सडककोे जाम हटाउने विद्यार्थीको जुक्ति !



नेपाल समाचारपत्र, काठमाडौं।

अचम्मै भयो। कोटेश्वरमासवारीसाधनको जाम नै भएन। प्रायः तीनकुने, भक्तपुर र बालकुमारीबाट आउने सवारीसाधनले कोटेश्वरमा एकदमै जाम हुने गर्छ।कोटेश्वरमा दुइवटा फ्लाइओभर ब्रिज देखियो। एउटामा तीनकुनेबाट बालकुमारी जाने सवारीसाधन चलिरहेका थिए, भने अर्कोमा बालकुमारीबाट भक्तपुर जाने सवारीसाधन। सवारीहरूको एक आपसमा भेट नै नभएपछि जाम नभएको हो।

यो दृश्य वास्तविक नभएर काठमाडौं डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माविको शैक्षिक प्रदर्शनीमा विद्यार्थीले तयार पारेको कोटेश्वर जक्सनको हो।स्थानीय स्रोत र सामग्रीको प्रयोग गरेर कक्षा ९ मा सिभिल इन्जिनियर पढ्ने विद्यार्थीहरूले यस्तो नमुना जक्सन तयार पारेका हुन्। नमुना कोटेश्वर जक्सन निर्माण सहभागी कक्षा ९ कि छात्रा समीक्षा ओझाले आफूहरूले बनाएको जस्तै जक्सन बनाउने हो भने कोटेश्वरको जाम सजिलै अन्त्य गर्न सकिने बताउनुभयो।

यस्तै, कक्षा ११ मा सिभिल इन्जिनियरिङ अध्ययनरत मनिषा घिमिरेको टोलीले काठमाडौंको जाम हटाउन सडकको नयाँ मोडेल तयार पारेको देखियो। ठूला संरचना निर्माण भइसकेकाले काठमाडौंको सडकलाई अब बढाउन सम्भव नभएकाले अब सडकमाथि अर्को रुफ कन्ट्रक्सन गरेर फ्लाइओभर ब्रिज बनाउनुपर्ने मोडेलमा देखाइएको थियो।

अब काठमाडौंको जाम अन्त्य गर्ने यही मात्रै उपाय हो भनेर आफूहरूले त्यसको मोडल बनाएको घिमिरेले बताउनुभयो।कक्षा १० मा अध्ययनरत श्रद्धा दासको टोलीले पनि सडक व्यवस्थापनका लागि भनेर फरक शैलीको  फ्लाइओभर ब्रिजको मोडेल तयार पारेको थियो।

धेरै जाम हुँदा विद्यार्थीलाई समयमा स्कुल र कलेज पुग्न गाह्रो छ, कर्मचारीलाई कार्यालय पुग्न समस्या छ,त्यसैले जाम हटाउनका लागि हामीले यो मोडेल तयार पारेका हौं, दासले भनिन्। यसै टोलीकी मनिसा हुमागाईंले यो मोडेल लागू गर्ने हो भने एम्बुलेन्स र दमकल जाममा फस्न नपर्ने दाबी गरिन्।
शैक्षिक प्रदर्शनीमा सिभिल इन्जिनियरिङ, विज्ञान, गणित र स्वास्थ्यसँग सम्बन्धित विभिन्न ७० स्टल प्रदर्शन गरिएको थियो। कक्षा ६ देखि १२ कक्षा सम्मका ४ सय विद्यार्थीहरूले स्थानीय स्रोत सामग्रीकै प्रयोग गरेर सामूहिक रूपमा निर्माण गरिएका सामग्री प्रदर्शन गरिएको थियो।

विद्यार्थीहरूले गणित सिकाइका विभिन्न विधिहरू, स्वास्थ्य रहने विधिहरू र विज्ञानका सामग्रीहरूको बेजोड प्रस्तुति प्रदर्शनी गरेका थिए। विद्यार्थीहरूले शिक्षाको साथ–साथै शैक्षिक सामग्री निर्माण र प्रदर्शन गरेर आफूलाई सक्षम बनाउन सकून् भन्ने उद्देश्यले विद्यालयले वर्षैपिच्छे यस्तो शैक्षिक प्रदर्शनीको आयोजना गर्ने गरेको विद्यालयकी प्रधानाध्यापक रिता तिवारी हुमागाईंले जानकारी दिनुभयो।

प्रदर्शनीको मुख्य उद्देश्य विद्यार्थीको क्षमता र प्रतिभा प्रदर्शन गर्नु रहेको भन्दै प्रअ तिवारीले प्रदर्शनीले गर्दा सामुदायिक विद्यालयका विद्यार्थी पनि निजी विद्यालयभन्दा कम छैनन् भन्ने प्रमाणित गरेको बताउनुभयो। विद्यार्थीले पढाइका साथ–सार्थ गरेर पनि सिक्ने भएकाले विद्यालयले क्रियाकलापमा आधारित शिक्षण सिकाइलाई महत्व दिँदै आएको भन्दै प्रअ तिवारीले विद्यार्थीले गर्दै सिकेका सामग्री प्रदर्शन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार ७० विद्यालयका झन्डै ४ हजार शिक्षक विद्यार्थीले प्रदर्शनीको अवलोकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्