एम्बुलेन्समा वन्यजन्तु ओसारपसार



विनोद सिंह विष्ट, बैतडी।

सुदूरपश्चिम प्रदेश सरकारले बाँडेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गरेको पाइएको छ।  प्रदेशको सामाजिक विकास मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकालाई हस्तान्तरण  गरी सञ्चालनमा ल्याएको उक्त एम्बुलेन्समा वन्यजन्तु ओसारपसार गर्ने गरेको भेट्टिएको छ।

आइतवार कञ्चनपुरबाट फर्केर डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा चित्तल मारेर ल्याएको भेट्टिएको हो। दिउँसो १ बजे इलाका प्रहरी  कार्यालय दार्चुलाले चेकजाँच गर्दा एम्बुलेन्समा चित्तल भेट्टिएको प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिनुभयो।

 कञ्चनपुरबाट फर्किदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चित्तल मारेर ल्याएको एम्बुलेन्स चालक महेश बोहराले प्रहरी समक्ष बयान दिएका छन्। एम्बुलेन्स र चालक प्रहरी नियन्त्रणमा  रहेका छन्।  उक्त चित्तल वन कार्यालयलाई बुझाउने र चालकलाई कानुनअनुसार कार्वाही प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा बैतडीको डिलासैनीका साथै प्रदेशका १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्