‘आवश्यकता नै आविष्कार की जननी’



प्रेमसागर कर्माचार्य

‘आवश्यकता नै आविष्कारकी जननी’ यो सत्य तथ्यलाई आत्मसात् गर्दै आजको यो भौतिकतावादि संसारमा मानिस आफ्नो जिविकोपार्जनको लागि समयसापेक्ष बिभिन्न क्षेत्रमा बिबिध विषय अन्तर्गत नयाँ नयाँ अनुसन्धान गर्दै सरल र सहज तवरले जिवन जिउन खोज्दैछ भन्दा अतिसय नहोला । प्रकृतिलाई पूर्णरूपमा सुरक्षित र संरक्षण गर्दै बिज्ञान सम्मत तवरले यसको भरपूर मानव जगतको हितमा प्रयोग गर्नु आजको बुध्दिमानि ठहर्ने छ ।

मानिस केवल आफ्नो सुख सुबिधा प्रप्तिको लागि अरू कुनैपनि क्षेत्रको पर्वाह नगरी जिउन खोज्दैछन् । आफ्नो ईच्छा पूर्ति गर्दै जाँदा यसले अरूलाई पुर्याएको हानि नोक्सानी र क्षतिको कुनै हेक्का समेत राखिएको छैन भन्दा फरक नपर्ला ।

पछिल्लो समय बिश्व ब्राह्मण्डमा उष्णता बढ्दै जलवायु परिवर्तनको परिघटनालाई यसैको परिणामको रूपमा लिन सकिन्छ । आज यिनै र यस्तै स्वार्थपूर्ण जिवन ब्यथित गरिंदै गर्दाको परिणाम हो– कोरना भाईरस, (कोभिड–१९) भन्दा फरक नपर्ला । छिमेकी मित्रराष्ट्र चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको यो नव प्रजातीको भाईररसले आज विश्व मानव जगतलाई मात्र नभई अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ब्रोन्स चिडियाखानाको एउटा पोथि बाघमा समेत यो कोरोना भाईरस , कोभिड–१९ बाट संक्रमित भएको तथ्य पुष्टि हुनआएको छ ।

यसरी यो कोरोना भाईरस, (कोभिड–१९) ले प्राणी जगतलाई नै संक्रमित तुल्याउंदै लगिदैछ । सन् २०१९ को डिसेम्बर २९ देखि फैलिएर बिश्वब्यापी हुँदै गर्दा समेत हालसम्म यसको पतिरोध गर्ने कुन औषधी आविष्कार गर्न सकेका छैन । जसको कारण बिश्वब्यापी महामारीको रूप लिन पुगेको छ । अहिले त झन् अति बिकसित राष्ट्र अमेरिका युरोप लगायत अन्य राष्ट्रहरूलाई थला पारि सिथिल बनाई दिएको अवस्था छ ।

अहिले दक्षिण एशियामा कोरोना भाईरस (कोभिड–१९) ले आफ्नो प्रभाब तिब्र बनाउँदै लगिएको छ । भारत, पाकिस्तान, श्रीलंका, बंगलादेशका साथै अन्य राष्ट्रहरूमा कोरोना भाईरसद्वारा संक्रमित र मृत्यु हुनेहरूको संख्याको तथ्याङ्कले सहजै अनुमान लगाउन सकिन्छ । कि यो कति रफ्तारमा मानवलाई संक्रमित तुल्याइ अतिक्रमण गर्दैछ । नेपाल पनि यस कोरोना भाईरस, कोभिड–१९ बाट अछुतो रहन सकेन । हालसम्म नेपालमा ९ जना संक्रमित भएको पाईएको छ । त्यसमा एकजना पूर्ण तवरले निको भएर घर फर्कि सकेको छ भने अन्य संक्रमितहरू उपचारका क्रममा छन् ।

सिमित स्रोत साधन र जनशक्तिको आधारमा यस्तो अति गम्भीर प्रकारको कोभिड-१९ संग जुध्नु हाम्रो जस्तो देशको लागि साह्रै नै चुनौतीको अवस्था हो । धन्न हामीले आजसम्म आईपुग्दा कसैले ज्यान गुमाएको समाचार सुन्न परेको छैन । यो आफैमा खुशि कुरा हो । तर यिनै कोभिड–१९ संग जुध्दनको लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरणहरूको खरिदमा सरकारको तर्फबाट भ्रष्टाचारको समाचार पढ्न र सुन्नु पर्दा अतिनै दुःख लागेको छ । कसैको पीडामा रमाउनु आफैमा एकप्रकारको अपराध नै हो ।

स्वास्थ्य क्षेत्रको अग्रपंति भनेकै चिकित्सक वर्ग र तिनलाई सहयोग गर्ने नर्सहरू नै हुन् । कोभिड–१९ बिश्वब्यापी महामारीको रूप लिईरहँदा समेत नेपाल सरकारले यो सँग प्रतिकार गर्ने खासै कुनै रणनीति तय गर्न र गराउने सकिएको देखिएन ।

