बेलायतको एक निजी अस्पतालमा कार्यरत नेपाली नर्सको डायरी



जानु काम्बाङ लिम्बू । 

न निद्रा, न भोक, न मनमा शान्ति कस्तो कस्तो लागिरहेको छ । अस्पतालको एउटा ठुलो कोठामा चार जना केटी सुतेका छौँ । हेर्छु, साथीहरू मस्त निद्रामा छन् । ओछ्यान पस्नुअघि साथीहरूले गरेको हल्ला र ओछ्यान फेरिनुलाई निद्रा नलाग्नुको कारण बताउँछु साथीहरूलाई तर मनमा भने अर्कै थियो निद्रा नालाग्नुको कारण ।

हामीले काम गरिरहेको अस्पतालमा आजको मितिसम्म (कोभिड–१९) कोरोना भाइरस माहामारीका कारण जीवन गुमाउनेको संख्या चार पुगिसकेको छ भने संक्रमित संख्या १३ पुगिसकेको छ । यसमा संक्रमित नर्स स्टाफहरूको संख्या भने जोडेको छुइनँ कारण कति नर्सहरू आफैँ दीर्घरोगी भएका र तीमध्येका केहीको परिवारमा आमा–बाबालाई सुगर र आस्माको रोग भएकोले काम गर्न असमर्थ रहेको भन्दै उनीहरू होम क्वारेन्टाइनमा बसिरहेका थिए । चार जना नेपाली र केही फिलिपिनी नर्सहरू भने साँच्चै नै संग्क्रमित छन् । म र केही मेरा केही साथीहरू भने सुरक्षित नै छौँ आजसम्म । अस्पतालबाट आफ्नो डिउटी सकेर घर जानु घरपरिवारका लागि ठुलो खतरा हो भन्ने ठानेर हामीले कनलाई दरो बनाएर अस्पतालमा नै बास बस्न थालेका छौँ केही दिनदेखि ।

हामीले काम गर्ने अस्पताल प्राइभेट भएको र उहाँ अलिक धनी खालका बिरामीहरू मात्र आउने भएकाले हामी सुरक्षित भएका हौँला सम्झँदै आफ्नो कर्तव्य निर्वाह गरिरहेका बेला अस्पतालका धेरैजसो स्टाफहरू घर विदामा बस्न थालेपछि भने हामीलाई कामको चाप बढ्दै गएको छ । हुँदाहुँदै छ जनाले गर्ने काम अब चार जनाले चारदेखि तीन तीनदेखि दुई जनाले गर्नुपर्ने हुन थाल्यो ।

अस्पतालमा उपचाररत बिरामीहरूमा हल्का लक्षण देखा परेको हामीलाई थाहा हुँदै गयो तर परीक्षणको परिणाम नआएसम्म रूघाखोकी होला भन्दै काम गरिरह्यौँ । सुरू सुरूमा हामीसँग पीपीई पनि थिएन, अस्पतालले नै यस्तो विपत्ति पहिलोपल्ट भोग्दै गरेकोले
पूर्व तयारी थिएन भन्नु उचित होला सायद १ बिस्तारै बिस्तारै बाहिरका समाचार र यहाँका बिरामीहरूको अवस्था देखेर हामीलाई पीपीई उपलब्ध गरायो व्यवस्थापनले ।

त्यसपछि हामीले पीपीई प्रयोग गरेर काम गर्दै परीक्षणको नतिजाको प्रतीक्षा गर्न थाल्यौँ । हामीले यति धेरै प्रार्थना गरेका थियौँ कि मनमनै ती परीक्षणहरू नेगेटिभ आऊन् तर हाम्रो प्रार्थनाले मात्रै के हुन्थ्यो र परीक्षणका सबै नतिजा पोजेटिभ आयो । हामीले प्रत्यक्ष हेरिरहेका बिरामीहरूको नतिजा पोजेटिभ आएपछि अलमलमा पर्‍यौँ हामी । पीपीईभित्र गुम्सिएको अनुहारमा एकाएक झरेका तरल बस्तु हाम्रा आँखाबाट बगेका आँसु हुन् वा पसिना थाहै नहुने अवस्था पनि आयो । परीक्षणको नतिजा पोजेटिभ आउँछ र हामी अस्पतालमै बस्नुपर्छ भनेर कसले सोचेको थियो र १ नसोचेको परिस्थिति आइलाग्यो । साथीहरू जम्मै डरले थरथर काम्न थाले । हरियो निलो भए ।

