सहउडेका घरमा बन्दी



नवराज पथिक

‘रछ्यानको बारी रुखो हुँदैन, घरको मान्छे भोको हुँदैन’, यो नेपाली प्राचीन उखान हो । यो उखान त्यत्तिकै बनेको हैन । घर–करेसाछेउको बारी सधैँ मलिलो हुन्छ । सधैँ रसिलो हुन्छ । हात–मुख धोएको पानी त्यहीँ पुग्छ । भाँडा माझेको पानी त्यहीँ पुग्छ । चुल्हो लोटाएको गोबर, दैलो–अगेनो पोतेको माटो, मझेरी लिपेर उब्रिएको गोबर, तरकारी केलाएर निस्किएको झुत्राझुत्री सबै फाल्ने ठाउँ भनेकै रछ्यान हो । त्यसैले रछ्यानको बारी न कहिल्यै सुख्खा हुन्छ, न कहिल्यै रुखो हुन्छ । रछ्यानको बारी सधैँ उर्वर हुन्छ ।

अनि घर सबै खालको सुरक्षाको केन्द्रहो । घरभित्र छिरेपछि सबै खालका दुःखबाट राहत । सबैखालको डर–त्रासबाट मुक्ति । अनि थोर–बहुत सबै कुराको जोहो, संरक्षण र संग्रह गर्ने थलो । आफ्नो क्षमता र हैसियतअनुसारका कम्तीमा पनि एक वर्ष गुजारा चलाउने सामग्रीको जोहो । घरमा आउने पाहुनापतको लागि छुट्टै संग्रह, अनि छरछिमेकको ऐँचोपैँचोको लागि अलग्गै जोहो । दैनिक जीवनमा आवश्यक पर्ने नूनदेखि सुनसम्म, हिँङदेखि हल्दीसम्मको साझा संग्रहालयको नाम हो घर । त्यसलै त भनिन्थ्यो, घरको मान्छे कहिल्यै भोको बस्नुपर्दैन तर परदेशमा भन्न सकिन्न ।

अहिले त घर घरजस्ता भएपो, घरको मान्छे भोको नपर्नु । घर परदेशभन्दा पनि बढीका भए । घर डेराभन्दा पनि काम नलाग्ने भए ।बजारमुखी अर्थतन्त्रले घर खालि भए । भकारीहरु रित्ता भए । माटो र तामाको घ्याम्पा अनि मुख फुटेका पुराना माटाका गाग्रा र चिण्डाहरुमा हालेर राख्ने तितेफापर, कागुनो, जुनेलो, लट्टेका बीउनै मासिए । पेरुङ्गोमा सुकाएर राखिने स्कुस, लौका, मूला, कुभिण्डो र फर्सीका चानाको स्वाद जिब्रोले थाहा नपाएको कत्ति भो कत्ति ?
हामी केटाकेटी हुँदासम्म हाम्रो गाउँमा अन्न, तरकारी, तेल भुटुन कुनै घरमा किनेको पत्तो पाइएन । सबैका घरका बुइँगलमा बाँसले बुनेका भकारीमा धान हुन्थे ।

भकारीको तल भुइँमा पराल ओछ्याई त्यसमाथि भकारीभरि धान हाल्ने अनि चरामुसाले नखाओस् भनी माथिबाट पनि पराल छापेर त्यसमाथि गोबर–माटोले लिपेर बन्दिलो बनाइन्थ्यो । मंसिरमा भकारी बाँध्दा नै कुन भकारी कहिले फोर्ने भन्ने तयगरेर भकारीमा धान हालिन्थ्यो । जस्तै– माघेसङ्क्रान्तिको लागि फोर्ने भकारी केही सानो हुन्थ्यो । चैतेदशैँको लागि चामल कुट्न धान हालेको भकारी त्यही अनुसारको, असारमा धानखेत रोपाइँ गर्ने चामलको लागि छुट्टै भकारी, दशैँ–तिहारको चामलको लागि छुट्टै भकारी, अनि चिउरा कुट्ने धानको छुट्टै भकारी ।

बुइँगलको अर्काे कुनामा मकैका कुन्यौ हुन्थे । बीउको मकैको छुट्टै कुन्यौ, भुटेर खाने मकैको छुट्टै कुन्यौ । गाई–भैँसीलाई कुँडो खुवाउनको लागि फुन्डाफुन्डी मकैको छुट्टै कुन्यौ । के कामको लागि मकै झिक्ने हो, त्यही कुन्यौबाट चलाइन्थ्यो ।

