चेकजाँचबिनै भारतीय नेपालमा



नेपाल समाचारपत्र, विराटनगर

नोबेल कोरोना भाइरसका कारण देखाउँदै भारतले सीमानामा बन्द गरेको छ । आफ्नै नागरिकका लागि समेत प्रवेशमा रोक लगाएको भारतले अत्यावश्यक काम बेगर कोही बाहिर नजाउन भनेर नाकामा कडाइसमेत गरिसकेको छ ।

 

तर, भारतसँग सीमा जोडिएका नेपाली भूभागबाट भने अझै पनि निर्वाध आउजाउ जारी छ । जहाँ कुनै चेकजाँच छैन । मात्र पर्चा र पमप्लेटको भरमा कोरोना नियन्त्रणको प्रयास भैरहेको छ । सुनसरीमा भारतसँग जोडिएको ६२ किलोमिटर खुल्ला सीमा छ । जहाँबाट दैनिक ठूलो संख्यामा दुई देशीय नागरिकको आउजाउ हुने गर्छ । यति बेला विश्व समुदाय कोरोनाबाट आक्रान्त छ ।

 

भारतले सीमानाकासहितका क्षेत्रमा आवश्यक तयारीलाई तिव्रता दिँदा खुला सीमा रहेको सुनसरीमा भने अझैसम्म ठोस कदम चालिएको छैन । खुला सीमाका कारण सुनसरीमा यति बेलासमेत दैनिक निर्वाध आउजाउको क्रम जारी छ ।

 

नेपालतर्फको भूमिमा राखिएका हेल्थ डेस्कले कोरोना रोकथाम लागि पर्चा पमप्लेट वितरणबाहेकका गतिविधि संचालनमा ल्याउन सकेका छैनन् । सुनसरीको भाण्टाबारी नाकामा नेपालतर्फबाट किनमेलका लागि भारत प्रवेश गर्ने र विविध कामले नेपाल छिर्ने भारतीयको चाप खासै घटेको देखिँदैन् ।

 

हेल्थ डेस्कमा नाम टिप्ने र साधारण सोधपुछसँगै पर्चा बाँड्नुबाहेक स्वास्थ्य जाँच गर्ने उपकरणको बन्दोवस्ती हुन सकेको छैन । राखिएका हेल्थ डेस्कले समेत स्रोत साधन अभावमा प्रभावकारी काम गर्न सकिरहेका छैनन् ।

 

खुला नाकाका कारण जहींकहींबाट हुने प्रवेशलाई प्रहरी प्रशासनले रोक्नसमेत सकेको छैन । थर्मल गनको अभावमा स्वास्थ्य परीक्षण गर्ने गरिएको छैन । थर्मल गनको अभाव महसुस गरेको स्वास्थ्य कार्यालय सुनसरी सोको व्यवस्थापनकै क्रममा रहेको बताउँछ ।

 

सचेतना कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको कार्यालयले खुला सीमाका बाबजुत सुनसरीमा आत्तिनुपर्ने अवस्था भने नरहेको बताउँछ । भारतको विहारमा मदिरा प्रतिबन्धका कारणसमेत दैनिक सयौंको संख्यामा भारतीय भाण्टाबारीलगायतका नाका हुँदै सुनसरी भित्रिने गर्छन् । सरसामानको जोहो तथा काम विशेषले आउजाउ गर्नेको संख्यासमेत उत्रिकै छ ।

 

जसले सम्भावित जोखिम बढाउँदासमेत भाइरस रोकथामका सवालमा सुनसरीको सीमामा ठोस कदम चालिएको देखिँदैन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल भने कोरोना रोकथामका लागि मातहतमा समन्वयदेखि जनचेतनामूलक कार्यक्रमहरु थालिसकिएको बताउँछन् ।

 

पर्र्चा र पमप्लेटले कोरोना संक्रमितको पहिचान नहुने भन्दै सम्भाव्यतालाई मध्यनजर गरी व्यवस्थापन मिलाउनुपर्ने आवाज उठ्न थालेको छ । सीमा नाकामा थर्मल गनलगायतका उपकरणसहितको चेकजाँचको व्यवस्था मिलाउन स्थानीयले माग गर्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्