वन अतिक्रमणको छानबिन अघि बढेन



गोकुल घोरसाइने, बारा।

अनुसन्धान टोलीले काम नै शुरु नगरेपछि बाराको निजगढ नगरपालिका १० स्थित वन क्षेत्रको करोडौँ मूल्य पर्ने अतिक्रमित जमिनको छानबिन कार्य अघि बढ्न सकेको छैन।
डिभिजन वन कार्यालय सिमराबाट तोकिएका अनुसन्धान अधिकृत रविकान्त श्रीवास्तवले छानबिनमा तत्परता नदेखाउँदा छानबिन कार्य अघि बढ्न नसकेको हो।|

निजगढ नगरपालिका १० स्थित राष्ट्रिय वन क्षेत्रमा पर्ने जमिन आफ्नो निजी भन्दै मकवानपुरको बकैया गाउपालिका ६ भालुखोलाका सुमन सिंह लोप्चनले पर्खाल लगाएपछि स्थानीयले छानबिन गरी कारवाहीको लागि डिभिजन वन कार्यालय सिमरामा उजुरी गरेका थिए।

वन कार्यालयले पनि सब डिभिजन कार्यालय रतनपुरका सहायक वन अधिकृत श्रीवास्तवलाई अनुससन्धान अधिकृत तोकेर गत पुस १ गते छानबिन गर्न जिम्मेवारी दिएको थियो। अधिकृत श्रीवास्तवले छानबिनको लागि निजगढ नगरपालिका नापी शाखामा पुस २३ गते आवश्यक सहयोग उपलब्ध गराइदिन भन्दै पत्र दर्ता गर्नेभन्दा बाहेक अन्य कुनै काम गरेका छैनन्।

सरोकारवाला अर्को निकाय निजगढ नगरपालिका कार्यालयले पनि चासो नदेखाएपछि छानबिन कार्य अलपत्र परेको छ। ‘जग्गा छुटट्््उन आवश्यक सहयोग गरिदिनुपर्यो भनेर अधिकृत साहेवले एउटा पत्र दर्ता गराउनुभएको छ, निजगढ नगरपालिका नापी शाखा प्रमुख अमिन विनोद महतोले भन्नुभयो–तर चाहिने अन्य कुनै काजगपत्र केही पनि दिनुभएको छैन।’

नक्सासहित अन्य आवश्यक कागजात नभएसम्म जग्गा छुट्ट्याउन नसकिने भन्दै अमिन महतोले निवेदन दिने पक्षले नै आवश्यक कागजात र प्रमाण लिएर आउनुपर्ने पर्ने बताउनुभयो।
सहायक वन अधिकृत श्रीवास्तवले भने आफ्नो दाबीको जग्गाको नक्सा उपलब्ध गराइदिन पत्राचार गरेको भएपनि लोप्चन अहिलेसम्म सम्पर्कमा नआएको जानकारी दिनुभयो। उहाँले केही समय अझै पर्खने र प्रमाण पेस गर्न नसके वन अतिक्रमण गरेको अभियोगमा लोप्चनमाथि मुद्दा चलाइने बताउनभयो।

मकवानपुरको सीमा क्षेत्रमा पर्ने सो वन क्षेत्रको २ बिगाहा जमिन लोप्चनले आफ्नो मकवानपुर साबिक हटिया गाविस हाल बकैया गाउँपालिका ६ मा रहेको कित्ता नम्बर १५२९ र १५३० भित्र पर्ने भन्दै २ महिनाअघिबाट करिव ५ लाखभन्दा बढी खर्चबाट २० फिट चौडा र २ सय ५० मिटर लामो ढुंगाको पर्खाल लगाएर अतिक्रमण गर्दै आएका छन्। दुबै नम्बरी कित्ता चुरे डाँडामा रहेका छन्। लोप्चनले आफनो नम्बरीसँग जोडिएको तर बाराको वन क्षेत्रभित्र पर्ने समथर भूभाग अतिक्रमण गरेर पर्खाल लगाएका हुन्।

तराई मधेस दु्रत मार्ग (फास्ट ट्याक) बाट नजिकै रहेको र करोडांै मूल्य पर्ने सो जमिन भूमाफियाहरूले प्रभावमा पारेर लोप्चनलाई अतिक्रमण गर्न लगाएको हुनसक्ने स्थानीयको आशंका छ।सुरुमा घेराबारा गर्न लगाउने र आवादी भइसकेपछि आफूले नै खरिद गर्ने योजनामा अतिक्रमण गर्न लगाएको एक स्थानीयले बताए। ‘चुरे डाँडाको फेदीमा करोडौँ मूल्य पर्ने अति राम्रो जमिन छ, ती स्थानीयले भने, फास्टट्रयाक बनेपछि ठुला होटल र रिसोर्ट खोल्ने योजना हुनसक्छ।’

सामान्य परिवारका लोप्चनको यति धेरै रकम खर्च गरेर पर्खाल लगाउने हैसियत नदेखिएकोले पनि अतिक्रमणमा माफियाको हात हुनसक्ने आशंका गरिएको हो। भूमाफियाकै प्रभावमा परेर छानबिन अवरुद्ध भएको र कारवाही अघि बढ्न नसकेको आरोप पनि स्थानीयले लगाएका छन्।यसअघि पनि लोप्चनको चुरे पहाडमा रहेको निजी बारी सम्म्याउने नाममा बालुवा÷ढुंगाका माफियाहरूले एक्साभेटरले खनेर ठुलो परिमाणमा उत्खनन गरी क्रसर उद्योगी र व्यापारीलाई ढुंगा बिक्री गरेका थिए।

प्रतिक्रिया दिनुहोस्