थकाली होमस्टेमा अनलाइन बुकिङ सुविधा 



नेपाल समाचारपत्र, मुस्ताङ । 
जिल्लाको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँमा सञ्चालित थकाली सामुदायिक होमस्टेले पर्यटकको सुविधाका लागि अनलाइनबाटै बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । पर्यटकीय सिजनमा मुस्ताङमा पर्यटकको चाप बढ्ने हुँदा होमस्टेमा अनलाइन बुकिङ सुविधा दिन थालिएको हो ।
देशकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा रहेको मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा होमस्टेमा आकर्षण बढी रहेको छ ।
बास बस्न आउन चाहनेलाई फर्काउनुपर्ने अवस्थाको अन्त्य गर्न अनलाइन बुकिङको व्यवस्था गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष लालप्रसाद थकालीले बताउनुभयो । ‘सिजनमा पर्यटकको चाप धेरै हुन्छ । पर्यटकले होमस्टेमा बस्न चाहे पनि उपलब्ध नहुन सक्छ,’ उहाँले भन्नुभयो–‘पर्यटकलाई  निराश हुन् नपरोस भनेर हामीले अनलाइनबाटै अग्रिम बुकिङको प्रबन्ध मिलाएका हौं ।’
होमस्टेमा बस्न आन्तरिकभन्दा बाह्य पर्यटक धेरै आउने गरेका छन । ठिनीका १२ घर मिलेर सञ्चालन गरेको होमस्टेमा एकैपटकमा १ सय ५० जनासम्म पर्यटकलाई खान र बस्नको प्रबन्ध गर्न सकिन्छ ।
सिजनमा होमस्टेको क्षमताभन्दा बढी पर्यटक आउने र अनलाइनबाटै अग्रिम बुकिङ गरेर आउने व्यवस्था भएपछि त्यसलाई व्यवस्थापन गर्न सजिलो भएको छ ।  होमस्टेमा बस्न आउने पाहुनालाई माग बमोजिम थकाली नृत्यलगायत स्थानीय परम्परागत संस्कृति देखाउँदै स्थानीय उत्पादनका खानेकुरा खुवाइने गरेको अध्यक्ष थकालीले बताउनुभयो ।
अनलाइनमार्फत बुकिङ गरेर आउन सक्ने व्यवस्था मिलाएपछि पर्यटकलाई समेत सहज भएको भ्रमण वर्ष २०२० गण्डकी प्रदेशका सदस्य नीरज थकालीले बताउनुभयो । मुस्ताङ सदरमुकाम जोमसोमबाट २ किलोमिटर दक्षिणमा रहेको ठिनीमा थकाली संग्राहलय, ढुम्बा ताल, हिउँचितुवा गुफा, कुछपतेरेंगा गुम्बा, इको ग्रो स्याउ बगान, घरपझोङ किल्ला, विश्वकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्गलगायत  पर्यटकीयस्थल घुम्न आउने पर्यटक होमस्टेमा बास बस्न थालेका छन् ।
पछिल्लो समय मुस्ताङ घुम्न आउने पर्यटक यहाँका स्तरीय होटल र लज छाडेर होमस्टेमा आउन थालेपछि पर्यटकको चाप थेग्न धौं–धौं पर्ने गरेको होमस्टे सञ्चालकहरुले बताएका छन् । पछिल्लो समय मुस्ताङमा भएको भौतिक विकास र सडकको पहुँचले वर्षेनी यहाँ आउने पर्यटको संख्या बढ्दै गएको छ । पर्यटकको आगमन बढेसँगै सुविधा सम्पन्न होटल तथा लज खुल्ने क्रम पनि बढेको छ ।
मुस्ताङमा हाल ३ दर्जनभन्दा बढी स्तरीय होटल सञ्चालनमा छन् । तर, पछिल्लो समय पर्यटक होटलमाभन्दा स्थानीय कला, संस्कृति र खानाका परिकारमा आकर्षित भएकाले होमस्टे व्यवसाय फस्टाउँदै गएको अध्यक्ष थकालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्