समावेशीकरणसम्बन्धी तालिम सम्पन्न



नेपाल समाचारपत्र, म्याग्दी।

 

मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको सहयोगमा सदरमुकाम बेनीमा लैंगिक समानता विषयक तालिम सम्पन्न भएको छ। मिलन म्याग्दीका पदाधिकारीहरूलाई लक्षित गरी लैंगिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तालिम सञ्चालन गरिएको हो।

संस्थागत सुदृढीकरणका लागि साझेदार संस्थाको कार्यसमितिका पदाधिकारीहरूलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरणको तालिम आयोजना गरिएको सुआहाराले जनाएको छ। तालिममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका विभिन्न विषयहरूमा सहजीकरण गरिएको थियो।

लैंगिक समानता तथा समावेशीकरणका विषयमा जानकारी तथा संस्थामा समावेशीको अवस्थाबारे बुझ्ने उद्देश्यसहित तालिम आयोजना गरिएको बताइएको छ।तालिमको सुआहारा कार्यक्रमका लैंगिक समानता तथा सामाजिक समावेशीकरण विशेषज्ञ सुजता सिंह र मातृशिशु तथा बाल स्वास्थ्य, लैंगिक एवं सामाजिक समावेशीकरण अधिकृत पदम दर्जीले सहजीकरण गरेका थिए।

 कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष शिव बानियाँ र निवर्तमान अध्यक्ष विनय श्रेष्ठले मिलन संस्थामा लैंगिक समानता र सामाजिक समावेशीकरणको अभ्यास गरिएको बताउँदै लैंगिक समानतालाई प्राथमिकता दिइएको बताएका थिए।

मिलन म्याग्दीका अध्यक्ष बानियाँको अध्यक्षता, कार्यकारी निर्देशक दिवाकुमारी पुनको स्वागत र सुआहारा कार्यक्रमका फिल्ड संयोजक बालकुमारी पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलनका उपाध्यक्ष कमला थापा र कार्यसमिति सदस्य भविराम किसानले मन्तव्य राखेका थिए। तालिममा संस्थाका पदाधिकारीहरूले सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्