मजदुरहरुको सम्मान गरौं



अहिले पनि मजदुरको परिभाषा फेरिएको छैन । मजदुर भन्नाले ज्यादै विपन्न वर्गका शारीरिक श्रम गर्ने व्यक्तिका रूपमा लिइन्छ । यो विल्कुलै गलत कुरा हो । अहिलेको परिस्थितिमा सीप, क्षमता र उच्च दक्षता भएका व्यक्तिलाई मजदुर भन्नुपर्ने भएको छ । सीप नभएका व्यक्ति मजदुर बन्न नसक्ने अवस्था आइसकेको छ । अहिले कुनै पुँजीपतिको विरोधमा ¥याली र जुलुस निकाल्नुपर्दैन । बरु पुँजीपतिहरूलाई उद्योग कलकारखाना खोल्न प्रेरित गर्नुपर्ने समय आइसकेको छ ।

बितेका केही दशकमा मजदुर र उद्योगीबीच द्वन्द्व बढेको थियो । मजदुरको समस्या उद्योगीले सम्बोधन नगर्ने र मजदुर युनियनका कारण उद्योग कलकारखाना सञ्चालन गर्न नसक्ने अवस्थाबीच द्वन्द्व बढी नै भए । उद्योगहरूमा बन्द, हडताल भइरहँदा मुलुकमा लोकतन्त्र स्थापना भइसक्दासमेत मजदुरहरूले लोकतन्त्रको अनुभूति गर्न सकेनन् । उद्योग, कलकारखानाहरूमा अहिले मजदुरको समस्या त्यति देखिँदैन, जति समस्या सरकारी कार्यालयमा छ । सरकारी कार्यालयहरूमा विभिन्न युनियनको राजनीतिका कारण सेवाग्राहीले सहज सेवा पाउन सकिरहेका छैनन् ।

नेपालमा मजदुर दिवस मनाइन थालेको यतिका वर्षसम्म पनि समाजले श्रम गर्नेहरूको उचित मूल्यांकन गर्न सकेको छैन । जहाँ श्रमको सम्मान र कदर हुन्छ, त्यहाँ नै समानता हुन्छ । देशलाई विकसित र समृद्ध बनाउन हरेक नागरिकको मनमा आत्मसम्मान र श्रमको सम्मान हुनै पर्छ । त्यसैले स्वदेशमै आत्मसम्मानपूर्वक श्रम गर्ने वातावरण सिर्जना गरी श्रमिक दिवस मनाउनु जरुरी देखिन्छ ।

– शेरबहादुर जोशी, दार्चुला ।

प्रतिक्रिया दिनुहोस्