कोभिड-१९ संगको प्रत्यक्ष अनुभव- ‘हामीले हरेस नखाऊँ ! जीत हाम्रै हुनेछ’



हरि खनाल

यतिखेर कोरोना भाइरस अर्थात कोभिड-१९ को महामारीका कारण सिङ्गो विश्व नै आक्रान्त बनेको छ। गत वर्षको अन्त्यतिर महाशक्ति राष्ट्र चिनको हुआन शहरमा देखा परेको यो भाइरसबाट अपवादको रूपमा एक-दुइवटा बाहेक अन्य कुनै पनि राष्ट्रहरू अछुतो रहन सकेनन्। दैनिक रूपमा कोभिड-१९ को संक्रमणबाट पिडित हुने र मर्नेहरूको संख्या दिनमा दुई गुणा र रातमा चार गुणाको दरले बढ्ने क्रम जारी छ।

कोभिड-१९ ले कुन बेला कसलाई गाँज्छ र कसको ज्यान लिन्छ भन्ने कुरा कसैको बहसको विषय भएन्। यसले आफ्नो सामु परेको जो-कोहीलाई छोड्नेवाला छैन् र यो अदृश्य शत्रुको रूपमा विश्वभरी ध्वंश मच्चाउन उद्धत देखिएको छ । अहिलेसम्म यो रोगलाई समुल रूपले नष्ट गर्ने नत् कुनै ओखती पत्ता लागेको छ नकि कुनै खोपनै। यसबाट जोगिन सबैले जनस्वास्थ्यका आधारभूत नियमहरूको अक्षरस पालना गर्नु बाहेक तत्कालका लागि हामीसँग कुनै अर्को विकल्प नै रहेन।

अनेकन सतर्कता र होशियारी अपनाइरहँदा पनि यो रोगले विश्वभरका दशौं लाख मानिस संक्रमित बनेका छन् अनि लाखौंको ज्यान गइसकेको छ। यस्तै तरहले यो तिब्र गतिमा फैलने क्रममा अन्ततस् यो रोगले म र मेरो परिवारलाई समेत आक्रमण गरेरै छोड्यो। तथापि पनि हामीले आफूलाई भाग्यमानी ठान्नु पर्छ, मेरो परिवारले कोभिड-१९ संगको अघोषित युद्ध जितेरै छोड्यौ जुन कुरा सबैको जानकारीको लागि निम्न प्रकार प्रस्तुत गर्ने अनुमति चहान्छु ।

म र मेरी श्रीमती यसोदा अरूबेला जस्तै नियमित रूपले काममा गइरहेकै थियौ। कुरा गत २७ मार्च, शुक्रबार बेलुकीको हो, कामबाट घर फर्किएसँगै मलाई हल्का घाँटी खस्खसाउन थाल्यो र खोकी पनि लाग्यो। शनिबार र आईतबार अर्थात मार्च २८ र २९ मेरो नियमित विदा परेकाले नानिहरूसंग घरमै आराम गरेर बसें। श्रीमती यसोदाले भने शनिबार र आइतबार दुवै दिन काम गरेकी थिइन्।

मलाई भने कम्मरभन्दा मुनिको भाग जीउ कर-कर दुस्खीरहेको र भत्भति पोलिरहेको थियो। श्रीमती यसोदाले पनि आइतबार बेलुकी कामबाट फर्किएपछि त्यसरीनै जीउ दुस्खेको र पोलेको कुरा सुनाउदा मेरो मनमा शंका बढेर गयो।

