नेपाली कम्पनी विदेशी स्टक एक्सचेञ्जमा सूचीकृत हुन पाउने



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली कम्पनीलाई विदेशी स्टक एक्सचेञ्जमा सूचीकृत हुने बाटो खुलेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी नेपालका संगठित संस्थाले विदेशी मुलुकको पुँजी बजारमा ऋणपत्र, डिबेञ्चर वा अन्य धितोपत्र विदेशी मुद्रामा जारी गर्न सक्ने व्यवस्था गरेको हो।

बोर्डले सोमबार चार वटा नियमावली संशोधन गरेर पुँजी बजारमा व्यापक सुधारको आरम्भ गरेको हो। बोर्डमा अध्यक्ष नियुक्त भएलगत्तै भीष्म ढुंगानाले पुँजी बजारको दिगो विकासका लागि आफ्ना योजना सुनाउनुभएको थियो।

बोर्डले सोमबार धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी कोष नियमावली, २०६७ र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ लाई संशोधन गरेको हो।

नियमावलीमा धितोपत्र व्यापारीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपियाँ हुनुपर्ने व्यवस्था गरिएको छ। बोर्डले धितोपत्र व्यवसायीका हकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रचलित कानुन बमोजिम धितोपत्र दलाल व्यवसायीको स्वामित्व ग्रहण गर्ने व्यक्तिको लगानीको स्रोत खुलाउनुपर्र्नेे व्यवस्था गरेको छ ।

यस्तै प्रचलित कानुन बमोजिम स्थापना भएका ‘क’ वर्गका बैंक वा विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य सक्ने व्यवस्था गरिएको छ।

धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले अर्को धितोपत्र दलाल तथा व्यापारीलाई प्राप्ति गर्न वा गाभ्न÷गाभिन सक्ने व्यवस्था गरेको छ।बोर्डले धितोपत्र दलालले मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्ने तथा धितोपत्र व्यापारीले धितोपत्र दलाल, योग्य संस्थागत लगानीकर्ता र धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्न सक्ने व्यवस्था गरेको छ।

यसैगरी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीले संस्थागत जोखिम व्यवस्थापन गर्न तथा संस्थाको वित्तीय सवलताको लागि जगेडा कोष राख्नुपर्ने व्यवस्था गरेको छ।बोर्डले नियमावलीमा भएको यस्ता सुधार तथा संशोधनपश्चात् प्राथमिक बजारमा संरचनात्मक सुधार भई वास्तविक क्षेत्रका कम्पनी आकर्षित हुने, हकप्रद शेयर निष्काशनसम्बन्धी व्यवस्था थप प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।

बोर्डले नियमावलीमा भएको व्यापक सुधार विदेशी लगानी भित्र्याउन सहजीकरण हुने, खुलामुखी योजनाको प्रबद्र्धन तथा सामूहिक लगानी कोष संचालन थप प्रभावकारी हुने, धितोपत्र व्यवसायीको पुँजीकोष थप मजबुत हुने, धितोपत्र व्यापारीको प्रवेश भई समग्र पुँजी बजारको विकास तथा विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्