कोरोनाको त्रासले सिर्जिएको अवसर



जीवन लामा

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुन नदिन गत चैत्र ११ गतेदेखि सरकारले लकडाउन घोषणा ग¥यो । लकडाउन घोषणा हुनुअघि नै काठमाडौं या विदेशबाट मान्छेहरु रातारात गाउँ फर्के । शहर नै सुनसान भयो होला भन्ने गरी मान्छेहरुले गाउँ भरिन थाल्यो । गाडीमा यात्रुहरुको चाप देख्दा दशैं–तिहारको झल्को दिन्थ्यो । यो क्रम लकडाउनपछि पनि निरन्तर चलिरह्यो । अहिले पनि बिरामी वा मृतकको आफन्तलाई भेट्ने लगायतका बहानामा गाउँ फर्किनेको लर्को छ ।

आधिकारिक तथ्याङ्क नभए तापनि ६० प्रतिशत मान्छे गाउँ फर्केको अनुमान लाउन सकिन्छ । गाउँमा पुग्दा अहिले कुनै मेला, पर्व या उत्सवको झल्को दिन्छ । मान्छेहरु बिहानदेखि नै भेला हुने, गफगाफ गर्ने, खसी काट्ने गर्छन् । र, रमाइलो गर्न थालेका छन् । वर्षौंदेखि विदेशिएकाहरुको जमघट हो यो । गाउँमा वर्षांैदेखि पाइला नटेकेकाहरुको भेटघाट हो । हिजोको दिनमा गाउँको समस्या भोगेर कहिल्यै नफर्किने गरी कसम खाएर बाहिरिएकाहरु पनि ज्यानको मायाले फर्केका छन् ।

‘जननी जन्मभूमिश्च स्वर्गदपि गरियसी’ भनेझैँ ज्यानको माया जो–कोहीलाई लाग्नु स्वाभाविक हो । ज्यानभन्दा अरु न धन हुन सक्छ, न सम्पत्ति नै । कोभिड–१९ को संक्रमणले विश्वव्यापी रुप लिइरहँदा विदेशमा भएकाहरु स्वदेशमा, शहरमा भएकाहरु गाउँमा फर्केका छन् । कतिपय त अहिले पनि रातारात गरेर फर्किन थालेका छन् । गाउँमा जतिसुकै खान, लाउन नपाए तापनि बाँच्ने आशले फर्केका हुन् ।

यति बेला बालबालिकाको शिक्षा, अभिभावकहरुको रोजगारी, व्यापार, व्यवसाय सबै बिर्सेर गाउँ फर्केका हुन् । बाँचे अर्को साल कमाउँला भन्ने बुझाइ हुन थालेको छ सबैमा । हिजोको दिनमा बूढाबूढी बाआमालाई एक गाग्री पानी ल्याइदिने कोही भेटिन्नथ्यो । ज्वरो आउँदा मेडिकलबाट सिटामोल ल्याइदिने मान्छेको अभाव थियो । करेसाबारीको सागसँगै पलाएको झार गोड्ने मान्छे भेट्न गाह्रो थियो । एक हल गोरु जोतिएको दिनको २ हजार ज्याला दिँदा मान्छे भेटिँदैनथ्यो ।

आफ्नो घरको काम मात्र होइन, अहिले छिमेकीसँग पर्म लाउनसमेत परिवारले भ्याएका छन् । बाँझो खेतबारी खनजोत, मलजल गरेर बाली लाउन ठिक्क पारेका छन् । शहरमा अर्गानिक खान ठूला–ठूला रेस्टुरेन्ट धाउनेहरुले अहिले आफ्नै बारीमा पाएका छन् । चैतको दिनमा हरियो रायो, फापरको साग मनग्गे छ । बाआमाले भकारीमा थन्क्याएको धान अहिले सन्तानको लागि भटाभट मिलमा कुट्न थालेका छन् । लोकल कुखुराको मासुले दिनैपिच्छे छाक टारेको छ ।

काली भैंसीको मोही र भुटेको मकै–भटमासले खाजा टरेको छ । गाउँमै अर्गानिक खानपिनको व्यवस्था भएपछि शहर फर्किन गाह्रो मानिरहेका छन् । स्कुले बालबालिकाहरु गाउँकै हरियालीमा भुल्न थालेका छन् । बिहान उठेदेखि बेलुकीसम्मको गाउँको रमाइलो यादले दिन कटेको पत्तै छैन । शहरमा कोठामा भएका सामानहरु कतिले गाउँमै लिएर आएका छन् । गाउँमा सबैसँगको भेटघाट, पारिवारिक कुराकानीले गर्दा धेरैलाई गाउँमै बस्ने रहर जाग्न थालेको छ । यस अवधिमा दुई–चारवटा बाख्रा जोड्न भ्याएका हुन्छन् । बालबालिकालाई दूध खुवाउन भैंसी किनेका हुन सक्छन् । वर्षौंदेखिको सिरुघारी खेतमा सिजनल बाली लाएका हुन सक्छन् ।

