‘प्रहरीले शान्तिपूर्ण वातावरणमा त्रास फैलायो’



बुद्ध नेपाली, सिन्धुली।

बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले तपस्वी रामबहादुर बम्जनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ।बोधि श्रवण धर्म संघ केन्द्रीय समितिले सोमबार बम्जनको आश्रम स्थल सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेमा पत्रकार सम्मेलनको आयोजना गरेर तपस्वी बम्जनमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेको हो।

जिल्ला अदालत सर्लाहीले बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि माघ २४ गते बम्जनको आश्रममा प्रहरी पुगेको थियो। तर, प्रहरीले बम्जनलाई फेला भने पार्न सकेन। अहिले पनि प्रहरीले बम्जनको आश्रमस्थल पैरेमा घेरा हालेर बम्जनको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।

आश्रममा प्रहरीले अचानक छापा मारेको विषयलाई लिएर समितिले सोमबार पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै बोधि श्रवण धर्म संघ केन्द्रीय समितिका अध्यक्ष निलबहादुर थिङ्लेले बम्जनमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्नुभएको छ।

प्रहरीले बम्जनको आश्रममा गरेको खानतालासी गरेको प्रति असन्तुष्टि जनाउँदै उहाँले भन्नुभयो– ‘अनुसन्धान हुनुपर्छ। त्यसमा हाम्रो कुनै मतभेद छैन। न्याय सबैले पाउनुपर्छ तर सत्य र असत्य दुवै छुट्याउनुपर्छ। संविधान र कानुन विधिअनुसार अनुसन्धान हुनुपर्छ’।

बम्जनलाई खोजतलास गर्ने क्रममा प्रहरीले बम्जनको आश्रममा तोडफोड गरी प्रवेश गरेको प्रति आपत्ति जनाउँदै शान्त, शालीन वातावरण र धार्मिक आस्थामाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार प्रहरी प्रशासनले गरेको समितिका अध्यक्ष थिङ्लेले बताउनुभयो।

अभियोग लागेका व्यक्तिलाई अदालतमा उपस्थित हुन म्याद टाँस नगरी त्रासपूर्ण तरिकारले संविधान र आचार संहिताविपरीत प्रहरीले खानतलासी गरेको उहाँको आरोप छ।

उहाँले बोधि श्रवण धर्म संघले सरकारलाई न्याय र न्यायोचित विधि प्रक्रिया र व्यवहारमा सधैँ साथ दिने बताउनुभयो।तपस्वी बम्जनमाथि एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेको छ।

बम्जन आश्रमबाट बेपत्ता भएको र बलात्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँस्थित आश्रम सिल गरी प्रहरीले छानबिनसमेत गरेको थियो। त्यसबेला पनि प्रहरीले पैरे आश्रममा खोजतलास गरेको थियो।

पैरेमा बम्जनको आश्रम करिब ४२ बिघामा फैलिएको छ। २४ बिघाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयको भनाइ छ। जिल्ला अदालत सर्लाहीले आरोपित बम्जन पक्राउ गर्न गत माघ २४ गते बिहीबार पुर्जी जारी गरेपछि सीआइबी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका–८ पैरेस्थित बम्जनको आश्रममा खानतलासी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्