बिहानभरि शौचालयमा लाइन



 सिर्जना पन्त, बागलुङ।
जिल्ला कारागार बागलुङका चौकीदार सूर्य नेपाली बिहान साढे ३ बजे उठ्नुहुन्छ। कारागारमा रहेका १ सय १४ जना कैदीबन्दीका चौकीदार नेपाली चौकीदारीको लागि भने एकाबिहानै उठ्नुभएको होइन। समयमै नउठने हो भने शौच गर्न बिहानभर लाइन बस्नुपर्छ। शौचालय जानको लागि बिहानै उठ्ने गरेको उहाँको भनाइ छ।

कारागारको क्षमता ३५ जना कैदीबन्दी राख्ने हो। कारागारमा सेवा प्रवाह पनि ३५ जनालाई लक्षित गरेर प्रदान गरिन्छ। आफू चौकिदार, साथीहरू उठेपछि आँखा खुल्ने हो भने शौच गर्नको लागि पालो पाइँदैन, सबैलाई पालो दिनुपर्यो। त्यसैले कोही नउठ्दै आफू उठ्ने गरेको नेपाली बताउनुहुन्छ।

पुरुषको लागि ३ र महिलाको लागि २ वटा शौचालय छ, पानी कारागार प्रशासनले अड्कलेर छोड्ने गरेको छ, शौचालयमा पालो कुर्दाकुर्दै बिहान सकिने गरेको उहाँको अनुभव छ।

कारागारमा १ सय ४ जना पुरुष, ११ जना महिला र २ जना आश्रित बालबालिका बस्दै आएको जिल्ला कारागार बागलुङका प्रमुख मोहनप्रसाद उपाध्यायले बताउनुभयो। शौचालय, पानी र खानाको मात्र होइन, कारागारमा स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या देखिने गरेको छ।

मानसिक रोगका बिरामीलाई छुट्टै राख्ने व्यवस्था हुनुपर्ने हो, जिल्ला कारागार बागलुङका स्वास्थ्यकर्मी एच.ए. आशिष सापकोटाले भन्नुभयो– ‘हामिकोमा १ जना मानसिक रोगका बिरामी हुनुहुन्छ तर उहाँलाई छुट्टै राख्ने व्यवस्था नभएकोले सबैसँग राख्नुपरेको छ।

महिलाको लागि एक र पुरुषहरूको लागि एक गर दुईवटा भवन रहेका छन्। ‘क्षमताभन्दा तीन गुणा बढी कैदी र थुनुवाहरूलाई एकै ठाउँमा राख्दा समय–समयमा स्वास्थ्य समस्या देखिने गरेको छ। कारागारमा मानसिक रोगी, दीर्र्घ रोगीहरूलाई छुट्टै राख्ने व्यवस्था छैन।’ – सापकोटाले भन्नुभयो ।

मानसिक रोगका बिरामीलाई कारागरमै स्वास्थ्य उपचार गर्दै आएको छु। कहिलेकाहीँ जटिल समस्या आउँदा धौलागिरि अञ्चल अस्पताल बागलुङमा लैजाने गरिएको उहाँले बताउनुभयो। कारागारमा आश्रित बालबालिकाहरूको लागि छुट्टै व्यवस्थापन छैन। आश्रितले सरकारबाट पाउने रासन पाए पनि पोषणयुक्त खानेकुराको अभाव रहेको सापकोटाले बताउनुभयो।

कारागारमा अधिकांश कर्तव्य ज्यान मुद्दाका कैदीबन्दी रहेका छन्। ज्यान मुद्दाका २९ जना, जवरजस्तीकरणीका २४ जना, बहुविवाहका ७ जना, चोरीका ६ जना, हाडनाता करणीका ६ जना, लागुऔषधका ४ जना, सवारी ज्यान मुद्दाको १ जना,अभद्र व्यवहारका ४ जना रहेका छन् भने कारागारमा विभिन्न घटनामा संलग्न अन्य ३३ जना कैदीबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्