लकडाउनको लामो बसाइले गाउँमा जाँगरिलो बनाउन सक्छ । गाउँको धूलोमैलो पनि अर्गानिक हुन सक्छ । सामान्य रुघाखोकीबाहेक हत्तपत्त कुनै रोगले छुन सक्दैन । गाउँका सबै सम्पत्ति जोड्दा शहर या विदेशमा बिहान झिसमिसेदेखि रातिसम्म कमाएको धन बराबर हुन सक्छ । गाउँमै अहिले दैनिक हजार सामान्य मानिसको कमाइ छ । आफ्ना परिवारसँगको दैनिक भेटघाटले सुख–दुःख साट्न सकिन्छ ।

विदेशिएका युवाको उचित श्रम व्यवस्थापनका लागि स्थानीय सरकारको सुवर्ण अवसर हो यो समय । वर्षौंदेखि श्रम बाहिरिएको थियो । ऊर्जाशील शक्ति बाहिरिँदा गाउँको लाखौं कठ्ठा जमिन बाँझो थियो । घरपरिवारमा आफ्ना सन्तानको अनुहार देख्न नपाउँदा ज्येष्ठ बाआमा निरासाले अकालमै मृत्युको मुखमा पुग्नुपरेको थियो । कतिपय गाउँमा मर्दा मलामी र बिहेमा जन्ती जाने मान्छेको अभाव थियो ।

गाउँका विकास निर्माणको लागि उपभोक्ता समितिमा युवाको अभावमा ७० वर्षीय ज्येष्ठ नागरिकले नेतृत्व गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । भूकम्पपछि जनशक्तिको अभावमा बाहिरी कामदारको प्रयोगले आफ्ना गाउँको पैसा अर्को जिल्ला या ठाउँमा पुगेको अवस्था थियो । कृषि, उद्योग, कलकारखाना सञ्चालनको लागि दिएको अनुदान कामै नगरी खाएका थिए । युवाशक्तिकै अभावका कारण गाउँको विकासमा कुनै दिगोपन र गुणस्तर छैन । तर अब युवाशक्ति गाउँ फर्किने क्रम बढेकोले खुशी छाएको छ ।

युवाशक्तिलाई स्थानीय सरकारले गाउँ फर्काउन निकै मेहनत गर्नुपथ्र्यो । धेरै योजना ल्याउनुपथ्र्यो । कतिपय युवाहरु दशैं–तिहार, चुनाव र पारिवारिक जमघटबाहेक गाउँ नफर्केका वर्षौं भएका हुन सक्छन् । यति बेला देश–विदेश सबैतिरबाट गाउँ फर्केका युवाहरुलाई गाउँमै रोजगार अनि सम्भावनाहरु स्थानीय सरकारले दिन सक्नुपर्छ । कोरोना भाइरसको कारणले विश्वको अर्थतन्त्र धरासयी बनेको अवस्थामा स्थानीय सरकारले बेलैमा कार्ययोजनाका साथ युवा परिचालन गर्न सकेमा ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा साकार हुन सक्छ ।

जनशक्तिकै अभावमा विकासले फड्को मार्न सकेको छैन । गाउँमा कुनै कलकारखाना या उद्योग सञ्चालन गर्न सकेका छैनन् । कुनै पनि चुनौती अवसरको रुपमा पनि देखा पर्न सक्छ । तसर्थ यस्तो बेला सबै स्थानीय तहहरुले युवा जनशक्तिको उचित प्रयोग गर्न कृषि एवं स्वास्थ्य क्षेत्रमा लगानी गर्न आवश्यक छ । यति बेला फलाम तातेको छ । आफूले सोचेको र खोजेको स्वरुप ल्याउनको लागि तातेको बेलामै फलाम चुट्नुपर्छ ।

कृषिमा अनुदान होइन, उत्पादित वस्तुको बजारीकरण सरकारले लिन सक्नुपर्छ । लकडाउनको कारण मान्छेले सागपात खान पाएका छैनन् । कोरोना भाइरसको कारण माछामासु खान पाएका छैनन् । तर कोरोना रोकथामपछि र लकडाउन खोलेपछि सबैलाई यी वस्तुको अभाव हुन सक्छ । अहिले मात्र होइन, मान्छेको हरियो सागपात र माछामासु दैनिक आवश्यक हुन सक्छ ।

