कोरोना भाइरसः नेपालका लागि बन्न सक्छ अवसर



बद्री तिवारी

कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वका प्रायः सबै मुलुकमा प्रवेश गरेको छ भने अमेरिकी र युरोपेली मुलुकहरु यतिखेर यसबाट नराम्ररी प्रभावित भएका छन् । हालसम्म कुनै औषधि पत्ता लाग्न नसकेको यो महामारी नियन्त्रण गर्नका लागि व्यक्तिगत सरसफाइ र सावधानीबाहेक अन्य विकल्प फेला पर्न नसकेकै कारण खुल्ला विचरणमा प्रतिबन्ध अर्थात् ‘लकडाउन’ नै उत्तम विकल्पका रुपमा मानिएको छ । विश्वका धेरै मानिसलाई यो रोगभन्दा बढी मनोवैज्ञानिक त्रासले ग्रस्त पार्दै गएको छ भने आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा समग्र जीवनशैली पनि यसबाट अछूतो छैनन् ।

कोरोना भाइरसको महामारीको सिकार बन्नु नपरोस् तथा थप संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न सकियोस् भन्ने उद्देश्यले विभिन्न मुलुकले सबैभन्दा उपयुक्त उपायका रुपमा लकडाउन नै मानेर सोही रक्षात्मक विधि कार्यान्वयनमा ल्याएका छन् । वास्तवमा अहिले विश्वका अधिकांश मुलुकले आफ्ना सीमा नाकाहरु बन्द गरेर मानिसलाई आवतजावत गर्न तथा खुल्लारुपमा हिँडडुल गर्न प्रतिबन्ध नै लगाएका छन् । चीन, अस्ट्रेलियालगायतका मुलुकमा त प्रान्त÷राज्यहरु नै लकडाउन गरेका छन् भने कतिपय मुलुकले पूरै देशका सीमाहरु नै बन्द गरेका छन् ।

 

दैनिक उपभोग्य सामग्रीहरुको ढुवानी गर्ने साधन, अस्पताल, सुरक्षा निकाय र प्रेस तथा अन्य अत्यावश्यक सेवाबाहेकका सवारीसाधन ठप्प छन् । लकडाउनको जीवनशैली निश्चय नै हरेक दृष्टिले कष्टकर छ, तैपनि यो अवलम्बन नगरी धरै छैन । विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशनबमोजिम नै धेरै मुलुकलेयही उपायबाट महामारी नियन्त्रण गर्न सकेकाछन् ।

त्यति गर्दागर्दै पनि विभिन्न देशमा संक्रमणका घटनाहरु घट््दै जानुको सट्टा बढिरहेका छन् । यो लेख तयारपार्दासम्म वल्र्डोमिटरको पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमित हुनेहरुको संख्या झन्डै २४ लाख नाघेको छ भने जीवन गुमाउनेहरुको संख्या एकलाख ६५ हजार नाघेको छ । अमेरिका, स्पेन, इटाली, बेल्जियम, इरान, जर्मनी, नेदरल्यान्डस, रसिया, युके, फ्रान्सलगायतका देशहरुमा संक्रमित र मृतकहरुको संख्या दिन–प्रतिदिन बढिरहेकोले सर्वत्र मानसिक त्रास बढ्दो छ ।

कतिपय मुलुकहरु पूर्णरुपमा बन्द भएका छैनन् तर त्यहाँका नागरिकहरु आफैं सचेत बनेकाले रोग नियन्त्रणमै छ, तर अमेरिकाको न्युयोर्क, बेलायतको लन्डनलगायतका शहरहरु अहिले वास्तवमै समस्याग्रस्त छन् ।

हाम्रो देश नेपालको सन्दर्भमा कुरा गर्ने हो भने पूर्णरुपमा लकडाउन गरिएकै कारण कोरोना भाइरसको संक्रमण नियन्त्रणमै रहेको दाबी सरकारी पक्षको छ भने प्रतिपक्षी नेताहरु र सत्तापक्षकै केही नेता तथा कार्यकर्ताहरुले सरकारी कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्। पछिल्लो तथ्यांकलाई आधार मान्दा हालसम्म कोरोनाबाट संक्रमित हुनेहरुको संख्या कुल ३१ रहेकोमा ४ जना उपचारपछि घर फर्किसकेकाछन् ।

