाई थप गुणस्तयुक्त बनाउन सक्नुपर्दछ र त्यहाँबाट उत्पादन भएका दक्ष विद्यार्थीलाई नेपालको विकास निर्माणमा लगाउनुपर्दछ ।

यसका लागि सरकारले विद्यालयहरूमा व्यावहारिक, सीपमूलक एवं समस्या केन्द्रित शिक्षण पद्धतिको विकास गर्दै कार्यान्वयनमा लैजाने र सरकारी शिक्षकको सेवा–सुविधाहरूमा वृद्धि गर्दै उनीहरूलाई कडा अनुशासनमा राख्ने नीति निर्माण गर्न जरुरी छ । सुगमदेखि दुर्गमसम्म, धनीदेखि गरिबसम्म सबै नेपालीले आफँले चाहेको शिक्षा आफ्नै अनुकँलताको समय र स्थानमा लिन सक्ने बनाउनुपर्दछ ।

एउटा विद्यार्थीको सिकाइ उपलब्धिमा शिक्षाको गुणस्तर, पाठ्यवस्तु र पाठ्यक्रमको प्रासंगिता, स्थानीय समस्यामा केन्द्रित, सिकाइको सघनता, उत्प्रेरक शिक्षण पद्धति, निरन्तर उत्प्रेरणा र परामर्शजस्ता तत्वले प्रभाव पार्दछ । अबको युगमा एउटा लेक्चर हेर्न कक्षाकोठामा जानुपर्ने बाध्यता युवा पुस्ताको अन्तरात्माको माग नभएर एउटा बाध्यता हो ।त्यसैले युवाप्रति सहानुभूति देखाउँदैमा के हुन्छ ? बरु युवाको समग्र भावना बुझी शिक्षा क्षेत्रमा सँचना प्रविधिले ल्याएको सम्भावनालाई अवसरमा बदले केही हुन सक्छ ।

घोकेर जाँचमा ओकल्नुलाई विद्या आर्जन मान्ने आजभोलिको शिक्षा प्रणालीले नै हाम्रा युवालाई असफल बनाइरहेको कुरा के सर्वविदित नै छैन र ? हाम्रा विद्यालयहरू अनुसन्धानको अगुवा हुनुको सट्टा अनुसन्धानबाट भाग्ने भगुवा भएका छन् । तसर्थ विद्यालयले समस्या केन्द्रित र जीवन उपयोगी शिक्षण पद्धतिको विकास गर्दै जाने र विद्यार्थीले पनि १८–२० वर्ष लगातार पढेर बेरोजगार हुनुको सट्टा काम, अनुभव र शिक्षालाई साथसाथै अगाडि बढाउन सकेमा त्यो धेरै उपयोगी र व्यावहारिक हुन्छ ।अन्यथा पैसा, समय र जीवननै बर्बादीको बाटोमा जान्छ । शिक्षा केवल जागिर खानका लागि मात्र नभएर हाम्रो चिन्तन प्रणालीको विकास गर्नका लागि पनि हो ।

एउटा शिक्षित व्यक्ति सभ्य, अनुशासित, नैतिकवान्, सहनशील र मिजासिलो हुन्छ । उसले कुनै पनि कुरा गर्दा ओजपूर्ण तरिकाले गर्ने गर्दछ र समस्या पनि त्यसरी नै हल गर्दछ । जीवनको आधाजसो समय शिक्षा हासिल गर्न खर्चेर विदेश पलायन हुनुको के मज्जा ?आफूले आजसम्म हासिल गरेको शिक्षालाई कसरी, कहाँ उत्कृष्ट तरिकाले प्रयोग गर्न सकिन्छ ?त्यतातिर चिन्तन गर्दै सोहीअनुरूप कार्य गर्न सकेमा जीवन सन्तुष्ट हुन्छ । हजारौं वर्षपहिले दार्शनिकहरूले ज्ञानमै मुक्ति छ भनी जुन दृष्टि दिएका थिए, त्यो दृष्टि हामी सबैले सबैका लागि सम्भव बनाऔं ।
– सुमिना पौडेल,रौतहट ।

 

मजदुरहरुको सम्मान गरौं
अहिले पनि मजदुरको परिभाषा फेरिएको छैन । मजदुर भन्नाले ज्यादै विपन्न वर्गका शारीरिक श्रम गर्ने व्यक्तिका रूपमा लिइन्छ । यो विल्कुलै गलत कुरा हो । अहिलेको परिस्थितिमा सीप, क्षमता र उच्च दक्षता भएका व्यक्तिलाई मजदुर भन्नुपर्ने भएको छ । सीप नभएका व्यक्ति मजदुर बन्न नसक्ने अवस्था आइसकेको छ ।अहिले कुनै पुँजीपतिको विरोधमा ¥याली र जुलुस निकाल्नुपर्दैन । बरु पुँजीपतिहरूलाई उद्योग कलकारखाना खोल्न प्रेरित गर्नुपर्ने समय आइसकेको छ ।

बितेका केही दशकमा मजदुर र उद्योगीबीच द्वन्द्व बढेको थियो । मजदुरको समस्या उद्योगीले सम्बोधन नगर्ने र मजदुर युनियनका कारण उद्योग कलकारखाना सञ्चालन गर्न नसक्ने अवस्थाबीच द्वन्द्व बढी नै भए । उद्योगहरूमा बन्द, हडताल भइरहँदा मुलुकमा लोकतन्त्र स्थापना भइसक्दासमेत मजदुरहरूले लोकतन्त्रको अनुभूति गर्न सकेनन् । उद्योग, कलकारखानाहरूमा अहिले मजदुरको समस्या त्यति देखिँदैन, जति समस्या सरकारी कार्यालयमा छ । सरकारी कार्यालयहरूमा विभिन्न युनियनको राजनीतिका कारण सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन् ।

नेपालमा मजदुर दिवस मनाइन थालेको यतिका वर्षसम्म पनि समाजले श्रम गर्नेहरूको उचित मूल्यांकन गर्न सकेको छैन । जहाँ श्रमको सम्मान र कदर हुन्छ, त्यहाँ नै समानता हुन्छ । देशलाई विकसित र समृद्ध बनाउन हरेक नागरिकको मनमा आत्मसम्मान र श्रमको सम्मान हुनै पर्छ । त्यसैले स्वदेशमै आत्मसम्मानपूर्वक श्रम गर्ने वातावरण सिर्जना गरी श्रमिक दिवस मनाउनु जरुरी देखिन्छ ।
– शेरबहादुर जोशी, दार्चुला ।

 

प्रतिक्रिया दिनुहोस्