पत्रकार हत्यारालाई कडा कारबाहीको माग



गोकुल घोरसाइने, बारा

 

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको ‘मिसन टोली’ ले बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।

 

साहका हत्या आरोपी मध्येका कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको १ सातापछि महासंघका उपाध्यक्ष विपुल पोखरेलको नेतृत्वमा शनिबार बारा आएको ‘मिसन टोली’ले प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीलाई भेटेर यस्तो माग गरेको हो । साह हत्याका अभियुक्त कुन्दन भनिने नरेन्द्र फौजदारलाई प्रहरीले गत आइतबार पक्राउ गरेपछि त्यसको जानकारी लिन टोली जिल्ला आइपुगेको थियो ।

 

उपाध्यक्ष पोखरेलले पक्राउ परेकामाथि कडा कारवाही र बाँकी आरोपीलाई पनि तत्काल पक्राउ गर्न माग गर्नुभएको थियो । राजनितिक संरक्षण पाएका भनिएका मुख्य अभियुक्तलाई पक्राउ गरेर सहासिक काम गरेको भन्दै टोलीले उपरीक्षक पङ्गेनी, नायव उपरीक्षक गौतम मिश्र, ईलाका प्रहरी कार्यालय सिमराका नायव उपरिक्षक गोविन्द पुरी, ईलाका प्रहरी कार्यालय जीतपुरका नायव निरीक्षक सागर शम्शेर राणालाई दोसल्ला ओडाएर सम्मान पनि गरेको थियो ।

 

पत्रकार साहको १२ वर्षअघि तत्कालिन माओवादीका कार्यकर्ताव्दारा गोली हानी हत्या भएको थियो । टोलीमा महासंघका उपाध्यक्ष पोखरेल, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र सहभागी हुनुहु्न्थ्यो । यसैगरी टोलीसँगै पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, सचिव गुरुप्रसाद गौतम, बारा जिल्ला अध्यक्ष कमल उपाध्यायसहित अन्य संचारकर्मी पनि सहभागी थिए ।

 

तत्कालीन सरकार–माओवादी द्वन्द्वको क्रममा ३७ जना पत्रकारले बिना कारण न्यान गुमाउनु परेको जानकारी गराउँदै उपाध्यक्ष पोखरेलले सबैको कारबाही भए नभएको अनुगमन गर्ने क्रममा बारा जिल्लाबाट अभियान थालिएको बताउनुभयो । कलैयास्थित निवासमा पुगेर ‘मिसन टोली’ ले धर्मपत्नि उमरावति र छोरा विवेकसंग पनि भेटघाट गरेको थियो ।

 

फौजदारलाई पुर्पक्षमा कारागार

 

जिल्ला अदालत बाराले फौजदारलाई पुर्पक्षको निम्ति थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत बाराका एक नम्बर न्यायाधीश खिलनाथ रेग्मीको इजलासले फौजदारविरुद्धको कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा राख्न शुक्रबार आदेश दिएको हो ।

 

जिल्ला प्रहरी कार्यलय बाराले फौजदारलाई पत्रकार साहको हत्यामा कर्तव्य ज्यानबाहेक लागूऔषध र डकैती लुटपाट मुद्दाको कारवाहीमा गत बिहीबार अदालत पेश गरेको थियो ।

 

अन्य मुद्दाको हकमा पछि फैसला हुने गरी हाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको बारा प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पत्रकार साहको हत्यामा फौजदारको संलग्नता रहेको पुष्टि हुने प्रमाण देखिएकाले अर्को फैसला नहुन्जेल अदालतले उनलाई पुर्पक्षका लागि पठाएको हो । अदालतको आदेशपछि फौजदारलाई वीरगन्ज कारागार पठाइएको प्रवक्ता मिश्रले बताउनुभयो ।

 

समाचार संकलनका लागि बाराको पिपरा बजार पुगेका पत्रकार साहलाई कुन्दनसहितका व्यक्तिले २०६४ असोज १८ गते अपहरण गरी गोलि हानेर हत्या गरेका थिए । पत्रकार साहको शव एक महिनापछि कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो ।

 

साहको हत्यामा संलग्न अन्य दुई व्यक्ति लालबाबु चौधरी धामी र हरेराम पटेल अझै फरार छन । उनीहरुलाई प्रहरीले खोजी सूचिमा राखेको छ । यसअघि साहको हत्यामा संलग्न मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी रिहा भइसकेका छन् भने अर्का रामएकवाल सहनी १० वर्षदेखि जेलमा छन ।

प्रतिक्रिया दिनुहोस्