कोभिड–१९ को उद्गम थलो चीनले अप्रिल ४ तारिखमा राष्ट्रिय शोक मानाएर कोभिड–१९ लाई पूर्णतः निर्मूल पार्न सफलता तर्फ उन्मुख भईसकेको छ ।
कोभिड–१९ ले अतिनै थला पारेको अमेरिकालाई उपचारका क्रममा आवश्यक भेण्टिलेटर एक हजार थान चीनद्वारा सहयोग स्वरूप प्रदान गरि यो संग लड्न ऐक्यबद्धता समेत जाहेर गरिसकेको छ ।

हामी हाम्रो देश नेपालमा दिनप्रतिदिन कोरोना भाईरसबाट संक्रमितहरूको संख्या बढ्दै गईरहेको यो वर्तमान अवस्थामा सामाजिक दूरी कायम गर्दै मुखमा माक्स लगाएर बन्द कोठा भित्र बैठक बसि हचुवाको भरमा निर्णय गर्नमै तल्लिन छौं । देशभर हजारौं हजारको संख्यामा स्वास्थ्यकर्मिहरू परिचालन गर्ने निर्णय पनि गरेको सुन्न पाईयो । यो खुशिको कुरा हो । आम नेपालहरू साथमा छन् अझ बढि समेटेर सेवा प्रदान गर्न सकोस् शुभकामना !

कोरोना भाईरससंगको लडाइँ त शुरू भईनै सक्यो । लडाइँ बिभिन्न किसिमको हुने गर्दछ । यो लडाइँ स्वास्थ्यको क्षेत्रमा भईरहेको छ । लडाइँमा जान आवश्यक सरसामग्रीहरूको जोहो गर्नु पर्ने हुन्छ । के हामीसंग आवश्यक मात्रामा स्वास्थ्य उपचारका सामग्रीहरू उपलब्ध छन् त ? न्यूनतम् भन्दा न्यूनतम् चिकित्सक वर्ग र नर्सहरूको लागि सुरक्षाका कवचहरू उपलब्ध गराउन सकेका छौं त ? कोभिड–१९ बिरूद्ध लड्न पठाउने अनि कोभिड–१९ बाटै संक्रमित हुनु पर्ने त होईन ? आज चिकित्सक नर्सहरू लगायत स्वास्थ्य कर्मीहरूको चौतर्फि चिच्याहत कसले सुन्ने ? खोई राष्ट्रिय अभिभावक ?

यि र यस्तै अवस्था देशभित्र सञ्चालित रक्त सञ्चर सेवामा पनि देखिएको छ । बिभिन्न सञ्चार माध्यमबाट सुन्न , पढ्न र टेलिभिजनमा अक्षर सहितको आवाज सुन्न र जिम्मेवार ब्यक्तिको तस्बिर देख्न पनि पाईन्छ । त्यो हो– रक्तदान गर्न गरिएको आग्रह , अपिल । राम्रो, अति नै राम्रो ! तर यो कोभिड–१९ को महामारीको बीचमा रक्तदान गर्दै गर्दाखेरी हुने दुर्घटनाको ग्यारेन्टी कसले लिने ? स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्य सुरक्षको प्रत्याभूति कसले दिने ? कुर्सीमा आशण गरि भाषण मात्र दिन पाईदैन । नेपाल सरकार र सम्बन्धित निकायको के छ योजना ? सार्वजनिक गर्नु पर्यो ।

फेरि यो ‘लकडाउन’को अवस्थामा प्रायः जसो शल्यक्रियाहरू बन्द सरह छ। तैरिएर बोल्न कसैलाई छुट छैन । जिम्मेवारी बोध हुनु पर्यो । सतह र गहिराईमा पुगेर वास्तविकताको आधारमा कुराहरू सम्प्रेषण गर्न सक्नु पर्दछ । यसरी गैरजिम्मेवार तवरले प्रस्तुत हुन पाईदैन । निराधार रूपमा रगतको अभावको सुचना प्रवाह गरि स्वयंसेवी रक्तदाता माझ अन्यौलता सृजना गर्नु किमार्थ शोभनिय कार्य होईन ।

रक्तदान नियमित र निरन्तरको लागि आह्वान गर्दै हामी नेपाल स्वयंसेवी रक्तदाता समाजले ‘लकडाउन’को दोस्रो दिनदेखि नै ‘होम क्वारेन्टाइन’बाटै अथवा रक्त सञ्चार सेवा केन्द्रसम्म पुर्याएर सामाजिक दूरी कायम गर्दै स्वयंसेवी रक्तदाताहरूबाट अति सम्बेदशील र गम्भीरताका साथ रक्तदान गराउँदै आई रहेका छौं । यसरी पीडित पक्षलाई सेवा प्रदान गरिरहेका छौं ।

रक्तदान गर्न–गराउन हामी स्वयंसेवी रक्तदाताहरू कहिल्यै पनि चुक्ने छैनौं । भोलिको सम्भाब्य दुर्घटनालाई मध्यनजर गर्दै नेपाल सरकार र सम्बन्धित निकायले स्वयंसेवी रक्तदाताहरूको स्वास्थ्य प्रति ख्याल राख्दै रक्तदान गर्ने–गराउने वातावरण तयार गरि जवाफदेही हुन समेत आग्रह गर्दछौं ।

(प्रेमसागर कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजकाे अध्यक्ष हुनुहुन्छ।)

 

प्रतिक्रिया दिनुहोस्