उता सोही दिन राती मेरी ८ वर्षीय छोरीलाई अत्यधिक ज्वरो आयो। १४ वर्षीय छोराले पनि सोमबार अर्थात् मार्च ३० को बिहान दुवै आँखाको तल र माथिको भाग अनि छाती समेत दुस्खेको कुरा बताए पछि मनको संत्रास झन् झन् बढेर गयो। दुवै छोरा-छोरीमा विमारका यस्ता संकेतहरू देखिए पछि मैले सोही दिन बिहान करिब १० बजेतिर नानीहरूकै चिकित्सकसँग सम्पर्क गरी ज्वरो र दुस्खाई कम गर्ने औषधी लेख्न अनुरोध गरे। मैले चिकित्सकको सुझाव अनुसारनै फार्मेसीबाट औषधी ल्याएर नानीहरूलाई खान दिएँ, औषधीले ज्वरो र दुस्खाई कम गर्न राम्रैसँग सहयोग गर्यो।आवश्यकता अनुसार दुवै छोरा-छोरीलाई औषधी खुवाई रह्यौ, अप्रिल १ सम्ममा दुवै छोरा-छोरीका लक्षणहरू हराएर गएका थिए।

परन्तु, हामी श्रीमान-श्रीमतीलाई भने जीउ दुस्खने र पोल्ने कुराले सताई रहेको थियो। यतिकैमा हामीले पनि मार्च ३१ मंगलबारका दिन दिउँसो फोन सम्पर्क मार्फत पारिवारिक चिकित्सकसँग कुराकानी गरी आफ्ना सबै लक्षणहरूको बारेमा परामर्श गर्यौ। हाम्रो कुरा सुनेपछि चिकित्सकद्वारा हामीलाई कोभिड(१९ सम्बन्धी मार्गदर्शनको पूर्ण पालना गरी घरमै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाइएको थियो।

यद्यपि, ती चिकित्सकले श्रीमती यसोदालाई भने उनले आफू काम गर्ने अस्पतालले कोभिड -१९ को परिक्षण गर्छ कि भनि सम्पर्क गर्न सुझाएको हुँदा सोही दिन सम्पर्क गरी उनको परिक्षण समेत गरिएको थियो। त्यसको भोलिपल्ट १ अप्रिलको दिन परिक्षणको नतिजा अनुसार श्रीमतीलाई कोभिड-१९ भएको खबर अस्पतालले जानकारी गराउँदै सेल्फ क्वारेन्टाइनमा बस्न सुझाव गर्यो।

यसको लगतै मैले पुनस् छोरा-छोरी र आफ्नो चिकित्सकसँग सम्पर्क गरी श्रीमतीको परिक्षणको नतिजाबारे जानकारी गराउँदा परिवारका अन्य सबै सदस्यहरूको जाँच गर्न पर्याप्त सामग्री नभएको तर सबैले संक्रमित भएकै सरह ठानेर सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने सुझाव गरियो। दुवै चिकित्सकले समय समयमा सम्पर्क गरी लक्षणहरूको बारेमा नियमित जानकारी गराउन सुझाएको हुँदा हामीले पनि सोही अनुरूप उनीहरूसँग सम्पर्कमा रहिरह्यौ।

एकातिर संसारभरि हरेक दिन कोभिड-१९ को संक्रमणबाट हजारौंको ज्यान गइरहेको समयमा यसको संक्रमण आफ्नो परिवारसम्म आएको पुष्टी भए पछि हामीलाई कति ठूलो आत्तेस आई लाग्यो भन्ने कुरा सपना थियो या विपना भनेर अहिले पनि छुट्याउन गाह्रो भैरहेको छ। त्यतिखेर हामीलाई अँधेरी रातमा अग्लो भीरबाट सपरिवार एकैसाथ कहिल्यै नफर्कने गरी हामफाले जस्तो महशुस भएको थियो।

यद्यपि, कोरोना लागेका लाखौं ब्यक्तिहरू सेल्फ क्वारेन्टाइन पछि संक्रमण मुक्त भएर पहिलेकै रूपमा जीवन बिताउन थालेका उदाहरणहरू पनि प्रसस्तै छन्। कोभिड-१९ को संक्रमणबाट सिकिस्त बनेर अस्पताल भर्ना भएका मानिसहरू समेत उपचारपछि घर फर्केर सामान्य जीवन बिताउन थालेका हजारौं, लाखौं दृष्टान्तहरूले मलाई हतास नबन्न र हरेस नखान उत्साहित गरिरहन्थ्यो । अन्ततस् यही उत्साहको कारण आफ्नो स्वास्थ्यको पनि ख्याल गर्दै र परिवार सदस्यहरूको मनलाई पनि दह्रो पार्दै यो रोगसँग डटेर लड्नु पर्छ भन्ने लाग्यो र सबै डर र त्रासलाई फालेर सोही अनुसार लड्ने पारिवारिक माहोल स्थापित गर्नमा मलाई एक प्रकारको सफलता मिल्यो ।

