लकडाउनले महाकाली कोरिडोरको काम ठप्प



विनोदसिंह विष्ट, बैतडी ।

बन्दाबन्दीले गर्दा सुदूरपश्चिममा गौरवका आयोजनाका कामहरु ठप्प रहेका छन् । गौरवको आयोजनाका रुपमा लिइएको महाकाली कोरिडोरको काम लकडाउनले गर्दा प्रभावित भएको छ । कञ्चनपुरदेखि दार्चुला सदरमुकाम हुँदै टिंकरसम्म जोड्ने उक्त योजनाको काम प्रभावित भएको हो ।

कुल ६ खण्डमा सम्पन्न गरिने भनिएको सो काम सबै ठप्प रहेको योजना प्रमुख अच्युत पन्तले बताउनुभयो । २०८० मा सक्ने गरी जारी कामसमेत लक्ष्यअनुसार सकिनेमा आशंका रहेको छ ।

विकास निर्माणको काम द्रुत गतिमा हुने महिनामा लकडाउन हुँदा योजनाको सबै काम ठप्प छ । गत बिगतका वर्षहरुमा यो समयमा निकै बढी काम भइरहेको हुन्थ्यो उहाँले भन्नुभयो ‘यो वर्ष लकडाउनले गर्दा सबै रोकिएको छ।’

दार्चुलामा कार्यालय रहेको यस योजनाका दार्चुलादेखि कञ्चनपुरसम्म विभिन्न ६ प्याकेजमा काम गरिरहेको हो । ६ जना निर्माण व्यवसायीलाई ठेक्का दिएर काम भइरहेको थियो ।

तर लकडाउनले गर्दा सबै काम स्थगित भयो उहाँले भन्नुभयो– ‘काम ठप्प हुँदा सबै निर्माण व्यवसायी र मजदुर आ आफ्नो घरतिर लागेका छन् । कामको प्रगति एकदमै कम छ ।’

काम सुचारु गर्नका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमती मागेको भए पनि काम शुरु हुन अझै केही दिन लाग्ने प्रमुख पन्तले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अनुमती मागिएको छ,अब सबै निर्माण व्यवसायीलाई पत्राचार गरेर कार्यालयमा बोलाउँछौं, त्यसपछि काम अगाडि बढाउछौं ।

मजदुर पनि आ–आफ्नो घरतिर भएकाले निर्माण व्यवसायीले उनीहरुलाई बोलाएर काम थाल्नेछन् । कञ्चपुरदेखि दार्चुला तिंकरसम्म ४ सय २५ किलोमिटर निर्माण गरिने उक्त सडकको १ सय २५ किलोमिटर मात्रै ट्र्याक खुलेको छ । यसअघि ठेक्का भएका निर्माण व्यवसायीसंगको सम्झौता यसै वर्ष सकिन लागेको समेत उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘अब नयाँ बहुवर्षीय सम्झौता गरेर आगामी वर्षदेखि थप काम अगाडि बढ्छ ।’ उक्त याजनाको काम २०६६ सालदेखि शुरु भएको हो । महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक समृद्धि हुने आशा लिइएको छ । निर्माणको गतिले भने समयमै काम सम्पन्न हुनेमा आशंका थपिदिएको छ ।

कोरिडोरको काम सबैभन्दा बढी दार्चुलामा २ सय १२ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर, डडेल्धुरा ५८ किलोमिटर र कञ्चनपुरमा ११ किलोमिटर सडकखण्ड पर्दछ ।

कार्यालयका अनुसार हालसम्म ३३ करोडको लागतमा बैतडीमा ६२, दार्चुलामा ५२ र डडेल्धुरामा ११ किलोमिटर ट्र्याक खोलिएको छ ।

प्रतिक्रिया दिनुहोस्