अन्य देशको तुलनामा हाम्रो देशमा यो महामारी नियन्त्रणबाहिर गएको छैन । अब सम्भव भएसम्म सरकारले बढी प्रभावित तथा शंकास्पद स्थानबाहेकका शहर तथा जिल्लाहरुमा लकडाउन खुकुलो बनाएर जनजीवन सामान्य बनाउने सम्भावना पनि छ । तर त्यसका लागि निश्चित दूरी कायम गर्ने, मास्क अनिवार्य र कार्यस्थल तथा ठाउँ–ठाउँमा स्यानिटाइजरको व्यवस्था गरी अनिवार्यरुपमा लागू गर्नुपर्दछ । कम्तीमा एकमहिनाभित्र मानिसको बानी व्यवहारमा पनि परिवर्तन भएकोले यो सहज पनि बन्न सक्छ । यद्यपि सार्वजनिक जमघटसँग सम्बन्धित सबैखालका काम र ठाउँहरु भने खुल्ला गर्ने बेला भइसकेको छैन ।

मुलुकमा उपलब्ध साधन–स्रोत जुटाएर तथा अपुग सामग्रीहरु विदेशबाट आयात गरेर पनि मानवीय मूल्यलाई प्राथमिकता दिने सरकारी नीतिलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । देशका ७७ वटै जिल्लामा यसबारे सजग गराएर चिकित्सक-स्वास्थ्यकर्मी र सेना, प्रहरीलगायतका सुरक्षाकर्मीलाई परिचालन गरी सरकारले रोग नियन्त्रणका लागि गरेको प्रयासलाई सराहनीय कदम नै मान्न सकिन्छ । नेपालमा कोरोनाबाट कसैले पनि जीवन नगुमाएको र अस्पताल भर्ना गरिएकाहरु मध्ये पनि केही निको भएर घर फर्किसकेका तथा उपचार गराइरहेकाहरुमध्ये पनि सबैको स्वास्थ्य अवस्था सामान्य रहनु भनेको सन्तोषजनक पक्ष हो ।

त्यसो भन्दैमा पुनः ढुक्क भएर बस्न सकिने अवस्था पनि छैन । किनकि सुरक्षाकर्मी तैनाथ गर्दागर्दै पनि खुल्ला सिमानाबाट छिमेकी मुलुक भारतबाट लुकिछिपी नेपाल छिर्नेहरुबाट जोखिम निम्तिएको छ । १६ जना कोरोना संक्रमित भएका बेला भारतबाट विभिन्न नाका हुँदै नेपाल छिरेका मुस्लिम समुदायकासमेत शनिबार एकैदिन १४ जना थपिएका थिए ।

नेपालमा भेटिएका कोरोना भाइरसका रोगी भनेका विदेशबाट नेपाल प्रवेश गरेका नेपालीहरु नै रहेकोले कम्तीमा पनि क्वारेन्टाइनमा बस्न लगाउने, लक्षण देखा परेमा ‘सेल्फ आइसोलेसन’मा बस्न लगाउने तथा सामाजिक-भौतिक दूरी कायम गर्नेलगायतका उपायबारे सचेत गराउने, रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन न्युज पोर्टल तथा सामाजिक सञ्जालहरुमार्फत सूचना सामग्रीहरु तथा विज्ञापन प्रकाशित गर्ने र माइकिङ गर्नेजस्ता गतिविधि गरिएको पाइन्छ । निश्चय नै लकडाउनका कारण मानिसहरुले धेरै दुःख पाएका छन् । भोकभोकै हिँडेर घर जान थालेका, सडकमै सुतिरहेका तथा राजधानीबाट घर जानका लागि गाडीको कुनै व्यवस्था नभएकाले पैदल नै चल्नुपरेकालगायतका कष्टहरुको वर्णन गरेर साध्य नै छैन ।