तामा र माटाका घ्याम्पा अनि, बुइँगल र चोटामा थन्क्याइएका मुख फुटेका, पुराना माटाका गाग्रा कुनै खालि हुँदैन थिए । गहत, मस्याङ, तितेफापर, मिठेफापर, कोदो, जुनेलो, कागुनो, घैया, तोरी, बोडी, भटमास, सिलाम, सस्र्युं, रायो, वनबाट माडेर ल्याएको सतिबयरका गेडा यस्तै–यस्तै खानेकुराहरुले चिन्डा, गाग्रा र घ्याम्पा भरिएका हुन्थे । गोठभरि गाई–भैँसी, खोरभरि बाख्रा–पाठा । चाडबाडमा खसी खोज्न बाहिर जानै नपर्ने । खोरकै रोज्जा खसी काटिन्थ्यो ।
दिनबिराएर मही पार्दा एकमानो घिउ त कहीँ नजाने। काठका हर्पेभरि घिउ, आफँलाई पुग्दो भएपछि मात्र बिक्री गर्ने । घरको तोरी ढिकीमा कुटेर फुलो बनाएपछि पर्परी भुटेर निगालोको पिचा (छपनी)मा हाली काठको पेचुवामा हालेर पेल्दा निस्कने तातो तेलको धारा र त्यसबाट निस्कनेसुगन्ध ! आहा !!

बिहानबिहानै मही पारेपछि नौनी घिउको धूप हाल्दा टोलभरि फैलने सुवास। ठूलो कुँडेमा मज्जाले तताएको दूध ओरिपरि बसेर कचौरा र बोड्काहरुमा थापेर खाँदा न चिनी चाहियो, न चियापत्ती । चारपाथे ठेकामा मथेको मही एक कचौरा पिएपछि प्यास पनि मेटिने, एकपटकको भोक पनि मर्ने । त्यस्तो हुँदा पो घर घरजस्तो थियो ।

सिजनअनुसारका खानेकुरा र तरकारी मिलाई–मिलाई खाने । पहिला राम्रो बीउ जोहो गरेर राख्ने, त्यसपछि मात्र बाँकी खाने । हिउँदको सुख्खा मौसममा तरकारी खानको लागि चिचिण्डा, लौका, कुभिण्डा, काउली चाना पारेर सुकाई राखिन्थ्यो । भदौ–असोजमा छरेको तोरी बेडाएर निकालेको साग, रायो र काउलीका पात टिपी गुन्द्रुक हालेर सुख्खा मौसमको लागि हरेक घरमा जोहो गरेको हुन्थ्यो । आलीमा लगाएको मासको दाल ज्वाइँ पाहुना आउँदा, चाडबाड र श्राद्धको लागि साँचेर राखेको हुन्थ्यो । चोखो खान र श्राद्धको लागि केराउ, बोडी साँचेर राखिन्थे । कात्तिकमा पाकेका पहँेला फर्सीमध्ये सबैभन्दा ठूलो फर्सी फागुनतिर फुटाएर वैशाखमा बारीमा रोप्नको लागि बियाँ साँचेर राखिन्थे । पाकेका काँक्रा खाएपछि बीउको लागि बियाँ मासिएला भनेर भित्तातिर छिटेर राखिन्थ्यो । तबपो घर घरजस्तो थियो । अनि घरमा मान्छे भोका हुँदैनथे ।

हिउँद लाग्नेबित्तिकै गहत, फापर र सुकेका अकबरे खुर्सानी र भएका घिउका टिन बोकेर बा, काका र दाजुहरु मधेस झर्थे । २ दिन लगाएर ढल्केबहर र चिसापानी गोदारसम्म पुगी गहतका गेडा, फापर, घिउ, अकबरे खुर्सानी, निबुवा र कागती पेलेर मज्जाले पकाई दहीजस्तै ढिक्का–ढिक्का हुने गरी जमाएको कालो अमिलोसँग साटेर एकभारी नँन र ग्यालिनमा मट्टीतेल झुन्ड्याएर ल्याउँथे । अनि गुलियोका लागि मुगिटारको फाँटमा लगाइने ग्यावारा उखुको सख्खर र दुई–चारमाना खुँदो जोहो गरेपछि एक वर्षको सबैकुराको तारतम्य मिल्थ्यो । हामीले केटाकेटी हुँदा नून, मट्टीतेल र सख्खरबाहेक अरु सामान किनेको थाहा पाएनौँ । त्यसैले पो घर घरजस्तो थियो अनि घरमा मान्छेहरु भोका हुँदैनथे ।