यसैबिच अर्को एउटा नमिठो घटनाको अनुभूति गर्नुपर्‍यो मैले । कामबाट घर पुग्दा मसँगै मेरो घरमा बस्ने बडाबाबा, बडीआमा र उहाँहरूको छोराको आँखामा मैले अज्ञात भय देखेँ । मलाई परैबाट हेर्दा नै उहाँहरूको मुहार भयग्रस्त देखेँ । मेरो कारण उहाँहरू आफूलाई सुरक्षित महसुस गरिरहेको उनीहरूका आँखाले बताइरहेको थियो । म  उनीहरूबाट जति सक्दो टाढा रहन कोसिस गर्दै थिएँ तर अस्पतालका बिरामीहरूको नतिजा कोरोना पोजेटिभ आएको मात्रै नभएर केहीको कोरोनाका कारणले मृत्युसमेत भइसकेको कुराउहाँहरूलाई सुनाउने हिम्मतसमेत आएन ममा । सम्पूर्ण शरीर ढाक्ने पीपीई लगाएर म घर पुगेको म त्यसै साँझ आफूलाई अत्यावश्यक पर्ने सरसामन झोलामा हालेर अस्पताल हिँडे र अस्पतालमै बस्न थालेँ । अहिले केही साथीहरूसँग अस्पतालमै बस्दैछु ।

कोरोना लागेका बिमारीहरूलाई छुट्टै राखेर व्यारियर नर्सिङ्ग गरिरहेका छौँ । उनीहरूले खाने पिउने थालबटुका, गिलास लगायत खानाहरू सबै कागजको डिस्पोजलमा प्याक भएर आउँछन् । हामीले हदैसम्मको सुरक्षा सामग्री प्रयोग गरेर उनीहरूको हेरचार गरिरहेका छौँ । औषधिमा पारासिटामोल बाहेक केही दिने अधिकार छैन हामीलाई र त्योभन्दा अर्को दबाई छैन पनि । बिरामीहरूमा ज्वरो बिहानभन्दा बेलुकी बढेको देखिन्छ । बिरामीमा ज्वरो घरि सामान्य हुन्छ, घरि बढी नै तातिन्छ । खोकी कसैलाई छ, कसैलाई छैन । मैले देखेको र अनुभव गरेको कुरो जसले खानु पिउनुमा बल गर्छन् ती बिरामीहरूमा निको हुने संभावना धेरै देखियो । खाना पिउन छाड्नेहरूलाई चाहिँ कोरोनाले लगिरहेको छ । यसबाट मलाई के लाग्यो भने कोरोना रोग लाग्दैमा आत्तिहाल्नु हुँदैन रहेछ । आत्मबल बलियो बनाएर खाना पिउनमा बल गर्नुपर्ने रहेछ । यसो गरेमा कोरोनाले हत्तपत्त बिरामीलाई गलाउन नसक्ने रहेछ । हामीले हेरिरहेका बिरामीहरूलाई लक्षण देखिएको निकै दिन भइसक्यो । केही त बिति पनि सके तर जो आत्मबल कमजोर भएका छन् र कोरो लाग्यो भन्ने थाहा पाउना साथ आत्तिन्छन् तिनलाई नै कोरोनाले सबभन्दा पहिलो सिकार बनाउने रहेछ । हाम्रो लागि यो समय एकदम कठिन छ ।