समन्वय र परिवर्तित सोचको अभाव

सरकारले बेरोजगार, न्यून आय भएका र असंगठित क्षेत्रका मजदुरहरुलाई यस्तो संकट परेको बेलामा राहत वितरण गरेर उनीहरुको उद्धार गर्न खोजे पनि समन्वयको अभावमा जश पाउनचाहिँ सकेको छैन । कोरोना भाइरस महामारी विपत् व्यवस्थापनका नाममा सरकारी ढुकुटी र कर्मचारी तथा विभिन्न तहका पदाधिकारीहरुको तलबबाट कटाएर संकलन गरेको ठूलो रकम खर्च भइरहेको छ, तर जसका लागि राहतको कार्यक्रम ल्याइयो तिनीहरु नै सुविधा पाउनबाट वञ्चित भएका घटनाहरु पनिप्रकाशमा आएका छन् । यस्तो हुनुको पछाडि संघीय, प्रादेशिक र स्थानीय सरकारवीच समन्वय हुन नसकेको स्पष्ट छ ।

लकडाउन भएपछि कोही पनि घरबाहिर निस्कन नपाउने नियम लागेकोले मानिसहरु जहाँ जुन अवस्थामा थिए त्यहीँ नै बस्ने भए । तर लामो समयसम्म रोजगारी गुमाउनुको पीडासँगै रोजीरोटी जुटाउनकठिन हुँदै गएपछि आफ्नो घर जान पाउनुपर्ने माग गरेबमोजिम सर्वोच्च अदालतले घर जान चाहनेलाई पु¥याउने व्यवस्था गरिदिनू भन्ने आदेश दिएपछि मात्र सरकार लचिलो भएको देखिन्छ । प्रधानमन्त्रीले निर्देशन जारी गरेपछि मात्र स्थानीय तह तथा केही संस्थाको सहयोगमा अलपत्र परेकाहरुलाई घर पु¥याउन थालिएको छ ।

अहिले सरकारी निर्देशन र सक्रियताबाटै अलपत्र पर्नेहरुको उद्धारका कार्य भएका समाचारहरु आउन थालेका छन् । यद्यपि समन्वय प्रभावकारी बन्न सकेको भने देखिँदैन,खान नपाउनेहरुलाईखाने व्यवस्था गर्नपनि प्रधानमन्त्रीले नै निर्देशन दिनुपर्ने भनेपछिसरकारी संयन्त्रको अवस्था कतिसम्म दयनीय रहेछ भनेर अनुमान लगाउन गाह्रो पर्दैन । यदि स्थानीय, प्रदेश र संघीय तहबीचमा समन्वय गर्ने तथा उद्धार कार्यका लागि संयन्त्र निर्माण गर्न सकिएको भए सरकार आलोचनाबाट जोगिन सक्थ्यो कि !

अर्को, खट्किएको कुरा भनेको समयको मागसँगै सोच÷दृष्टिकोण परिवर्तन भएको भएहामी आलोचित हुनबाट जोगिने थियौं । हुनपनि देशमा व्यवस्था बदलियो तर हाम्रो सोच बदलिएन, संविधान÷ऐनकानुन÷नियमहरु बदलिए तर कार्यान्वयनमा देखाउने सोच बदलिएन, आफूले गर्नसक्ने कामका लागि पनि आदेश कुरेर बस्नुपर्ने अवस्था आउनुलाई केवल विडम्बनासिवाय के नै भन्न सकिएला र ! त्यसैले यहाँ पद्धतिको विकास नै भएन भन्ने गरिएको होला । यस्तो संकटका बेलामा तीनै तहका सरकारको संयन्त्र तथा सञ्जाल निर्माण गरी प्रभावकारी समन्वय गर्न सकिएमा कुनै पनि कार्य सञ्चालनमा व्यक्तिभन्दा पद्धतिले काम गर्ने वातावरण बन्न सक्थ्यो भन्नेतर्फ ध्यान जानु आवश्यक नै भएको छ ।