मेरो परिवारलाई राम्रसँग थाह थियो कि हालसम्म कोभिड-१९ को रोकथाम वा नियन्त्रण गर्न कुनै ओखती वा खोप पत्ता लागेको छैन्। त्यसैले यो रोगबाट बच्न एक मात्र विकल्पको रूपमा हामीले जन-स्वास्थ्यका आधारभूत नियमहरूको पूर्ण रूपमा पालना गर्यौ।

यो रोगले संक्रमित भएका विश्वका अन्य धेरै शहरहरूको उदाहरण र अनुभवहरूले पनि हामीलाई यही कुरा सिकाएको छ। कोभिड-१९ को संक्रमणबाट पूर्ण रूपमा मुक्त भएर पूर्ववत रूपमा सामान्य जीवनमा फर्कनको लागि हामीले क्रमश:

१. सामाजिक एवं भौतिक पृथकीकरण (Social & Physical Distancing),

२. व्यक्तिगत सरसफाई (Personal Hygine),

३० कोभिड(१९ बिरुद्ध लड्ने पारिवारिक अठोट (Family Determination to Fight Against COVID-19) र,

४० स्वास्थ्य खानपिन (Healthy Eating)

जस्ता कुराहरू अक्षरस पालना गर्यौ।

उदाहरणको लागि हामी परिवार सदस्यबीचमा पनि बिगत तीनसाता भन्दा पनि बढी समय देखि ६ फीटको दुरी कायम गर्दै आइरहेका छौ भने व्यक्तिगत सरसफाइमा अघि पछिको तुलनामा अत्यधिक मात्रमा ध्यान दिने गरेका छौ। हामीलाई अब त जे छोए पनि साबुन पानीले हात धुने नियमित बानी नै बस्यो।

यस्तै खोकी लाग्दा वा हाच्छ्यौ गर्दा पेपर टावल प्रयोग गर्ने वा हातको कुहिनुको भित्रि भागले राम्ररी ढाक्ने या त् फेस मास्क प्रयोग गर्ने, अनि खानापिनको समयमा पनि आ-आफ्नो थाल बटुका प्रयोग गर्ने, अलग-अलग बसेर खाने र अरूले प्रयोग गरेको कुनै पनि सामग्री सफा नगरी पुनस् प्रयोग नगर्ने जस्ता कुराहरूमा परिवारका सबै सदस्यले जहिले पनि ध्यान पुर्याउने काम भइनै रह्यो।

यस्तै रोगसँग लड्नको लागि परिवारमा सबैको आत्माबल दह्रो बनाउने र एकले अर्काको अवस्था कस्तो छ भनी बारम्बार सुझ-बुझ गरी आवश्यक सहयोग गर्ने सामाजिक परिपाटी नै बसाल्यौ। यसका अतिरिक्त यस्तो बेलामा शारीरिक उर्जा अति आवश्यक हुने भएका कारण हामीले खान-पिनमा पनि विशेष ध्यान दियौं। कोभिड-१९ को संक्रमणका कारण खानाको स्वाद हराएको भए तापनि हरेक दिन अनिवार्य रूपमा कम्तिमा तीन पल्टसम्म शुद्ध खाना खाने बानी बसाल्यौ।

खाने कुराहरूमा सुबिधा अनुसार बिभिन्न फलफुल, घरमै बनाएको ताजा दाल-भात, तरकारी, सुखा रोटी, प्रसस्त मात्रामा गेडागुडीको सुप, तुलसीको पत्ता वा थोरै भए पनि मौरीको मह राखेर उमालेको गरम पानी, मिठो भए वा नभए पनि ज्वानो, अदुवा, लसुन आदिको झोल नियमित रूपले पिउने काम गर्यौ। यसका अतिरिक्त लालचनको फूल पानीमा उमालेर हल्का महसमेत राखेर दिनमा दुई तीन पल्ट नियमित रूपले पिउने, स्वास-प्रस्वास्मा समस्या नआवोस् भनी उमालेको पानीमा भिक्स अथवा सन्चो प्रयोग गरी वा नभए पानीको मात्र भए पनि हरेक दिन बेलुकी बाफ लिने काम गर्यौ।

