वर्षौ देखि घैटाको दूषित पानी पिउदै बाँफीका स्थानीय



विमल विष्ट,डोटी ।

डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका १ बाँफी गाउँका स्थानीयहरु वर्षौदेखि आकासेपानी (घैटाकोपानी) पिउन बाध्य भएका छन् । उक्त गाउँका २सय घर परिवार साउद जातीहरु वर्षौदेखि घैटोमा संङ्कलन गरिएको दूषित पानीको प्रयोग गर्दै आएका छन् ।

गाउँ नजिक पानीको मुहान नभएका कारण स्थानीयहरु आकासबाट आएको पानी घैटोमा संङ्कलन गरेर महिनौ सम्म पानीको जोह गर्न बाध्य भएका छन् ।

उक्त दूषित पानीका कारण त्यहाँका नागरिकहरु बिरामी समेत पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको स्थानीयबासी उमेशबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो–घैटामा जम्मा भएको दूषित पानी खाने गरेका कारण बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आएपनि युवा र महिलासमेत यसबाट जहिले नि प्रभावित हुँदै आएका छन्,हामीसंग पानीको अर्को बिकल्प छैन् ।

पानीकै कारण लाग्ने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा बिभिन्न स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपनि लामो समयसम्म पनि छाला लगायत अन्य सरिर सम्बन्धी रोग निको नहुने गरेको उनीहरु बताउछन् । यसरी घैटामा संङ्कलन गरिएको आकासे पानी यहाँका स्थानीयले कम्तिमापनि सात महिना सम्म प्रयोग गर्ने गरेको अर्का स्थानीय देबबहादुर साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो–गाउँ नजिक पानी छैन,आकासको पानी जम्मा गरेर हामी सात महिना सम्म त्यहि पानी प्रयोग गछौँ,पानीको समस्या कसैले समाधान गरिदिएन ।

महिनौ सम्म जम्मा गरेको उक्त पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्सेनिक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएको स्थानीय कैलास साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो–जम्मा गरिएको पानीका कारण स्थानीय बिरामी पर्नुका साथै कपडा धुने गर्दा पूरै लुगा पहेँलो हुने र भाँडाकुडामा समेत कालो दाग लाग्ने समस्या छ ।

खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग पटक पटक आग्रह गर्दापनि कसैले आफुहरुको सुनुवाइ नगरेको स्थानीयको आरोप छ । उक्त गाउँमा वर्षौ पहिले एक गैसरकारी संस्थाले बनाएको आकसे पानी जम्मा हुने टयाकीमा सात महिनाको लागि पानी जम्मा गरी स्थानीयले कामकाज चलाउदै आएका छन् ।

सुख्खायाम लागेसँगै पानीका मुहानहरु सुक्न थालेपछि उनीहरु त्यहि जम्मा भएको फोहर पानी खाने पिउने गर्दछन् । स्थानीय स्तरदेखि राष्ट्रिय स्तरका निर्वाचनका समयमा नेताहरुले पानीको समस्या समाधान गर्ने भन्दै भोट माग्ने गरेपनि निर्वाचन सकिएपछि गाउँमा कोही पनि फर्केर नआउने गरेको स्थानीय कलुदेबि साउदले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–चुनावको समयमा भोटमाग्नका लागि सबै नेताले पानीको समस्या समाधान गछौँ भन्छन चुनाव जितेपछि फर्केर आउदैनन, हाम्रा दुःख जस्ताका तस्तै छन् ।” घैटामा जम्मा गरिएको आकासे पानीमा नुहाउनकालागि समेत स्थानीयले पालो कुर्नुपर्ने अवस्था आउने गरेको अर्की स्थानीय पशुपती साउदले बताउनुभयो ।

उहाँले भन्नुभयो–संङ्कलित गरिएको पानीमा सागपातका लागि सिँचाइ गर्न त परै जाओस शौचालय पानी लैजान र नुहाँउनपनि पालो कुर्नु पर्ने हुन्छ । प्रर्याप्त मात्रामा पानी नहुँदा हप्ता दिनमा कम्तिमापनि एकजनाको एक पटक नुहाँउने पालो आउने गरेको उनीहरुको भनाइ छ ।

गाउँमा पानीकै समस्याका कारण कतिपय स्थानीयले गाउँबाट निकै टाढा रहेको सेती नदी किनारामा बसाइँ नै सार्ने गरेको स्थानीयबासीहरु बताउछन् । उता दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बाँफी गाउँका स्थानीयको पानीको समस्या समाधानका लागि पहल भैरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–बाँफी गाउँमा पनीको निकै समस्या छ, पानीकै कारण स्थानीय बिरामी हुँदै आएको जानकारी पाएका छौँ, पानीको समस्या समाधानका लागि नरपालिकाले विषेश पहल गरिरहेको छ ।पानीका लागि नगरपालिकाले पानीको श्रोतको खोजी गरी समस्या समाधान तर्फ लागि परेको नगर प्रमुख मलासीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्