विपत् व्यवस्थापनसँगै अवसरको खोजी
निश्चय नै यस्ता संकटले मुलुकलाई नोक्सान मात्रै पु¥याउँदैनन्, नीति–निर्माताहरुले दूरदृष्टि राख्न सकेमा संकटलाई अवसरका रुपमा उपयोग गर्न सकिन्छ । किनकि यतिखेर विपत् नै परिवर्तनको बाहक बन्न सक्छ । तुलनात्मकरुपमा अन्य मुलुकहरुमा भन्दा नेपालमा कोरोना भाइरसको संक्रमणका बिरामी कम रहेको र हालसम्म नियन्त्रण गर्न सकिएको अवस्थालाई हेर्दा नेपालले अबका दिनलाई आत्मनिर्भरताका लागि सदुपयोग गर्नसक्ने योजना निर्माण गर्नपट्टि ध्यान दिनुपर्छ । भूकम्पले हामीलाई भौतिक संरचनाको निर्माण÷पुनःनिर्माण, योजना तथा कार्यक्रम, रोजगारी तथा स्रोत परिचालनलगायतका विविध क्षेत्रमा पाठ सिकाएको छ । त्यस्तै अप्ठेरोमा परेका बेला भारतले लगाएको नाकाबन्दीबाट पनि राष्ट्रियता, स्वाभिमानको जागरणसँगै आवश्यकता पूरा गर्ने वैकल्पिक मार्गहरुको खोजी कसरी गर्न सकिन्छ भन्ने पाठ नेपालीले सिकेका छन् ।त्यस्तै संकटका पाठजस्तै कोरोना भाइरसले पनि हामीलाई राष्ट्र विकास र आत्मनिर्भरताका लागि राष्ट्रिय उत्पादन गर्ने वातावरण निर्माण गर्ने यही बेला हो भनेर घचघच्याएको छ । वास्तवमै हामीले आफ्नो क्षमतालाई चिन्ने र राष्ट्रका लागि त्यसलाई खर्चिनेउपयुक्त समय आएको महसुस गरी यस चुनौतीको घडीलाई अवसरमा परिणत गर्नसक्नुपर्छ । अनिमात्र हामी समयकोमाग तथा परिवर्तनसँगै अघि बढ्न सक्छौं ।
त्यसका लागि कृषिमा पर्याप्त लगानी, आधुनिक प्रविधि र उपकरणलाई भित्र्याएर नेपालको उर्वर भूमिलाई हराभराबनाउन सक्छौं ।त्यसैगरीकृषिमा आधारित उद्योगहरु जस्तै– खाद्यान्न उत्पादन तथा प्रशोधन, कपास खेती शुरु गरी मुलुकलाई आवश्यक पर्ने लत्ताकपडा उत्पादन, आप्mनो देशका लागि आवश्यक पर्ने कृषि औजार कारखाना, जडीबुटीजन्य औषधि उत्पादनलगायतका सञ्चालनमा रहेका तथा नयाँ उद्योगहरुखोल्नसकेमा नेपाली युवालाई रोजगारी पनि दिन सकिने, स्वदेशी सीप र ज्ञान स्वदेशमै खपत गर्ने मौका पनि यही हो । यी त भए केही सतही विकल्पहरु, वास्तवमै मानिसका लागि आवश्यक पर्ने वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने उद्योगहरु खोल्नका लागि पर्याप्त मात्रामा अध्ययन तथा सर्वेक्षण गरी शुरु गरिहाल्नु आवश्यक छ ।
शुरुका वर्षहरुमा अलिकति यो कार्य चुनौतीपूर्ण बन्न सक्छ तर पछि सहज बन्दै जान्छ । यस्तोे अवस्थामा अन्य मुलुकले उत्पादन, निर्याततथा बिक्री वितरण गर्नसक्ने अवस्था नभएकोले पनि उपभोक्ताले खोजी–खोजीनेपाली उत्पादन तथा सेवा नै प्रयोग गर्नेमा ढुक्क बन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्