यसैगरी चिकत्सकहरूको सल्लहा अनुसार औषधी पसलबाट किनेर खोकीको लागि डेलसियम झोल औषधी र ज्वरोको लागि टाइलिनल  आवश्यकता अनुसार सेवन गर्यौ। सबै भन्दा मुख्य कुरा हामी कोही पनि घरबाट बाहिर निस्किएर अन्य मानिससँग घुलमेल गरेनौ जसका कारण हामीबाट अरू कोही पनि व्याक्ति संक्रमित हुनु परेन।

मैले माथिका पंक्तिहरूमा उल्लेख गरेका कतिपय घरेलु उपचारका विधीहरूले चिकित्साकीय पद्धति अनुसार कोभिड(१९ लाई ठिक गर्छ भन्ने आधारहरू नभए तापनि यसले अप्रत्यक्ष रूपले यो रोगसँग लड्नको लागि उर्जा थप्ने काम गरेको मेरो व्यक्तिगत अनुभव सुनाउन पाउँदा एक प्रकारले खुशी पनि लागेको छ। मेरो परिवार प्रयोग गरेका यी र यस्ता अन्य घरेलु उपचारका विधिहरूले कोभिड(१९ लाई नियन्त्रण र रोकथाम गर्न नसक्ने भए तापनि हामीलाई रोगसँग लड्नको लागि पक्कै पनि शारीरिक उर्जा थप्ने काम गरेको छ। हामीले प्रयोग गरेका कुनै पनि विधीहरूले बेफाइदा गर्दैन भन्ने व्यक्तिगत आशय हो। यद्धपि, कतिपय मानिसहरूलाई बिभिन्न चिजहरूले एलर्जी हुने वा अतिरिकित असर गर्ने भएकाले त्यस्तो समस्या हुनेहरूले त्यस्ता कुनै पनि घरेलु विधीहरू प्रयोग नगर्नु होला भन्ने सुझाव पनि दिन चाहन्छु ।

अन्त्यमा सबै पाठकरस्रोताहरूमा तपाइहरू जुन ठाउँमा हुनुहुन्छ कृपया सुरक्षित रहने उपायहरू अवलम्बन गर्नु होला। यो महामारीको बेलामा आफू पनि बाँचेर अरूलाई पनि बँचाउनको निम्ति स्वास्थ्य सूरक्षाका मार्गदर्शनहरू पालना गर्नु सबै सचेत नागरिकको कर्तब्य हो। यदि हामीले सबै कुरा ठीकसँग पालना गर्ने हो भने रोग लागेर पनि निको हुन सकिने रहेछ। कृपया हामी कसैले पनि हरेस नखाऊ, होशियारी अपनाए जीत हाम्रै हुनेछ।

नोट:

यसका लेखक खनाल पूर्व भूटानी शरणार्थी हुन्। उनि तेस्रो देश पुनर्स्थापन कार्यक्रम अन्तर्गत सन् २००८ मा अमेरिकाको मेसाचुसेट्स राज्य अन्तर्गत स्प्रिङ्ग फिल्डमा पुनर्स्थापित भएका थिए । लेखक खनाल उनी बसेको राज्यद्वारा मान्यता प्राप्त सामुदायिक स्वास्थ्य कर्मीको रूपमा केयरिङ्ग हेल्थ सेन्टरमा कार्यरत छन् । उनि स्थानिय सामुदायिक संस्था भूट्निज सोसाइटी अफ वेस्टर्न मेसाचुसेट्सको संस्थापक अध्यक्ष हुन् भने सो संस्थाको संचालक समितिको वर्तमान सभापति पनि हुन् । 

प्रतिक्रिया दिनुहोस्