अनुदानमा किसानलाई हाते ट्याक्टर



शिक्षा पन्त,लमजुङ ।

कृषिमा यन्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले लमजुङको बेसीशहर नगरपालिकाले किसानलाई हाते ट्याक्टर प्रदान गरेको छ ।प्रतिट्याक्टर कुल ५६ हजार दुई सयमध्ये किसानले २८ हजार एक सयमा ट्याक्टर प्राप्त गरेका हुन् । ट्याक्टर वितरण गर्ने अभियान बेसीशहर–२, भकुण्डेबाट सुरु गरिएको हो ।

बेसीशहर–२ का ३९ जना किसानले ट्याक्टर प्राप्त गरेका छन् । किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भनाइ छ । ‘गाउँमा गोरु पाल्ने चलन हराइसक्यो ।

काम गर्ने मान्छे पनि छैनन् उहाँले भन्नुभयो ,‘कृषि सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका हौँ ।’
कृषिमा यन्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको प्रमुख अर्यालले बताउनुभयो ।

नगरपालिकाले चालु आ.व को बजेटबाट थप सय जना किसानलाई ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गर्ने भएको छ । किसानहरूको अत्याधिक माग भएकाले नगरपालिकाले बजेट थप गरी सय जना किसानलाई ट्याक्टर वितरण गरेको हो ।

नगरपालिकाले गत वर्ष २३ जनालाई हाते ट्याक्टर वितरण गरेको थियो । हाते ट्रयाक्टर आफ्नो खेत जोत्न र आवश्यकता अनुसार छिमेकीलाई समेत समस्या पर्दा प्रयोग गर्न दिने गरी वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्