तसर्थ स्थानीय सरकारले यसतर्फ बेलैमा ध्यान दिई कार्ययोजना र नीति ल्याउन आवश्यक छ । प्रत्येक गाउँपालिकामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र र गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने हो भने जो–कोही पनि गाउँ छाडेर शहर या विदेशिँदैन । बेरोजगार युवाहरुको लागि सरकारले ल्याएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमले गाउँका हजारौं युवाहरु स्वरोजगार हुने र गुणस्तरीय काम हुन्थ्यो । कुनै पनि विकासमा भ्रष्टाचार हुँदैन थियो ।

कतिपय स्थानीय सरकारले गाउँ फर्केका युवाहरुलाई दुईवटा दुहुनो गाई–भैंसी किनिदिने नीति ल्याएका छन् । यसले युवाहरु आफ्नै गाउँमा फर्किने र उद्यमशील बन्नेमा होडबाजी हुन सक्छ । यति बेला नै हो स्थानीय सरकारहरुले काम देखाउने र जनताले स्थानीय सरकारको महसुस गर्ने दिन । तसर्थ लकडाउनको समयमा अनावश्यक अनुगमन गर्नुभन्दा योजना, नीति, कार्ययोजनामा ध्यान दिने हो भने ३ वर्षसम्म नदेखिएका काम देखाउने अवसर हुन सक्छ ।

आफ्नै गाउँमा स्वरोजगार हुन र गाउँमा अर्गानिक व्यवसाय सञ्चालन गर्ने रहर कसलाई पो हुँदैन र ? मान्छे अहिले अल्छी र सुविधाभोगी बनेका छन् । गमलामा रोपेका सागपात खाने र पसलबाट पोकेटको दूध किनेर खाने गरेका छन् । तर गाउँमा खालि रहेको खेतबारीमा युवा जनशक्तिलाई परिचालन गर्ने हो भने केही वर्षमै नेपालबाट निर्यात गर्ने वातावरण बन्छ । नेपालले पिउने पानीदेखि सियो–धागोसमेत आयात गर्नुपर्छ । पछिल्लो तथ्याङ्कअनुसार ९३ प्रतिशत सामान आयात गर्नुपर्छ हाम्रो मुलुकले । यसरी युवालाई स्वदेशमै उत्पादनको क्षेत्रमा लगाउने हो भने गाउँ हराभारा हुने थियो ।

विदेशबाट आएका युवाहरुको लागि तालिम–गोष्ठीको आवश्यक पर्दैन । ३ वर्षको अवधिमा लाखौं, करोडौं पैसा यस्तै तालिम–गोष्ठीमा खर्च गरेका छन् स्थानीय सरकारले । विदेश या जिल्लाबाहिर बस्दा कुनै–कुनै सीप सिकेका हुन्छन् युवाहरुले । तिनै सीप गाउँमा प्रयोगमा ल्याउने हो । विदेश वा शहरबाट फर्किएका युवाले ज्ञान, अनुभव, सीप उतैबाट सिकेर आएका हुन्छन् । मात्र तिनीहरुलाई रोजगार र सन्ततीको भविष्यको सुनिश्चितता गर्न सकेमा अवश्य उनीहरु आफ्नै गाउँमा रमाउँछन् ।

अब स्थानीय सरकारले कोरोनाको महामारीलाई अवसरको रुपमा परिणत गर्नै पर्छ । गाउँ फर्किएका र फर्कने युवाहरुका लागि सम्भावनाको खेती बाँड्नै पर्छ । पशुपालन, तरकारी खेतीलगायत स–साना उद्योग कलकारखानाहरु सञ्चालनको लागि स्थानीय सरकारले अनुदान, बजारीकरण, विद्युत्, नयाँ प्रविधिको विकास, आधुनिक औजार वितरणलगायत सेवा–सुविधाको व्यवस्था गर्न आवश्यक छ ।

एक घर एक रोजगार होइन, क्षमता र सीपको आधारमा सबैलाई रोजगार दिन आवश्यक छ । प्रत्येक पालिकाले आउँदो २ वर्षभित्रमा यी–यी वस्तुमा आत्मनिर्भर छौं, यी–यी वस्तु निर्यात गर्छौं भन्ने योजनाका साथ अघि बढ्न आवश्यक छ । बल्लतल्ल दशौं वर्षपछि गाउँ फर्केका युवाहरुलाई गाउँमै स्थापित गर्न सकेन भने पछुतो मान्नुपर्ने दिन आउन सक्छ । तसर्थ सबै पालिकाहरुले विदेश र शहरबाट गाउँ फर्केका युवाहरुको रेकर्ड संकलन गरी गाउँमै अड्याउन सकेमा मात्र समृद्ध पालिका र सुखी जनताको सपना पूरा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्