गाउँमा ऐँचोपैँचो चल्थ्यो । अहिलेको जस्तो सञ्चार प्रविधिको युग हैन । कुनघरमा कतिखेर पाहुना टुप्लुक्क आइपुग्ने हुन्, थाहा नहुने । त्यसैले आउनापाहुना र ऐँचोपैँचोको लागि भनेर एक–दुई पाथीचामल प्रायःले घरमा जोहो गरी राखेकै हुन्थे । आफ्नो घरमा टुटेको बेलामा पाहुना आइपुगे भने तल्लाघर, माख्लाघरबाट पैँचो ल्यायो । पकायो, खुवायो । अनि पाहुना बिदा ग¥यो । पाहुना बिदा गरेपछि धान कुट्यो, चामल बनायो । आफँलाई जोहो ग¥यो,पैँचो पनि ति¥यो । यतिसम्म कि कतिपयका घरमा दशैँमा कुटेका चिउरा गाग्रामा हाली टालेर राखेपछि असारमा झिकिन्थ्यो । तब पो गाउँ गाउँजस्तो थियो । घर घरजस्तो थियो, अनि घरका मान्छे भोका हुँदैनथे ।

गाउँमा आर्थिक अवस्था कमजोर भएका विपन्न मान्छेहरु नहुने हैनन्, हुन्थे । तर उनीहरु पनि घरमा भोकै मर्नुपर्दैनथ्यो । गाउँमा अनिकाल लाग्दा अन्न हुनेका घरबाट नहुनेहरुले लैजान्थे । बाली भित्र्याउनेबित्तिकै पहिलापैँचो ल्याएको ठाउँमा तिर्थे, बाँकीले घर चलाउँथे । तल्लो घरमा मही पार्दा माख्लाघरलाई चल्थ्यो । वल्लाघरमा मह काढ्दा पल्लो घरकाले चाका चाख्थे । एउटा घरमा सत्यनारायण र स्वस्थानीको पूजा लगाउँदा टोलभरि प्रसादी बाँडिन्थ्यो । तब पो गाउँमा आत्मीयता थियो, अपनत्व थियो ।अनिगाउँ र घरमा मानिसहरु भोकै मर्दैनथे ।

अहिले गाउँ गाउँजस्ता छैनन्, घर घरजस्ता छैनन् । माटाका घ्याम्पा फुटिसके । थोत्रा गाग्रा फोहोर भएर मिल्काइए । भूकम्पले बुइँगल मासिए । गाउँका मानिसहरुशहर झरे । घर खालि भए । घरको सह उड्यो । घ्याम्पाको चामल बोरामा स¥यो । गाग्राको सामान प्लास्टिकका थैलामा सरे । बजार र बजारमुखी अर्थतन्त्रले मानिसले उत्पादन गर्न छाडे । सामानको जोहो गर्न छाडे । पैसा भएपछि सबथोक आउँछ भन्ने मानसिकताले मानिसहरु ग्रसित भए । जतिखेर सकिन्छ, त्यतिनै बेला ल्याउँला भन्दै मानिसहरु अल्छे भए । यतिसम्म किभरे तरकारीमा हाल्ने नून सकिँदा पनि अहिले नल्याउने,भरेनै ल्याउँला भनेर बस्ने ।

एकजना ९० कटेर दृष्टि र श्रवणशक्तिसमेत अत्यन्त कमजोर भएका बालाई असह्य भएछ र भन्दै हुनुहुन्थ्यो, ‘हामीले सात दिनको बाटो नून बोकी ल्याएर पनि वर्षभरि अभाव हुन दिएनौँ । अहिले हप्ता–दश दिन बन्द हुँदा यस्तो नौटङ्की । बालाई के थाहा घरको सह उडेको कुरा, घु¥यानको बारी रुखो र घरको मान्छे भोकै हुन लागेको कुरा ।

अहिले कोरोनाको कारण लकडाउन हुँदा खाद्यसुरक्षाको संकट देखिएको छ । मानिसहरु अब के खानेहो भन्दै भौंतारिँदै छन् । हामी निकै विद्वान् र आधुनिक भयौँ भन्छौँ । कमाइधमाइगर्ने पनि भएका छौं तर तिनै गाउँले बँढापाका जत्तिको पनि चेत हाम्रो विकास भएको रहेनछ । उनीहरु जत्तिको पनि भविष्यद्रष्टा हुन सकेनौँ । अनि हामीले दुःख नपाए कसले पाउँछ त ?

प्रतिक्रिया दिनुहोस्