पर्वतको एउटै गाउँबाट चार करोडको सुन्तला बिक्री



नेपाल समाचारपत्र, पर्वत।

पर्वतको बाँसखर्क गाउँका किसानले यो बर्ष मात्रै करीब ४ करोड रुपैयाँको सुन्तला विक्री गरेका छन्।पश्चिम क्षेत्रमा नै स्वादिलो सुन्तला फल्ने उत्तरी पर्वतको जलजला गाउँपालिकामा २०० भन्दा बढी कृषकले यो बर्ष ४ करोड रकम सुन्तला बिक्रीबाट गाउँमा भित्र्याउन सफल भएका हुन।

यस बर्ष सुन्तलामा कुनै प्राकृतिक प्रकोप र रोग किराको पनि प्रकोप नपरेपछि सुन्तला उत्पादन बढेको बजारमारे सुन्तला उत्पादन सहकारी संस्था बाँसखर्कका अध्यक्ष जगतबहादुर खत्रीले बताउनुभयो।

‘यो बर्ष गत बर्ष भन्दा सुन्तला उत्पादन बढेको छ’ उहाँले भन्नुभयो ‘घर बगैचाबाटै राम्रो मुल्यमा बिक्री गर्न सफल भएका छौ।’ उहाँले भन्नुभयो। किसानले बोटबाटै प्रतिकिलो १०५ देखि १२० रुपैयाँसम्ममा सुन्तला विक्री आएका छन।

बाँसखर्कमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, बुटवल लगायत बजारमा बिक्री हुँदै आएको छ।बाँसखर्कमा माघको अन्तिम साता मात्रै टिप्न शुरु हुन्छ। अन्यत्र मंसिरमा सुन्तला टिपी सक्छन तर यहाँ गर्मी शुरु भएपछि मात्रै सुन्तला टिप्ने भएका कारण पनि बढी माग हुने गरेको छ।

‘ढिलो गरी पाक्ने र स्वादिलो हुने भएकाले यहाँको सुन्तलाको माग सबैभन्दा उच्च छ’ अध्यक्ष खत्रीले भन्नुभयो।बाँसखर्कमा अन्य खाद्यान्न र फलपूmल उत्पादन हुँदैन। धान, कोदो र मकैभन्दा सुन्तलाबाट बढी फाइदा हुने भएपछि किसानले सुन्तलाखेती प्रवद्र्धन गरेका छन्।

गाउँमा खेतबारी तथा पाखाहरूमा सुन्तला रोप्ने अभियान चलाएका छन।काम नलाग्ने रुख हटाएर सुन्तला रोप्न थालेको धेरै भैसकेको छ। धान,मकै, कोदो भन्दा सुन्तला बढी उत्पादन हुने र रकम पनि नगदमा पाउने भएकाले सुन्तला नै रोजाईमा परेको अगुवा कृषक ख्यामबहादुर खत्रीले बताउनुभो।

यहाँ बार्षिक २ लाख रुपैयाँभन्दा थोरै कमाउने कृषक नै भेटिदैनन।सुन्तलाको व्यवस्थित बजारीकरणका लागि किसानकै अग्रसरतामा हालै ६७ लाख खर्चिएर शीतभण्डार केन्द्र सञ्चालन गरिएको छ।

शीतभण्डार सञ्चालन भएपछि किसानलाई सुन्तला भण्डारण गर्न र ‘अफ सिजन’मा विक्री गर्न सहज भएको स्थानीय कल्पना खत्रीले बताउनुभयो। किसानले गे्रडिङमा नपरेका साना दानाबाट जुस बनाएर पनि आम्दानी लिँदै आएका छन्।

सुन्तलाखेतीका लागि उपयुक्त माटो तथा हावापानी भएकाले बाँसखर्कमा वर्षेनी यसको क्षेत्रफल र कृषकको संख्या समेत बढेको छ। गतवर्षसम्म १६१ परिवारले मात्रै व्यावसायिक सुन्तलाखेती गर्दै आएको यो गाउँमा अहिले २१० परिवार आबद्ध भएको कृषि ज्ञानकेन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिनुभयो।

पछिल्ला केही वर्षयता सुन्तलाखेतीमा सुधार, रोगकीराको नियन्त्रण, क्षेत्रफल विस्तार, आधुनिक उपकरण र अनुदानका कार्यक्रम थपिँदै गएपछि किसान पनि उत्साहित भएका छन्। गाउँमा सडक पुगेकाले किसानलाई ढुवानीका लागि समस्या छैन।

प्रतिक्रिया दिनुहोस्