नववर्ष र सुखद भविष्यको कामना



विश्वनाथ खरेल

नेपालको राष्ट्रिय संवत् विक्रम संवत् हो । नयाँ वर्षलाई संवत्सर पनि भनिन्छ । सौर्य गणनाअनुसार एक संवत्सरमा ३ सय ६५ दिन हुन्छन् । यसअनुसार सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशीमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवत्सर भनिन्छ । यसरी चान्द्रमानको हिसाबले समेत चैत्र शुक्ल प्रतिपदालाई संवत्सर प्रारम्भ हुने दिन मानिन्छ ।

यसैले प्रत्येक संवत्सर प्रारम्भ वैशाख १ गतेदेखि हुने र यस दिनलाई नववर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वको रुपमा मनाइने गरिन्छ । अतः राजा विक्रम आदित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्षअघि छ । यसको मतलब जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्षअगाडि नै विक्रम आदित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए ।

हामीकहाँ प्रचलनमा रहेको नेपाल संवत्को भने ११४० वर्षपहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन् । त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन् । राजा विक्रमादित्यले लागू गरेको संवत् मान्नेहरुले वैशाख १ गतेदेखि घरमा झुन्ड्यार राखेको पात्रो झिकेर नयाँ वर्षको पात्रो राख्छन् ।

वैशाख १ गतेबाट प्रमादी नामको संवत्सर शुरु हुन्छ, ६० संवत्सरमध्ये यो ४७ औं संवत्सर हो । वि.सं. २०७६ साल हामी बीचबाट सुख–दुःखका विभिन्न घटनाहरु घटाएर सधैँको लागि बिदा भएको छ । हामी २ करोड ९६ लाखभन्दा बढी नेपालीमध्ये धेरैले २०७६ लाई उत्साहपूर्वक स्वागत गरेर बडोे सुमधुर सम्झना संगाल्दै बिदा ग¥यौं भने कतिले यस वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान् ।

ज्योतिषशास्त्रअनुसार हिन्दु संस्कृतिमा ६० संवत्सर रहेका छन् । यिनीहरुको नाम हरेक वर्ष बदलिने गर्दछ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्दछ । यस वर्ष प्रमादी संवत्सर शुरु भएको छ भने ६० वर्षपछि पुनः यही संवत्सर दोहोरिन्छ ।

संवत्सर परिवर्तन हुने दिनलाई हामीले नववर्षको रुपमा मान्ने गरेका छौं । वैशाख १ देखि शुरुवात हुने नवआगन्तुक समयलाई उल्लासमय वातावरणका साथ राष्ट्रिय चाडको रुपमा मनाउने गरिएको छ । यस दिन सरकारी निकायहरुले सार्वजनिक बिदा पाउने व्यवस्था छ । यसै दिन काठमाडौं जिल्लाको टोेखास्थित सपनतीर्थमा मेला भर्ने चलन बढी रोचक तथा आकर्षित रहेको छ ।

यो मेला भर्ने श्रद्धालु भक्तजनहरुलाई मरेपछि स्वर्गमा राम्रो स्थान प्राप्त हुन्छ भन्ने किंवदन्तीले गर्दा तीर्थस्नान गर्ने प्रचलन छ । त्यस्तै भक्तपुर जिल्लामा बिस्केटको लिंगो अघिल्लो दिन उभ्याउने र वैशाख १ गते ढाल्ने कार्य हुन्छ । मरेर गएका व्यक्तिहरुलाई बिस्केटको लिंगो हेरेको थिइस् ? भनेर स्वर्गमा प्रश्न गर्ने भएको हुँदा यस दिन काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न क्षेत्रबाट असंख्य जनसमुदायको घुइँचो लाग्छ । यस दिन बिहानैदेखि विभिन्न देविदेवताका मठमन्दिरहरुमा दर्शन गर्ने चलन नेपाललगायत भारतका हिन्दू धर्मावलम्बीहरुमा पाइन्छ ।

नयाँ वर्ष सधैँ वसन्त ऋतुको आगमनका साथै आउने हुँदा प्रकृतिमा नयाँ आभास आएको अनुभव हुनु स्वाभाविक नै हो । यसै बेलामा उजाड तथा पतझर बोटबिरुवामा हरियालीले छाउने हुँदा सारै राम्रो दृश्यको अवलोकल गर्न सकिन्छ । यसै समय कोइलीको मधुर स्वरसँगसँगै काफल पाँक्यो भन्ने चराको स्वर जंगलमा घन्किरहेको हुन्छ । यति बेला नवविवाहित पति–पत्नीले वनविहार गर्ने हो भने स्वर्गकै झैँ आनन्द हुन्छ ।

यसरी प्रकृतिले पनि आफ्नो स्वरुप बदल्ने अवसर परेको हुँदा सबैले नयाँ वर्षको आवमनलाई हर्षोल्लास गरी मनाउने गर्छन् ? यस अवसरमा इष्टमित्र, नाताकुटुम्ब, साथीसंगीलाई भेट गर्ने, मीठोे–मसिनो खाने भएको हुँदा यस पर्वको लोकप्रियता बढ्ने गरेको छ । विगत वर्ष जे–जस्ता घटना घटे, तिनलाई चटक्क बिर्सेर नयाँ वर्षमा नयाँ किसिमले आफ्ना कार्यहरुको थालनी गर्ने गरिन्छ ।

यस वर्ष विश्वभर कोरोनाको महामारी फैलिएकाले नेपाल पनि अछूतो हुन सकेन । यतिखेर महामारीबाट जोगिन हामी सबै घरभित्र बन्दीजस्तो हुनुपरेको अवस्था छ । नववर्ष २०७७ को आगमनसँगै गरिने जात्रा–पर्वसमेत सामान्य पूजामा सीमित गरी स्थगित गर्नुपरेको छ । तर अब आशा गरौं नववर्षको आगमनले महामारी मुक्त गरी खुशीको लहर ल्याउनेछ । महामारीले संसारलाई नै हल्लाइरहेको अवस्थामा हामीले मन, बचन र कर्मले यस महामारीको त्रासबाट छुटकारा पाउने कोशिश गरौं । जीवनको आधार सुखद भविष्यको आशा हो । नववर्ष २०७७ साल सुखद भविष्य लिएर आइरहेको छ भन्ने आशा र कामना गरौं ।

 

प्रतिक्रिया दिनुहोस्