हातमा कलम र कापी समाउने उमेरमा बाटोमा मिठाइ बेच्दै बालबालिका



न्युज अफ नेपाल, हेटौंडा ।

रौतहटको कटहरिया बजारबाट २० बालक हेटौंडामा मिठाइ बेच्न आएका छन् । उक्त काम गरेवापत् मालिकले प्रतिप्याकेट मिठाइ बेचेपछि एक रुपियाँ दिने गरेका छन् ।

११ वर्षीय किशन ठाकुर र १३ वर्षीय जयकिशन ठाकुरले एकै स्वरमा भने– खाना र कोठा भाडा भने हामीले पाउने पैसाबाट काटिन्छ ।
उनीहरु त प्रतिनिधिपात्र मात्र हुन् । बागमती प्रदेशको राजधानी हेटौंडामा बिगत केही दिनयता अन्यत्रबाट आएर श्रम गर्ने बालकको संख्या बढेको छ । हेटौंडा बजारनजिक वडा नम्बर–४ मा रहेको आधुनिक राष्ट्रिय माविको गेटमा मिठाइ बेचिरहेका बालकहरु देख्दा ‘सबैको लागि शिक्षा’ कार्यक्रमलाई चुनौती थपिएको देखिन्छ ।

हातको पैसा एकछिनमै मालिकले लिन्छन् अनि भोलि कति प्याकेट बेच्न सकिएला भन्दै निदाउने यी बालकहरुलाई आफूले काम गरेर कमाएको पैसा आफैंले लिन मिल्ने बनाउन व्यापार होइन शिक्षा चाहिन्छ भन्ने बुझाउन ढिला हुन लागेको उक्त विद्यालयका शिक्षकहरु बताउँछन् ।

आधुनिक राष्ट्रिय माविका सहायक प्रधानाध्यापक रामसागर गुरागाईंले हातमा कलम र कापी हुनुपर्ने उमेरका बालबालिकाहरु यसरी श्रममा रहनु दुःखद् भएको बताउनुभयो । ‘विभिन्न किसिमका मिठाइ र खेलौनाहरु बाटो बाटोमा डुलाउँदै बेच्ने बालबालिकाको व्यबस्थापन समयमै गर्नु जरुरी छ,’ सहायक प्रअ गुरागाईंले भन्नुभयो– ‘बालमैत्री, बालश्रममुक्त, सडक बालबालिकामुक्त नगरको प्रयास भइरहेको अबस्थामा यस्ता बालबालिका देखिनु ठूलो चुनौती हो ।’

‘पढेर निस्केका आफ्नै उमेरका अन्य बालबालिकालाई मोलमोलाइ गरी मिठाइ बेचिरहेका बालकहरुको हातमा पैसा त पर्छ तर भविष्य अन्धकारतर्फ गइरहेको छ,’ -उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्