अस्पतालको बसाइ निकै कस्टकर लाग्छ तर पनि बसेका छौँ । आत्मबल बलियो बनाएर आफ्नो पेसागत कर्तव्य पालना गरिरहेका छौँ । हामीले भोगिरहेको यो कठिन समयलाई माइतीघर र कर्मघर होइन, एउटा सिपाहीको युद्ध मैदान ठानेर काम गर्दैछौँ, किनकि कोरोना संक्रमित बिरामीको कोठाबाट बाहिर निस्कँदा निकै ठुलै युद्ध जितेर निस्केको महसुस हुन्छ । अनि आफूले लगाएको पीपीई उतार्दा राईफल, कम्ब्याट र युद्धमा चाहिने अन्य विभिन्न सैन्यसामग्रीहरू शरीरबाट उतारेर थकाई मार्न बसेझैँ हल्का र आनन्द महसुस हुन्छ । एकदम कठिन छ यो समय बाह्र घन्टा पीपीई लगाएर साँझ खोल्दा अनुहारमा निलडाम बसेको हुन्छ, जति नै हिम्मतिलो बन्छु भनेपनि कताकता मनमा डर टाँसिएर बसेकै हुन्छ । सुतिरहेको बेला साधारण खोकी या हाच्छुऊँ आए पनि ‘ला है मलाई पनि? ’ भन्ने शंकाले मन अतालिन्छ ।

सजिलो छैन अस्पतालमा बसेर काम गर्न तर पनि हाम्रो सेवा पाइरहेका बिरामीहरूले ‘धन्यावाद’ भन्दै मुस्कुराउँदा मनमा मिठो आनन्द मिल्छ । उनीहरूका आँखाबाट बगेका आँसु पनि हाम्रा लागि आशीर्वादझैँ लाग्छ । आजभोलि मलाई लागिरहेछ कि सरकारले कोभिड–१९ लागेका बिरामीहरूको हेरचार गर्दागर्दै रोग सरेर मृत्यु वरण गर्ने सबै स्वास्थ्यकर्मीहरूलाई युद्धमैदानमा वीरगति प्राप्त गर्ने सिपाहीहरूलाई जस्तै सम्मान गर्नु पर्छ । विश्वले सयौँ डाक्टर र नर्सहरू   माइसकेको छ । गरिब देशमा त झन् एउटा डाक्टर र नर्स उत्पादन गर्न थुप्रै लगानी गर्नु पर्छ । निजी रूपमा परिवारले, कतिले घरबार नै बेच्नु पर्छ्र यसरी उत्पादन गरेका डाक्टर नर्सहरू गुमाउनु युद्धमैदानमा सिपाही गुमाएर बाँकी युद्ध हार्नु जस्तै हो भन्ने लागेको छ ।

यतिबेला यो क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरूले पनि सिपाहीले घरपरिवार छाडेर युद्ध लड्न हिँडे जसरी हिँड्नु परेको छ, घरपरिवारलाई संक्रमण नहोस् भनेर । हो, हामी घरपरिवार छाडेर युद्धभूमिमा बसिरहेका छौँ । रातभर निद्रा नपरेपनि कमसेकम हाम्रा परिवार त सुरक्षित छन् भन्ने सोँचाइले भने ऊर्जा थपिरहेको छ मनमा । यस्तै छ यहाँ हाम्रो हालत तर मन र शरीरमा थकान महसुस भएको छैन । त्यसैले हामी चाहिँ अहिलेसम्म सुरक्षित छौँ भन्छु ।

नेपाल लगायत अन्य विभिन्न देशमा छरिएर रहनुभएका नेपालीहरू सबै सुरक्षित रहनुस् । सकेसम्म शरीरलाई न्यानो राख्नुस् । मुख सुक्नबाट बचाउन तातोपानी पिई रहनुस्, काम सकेर या बाहिरबाट फर्केपछि लगाएको कपडा बाहिरै धुनुस् अनि मज्जाले साबुन लाएर तातोपानीले जिउ पखाल्नुस् । हात निरन्तर धुनुस् तर हातले आफ्नो अनुहार नछुनुस् । स्वस्थ्य र सुखी रहनुस् सबैमा शुभकामना ।

(लेखिका बेलायतको अक्सफोर्ड नजिकैको एउटा निजी अस्पतालमा कार्यरत नेपाली नर्स हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्